कमसल कालोपत्रे : बागलुङ नगरले भन्यो– ‘पुनः कालोपत्रे गर्नु’

आदर्श अनलाइन, बागलुङ

जिल्ला सदरमुकाममा सडक कालोपत्रे गरिएको दुई दिनमै उप्किएको छ ।

बागलुङ नगरपालिका र सडक बोर्डको संयुक्त लगानीमा निर्माणाधिन सडकको कालोपत्रे गुणस्तरहिन भएको स्थानीयले गुनासो गरेका छन् ।

बागलुङ नगरपालिका वडा नम्बर–१ को रामरेखामा गरिएको कालोपत्रे दुई दिन पुरा नहुँदै उप्केको स्थानीय सुमन बोहोराले बताउनुभयो । बुधबार दिउँसो कालोपत्रे गरेर छाडिएको स्थानमा शुक्रबार हलुका सवारी गुड्दा कालोपत्रे उप्किएको थियो । उप्केको देखेपछि स्थानीयले हातैले कालोपत्रे फालिदिएका थिए ।
कालोपत्रे नउप्केको स्थानमा पनि लेबल नमिलाएको स्थानीयले नगरपालिका समक्ष गुनासो गरेका थिए । स्थानीयको गुनासो पछि नगरपालिकाका इञ्जिनियर मनोज शर्मा लगायतका टोली पुगेर ठेकेदारलाई पुनः कालोपत्रे गर्न निर्देशन दिएको छ । नगरपालिका र सडक बोर्डको गरी ८२ लाख रुपैयाँको लागतमा भित्री सडक मर्मतका लागि गत असारदेखि नै काम भएको थियो । चाडपर्वको कारण रोकिएको काम तिहार भित्रै सक्ने गरी पुनः अघि बढाइएको थियो । उक्त सडक कालोपत्रेको जिम्मा तिलक निर्माण सेवाले लिएको छ । रामरेखा स्थित जसबिर टोलको एक सय मिटर खण्डमा कमसल भएको स्थलगत अध्ययनका क्रममा पाइएकाले कालोपत्रे उप्काइएको ईञ्जिनियर मनोज शर्माले बताउनुभयो । ‘धुलो उडाई पानीले सडक सफा गरे पछि मात्र कालोपत्रे हाल्नुपर्नेमा नभएको भेटियो,’ इञ्जिनियर शर्माले आदर्श अनलाइनसँग भन्नुभयो, ‘स्थानीयको गुनासो पछि सडक कालोपत्र स्थलमा पुगेर कालोपत्रे कमसल भएको स्थानको उप्काएका छौ, र निर्माण कम्पनीलाई पुनः निर्माण कार्य अघि बढाउन निर्देशन दिइएका छौ ।’

सडक स्तरोन्नतिका क्रममा गुणस्तरहिन काम भएको पाइए पछि बागलुङ नगरपालिका वडा नम्बर १ का जनप्रतिनिधि र स्थानीय बासिन्दाले कामको गुणस्तरमा लापरवाही नगर्न आग्रह गरेका छन् । पुरानै प्रवृत्तिको काम चलाउ गरेर बजेट कुम्ल्याउने प्रवृत्तिले जनप्रतिनिधि र सिंगो नगरपालिका प्रति प्रश्न उठेको बानपा १ का वडा अध्यक्ष दुर्गाबहादुर बोहोराले बताउनुभयो । अब पनि ठेकेदारले जनताको चित्त बुझ्ने गरि काम नगरे निकासा रोक्नुपर्ने उहाँको भनाई थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *