प्रतिगमन रोक्न संसद विघटनः मन्त्री गुरुङ

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ्गले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मुल नेतृत्वबाट फुटेर जानेले सूर्य चिन्ह नपाउने दावी गर्नुभएको छ ।

नेकपाका पहिलो अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै संस्थापन भएको दावी गर्दै चोइटिएर जाने पंक्तिले सूर्य चिन्हको दावी गर्नुको कुनै अर्थ नभएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटी बागलुङको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले पहिलो पार्टीको पहिलो अध्यक्ष र महासचिव विनाको बैठक र भेला पार्टीमा वैधानिक नहुने बताउनुभयो । केपी ओलीले नेतृत्व गरेको पार्टी नै संस्थापन भएको उल्लेख गर्दै उहाँले पार्टीको नाम र चुनाव चिन्ह संस्थापन पक्षसँगै रहने दावी गर्नुभयो ।

‘अध्यक्ष र महासचिव विनाको निर्णय प्रमाणीकरण हुँदैन’ उहाँले भन्नुभयो–‘पार्टीको विधान विपरित बहुमत सदस्यको निर्णय प्रमाणीकरण हुँदैन ।’ प्रचण्ड–माधव समूहले नेपाली काग्रेस तथा मधेसवादी दलसँग मिलेर प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पारित गर्न खोजे पछि प्रतिगमन रोक्न प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो ।

No description available.

‘आफ्नै पार्टीका नेतालाई हटाएर, देशमा अस्थिरता तर्फ लैजाने खेला सुरु भएको थियो’ उहाँले भन्नुभयो–‘सिमित नेताको रिस, आवेग, मोह र कुण्ठाले प्रतिनिधिसभा खेल मैदान बन्ने देखे पछि जनतामा जाने निर्णय भएको हो ।’ सरकार परिवर्तन निर्वाचनबाट मात्रा हुन सक्ने गुरुङ्गको भनाई छ ।

‘अदालतको फैसलना सबैले मान्नुपर्छ’ उहाँले भन्नुभयो–‘अदालतलाई दवाव दिनु कार्य मान्य हुँदैन ।’ प्रचण्ड–माधव समुहले प्रतिगमनको नेतृत्व गरेको आरोप लगाउनुभयो । उहाँहरु अहिलेको व्यवस्था अन्त्य गर्न लाग्नुभएको छ’ गुरुङ्गले भन्नुभयो–‘देशीविदेशी प्रतिगमनकारीको गोटी बन्नु भन्दा सच्चिएर आउँदा हुन्छ ।’

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सचिव गोविन्द नेपालीले पार्टी चोइट्याउनेहरुले सडकमा बसेर आफ्नो हैसियत देखाएको टिप्पणी गर्नुभयो । ‘सडकमा बसेर यहाँ छौं भन्ने अबस्था आँफै बनाएर पार्टीमा बिखण्डन रोप्नु भएको छ’ उहाँले भन्नुभयो, ‘पार्टीमा अस्थिरता चाहनेहरु बाहिरिए पछि पार्टी एकढिक्का भएर अगाडि बढेको छ ।’

उहाँले आगामी निर्वाचनमा आफ्नो दलले अझै बढी मत ल्याएर जनताबाट अनुमोदित हुने पनि दावी गर्नुभयो । नेकपा केन्द्रीय सदस्य मनकुमारी केसीले संकटको बेला सतिसालझै बस्नेले पार्टीको अस्तित्व जोगाउन सक्ने बताउनुभयो ।

कार्यक्रममा १० वटै पालिकाबाट प्रतिनिधित्व गरेकाहरुले आफ्नो क्षेत्रमा नेकपाको ओली समूहको अवस्थाका बारेमा रिपोटिङ गरेका थिए । रिर्पोटिङमा अधिकांशले पालिकामा आफ्नो पक्ष बलियो रहेको दावी गरेका थिए । कार्यक्रम नेकपाका जिल्ला नेता कृष्ण पाठकको अध्यक्षता र दिपक गौतमको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *