दुई ठुला योजनाले जगाएको आशा : कालोपत्रेको तयारीमा मध्यपहाडी लोकमार्ग र बलेवा विमानस्थल

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको सदरमुकाम खण्ड र बलेवा विमानस्थल कालोपत्रेका लागि तयारी थालिएको छ ।

निर्माण कम्पनीको घोषित प्रतिवद्वता अनुसार काम भए दुबै ठूला आयोजना आगामी वैशाख सम्म कालोपत्रे हुनेछन् ।

मध्यपहाडी लोकमार्गको सदरमुकाम खण्डको लामो समयदेखि अलपत्र २५ किलोमिटर सडकको सन्तोषजनक रुपमा काम भइरहेको छ । बलेवा विमानस्थल पनि स्तरोन्नति भएर कालोपत्रेको चरणमा छ । यसले जिल्लामा विकास, सुविधा र अवसरमा ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।

लामो समयदेखि कालोपत्रे हुन नसकेको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा गत मंसिर अन्तिम सातादेखि निर्माणले तिब्रता पाएको छ । सम्पर्क विहिन भएका निर्माण व्यवसायीले सदरमुकाम खण्डदेखि घोडाबाँधे सम्म झण्डै दुई सय मजदुर परिचालन गरेका छन् । मध्यपहाडीको कालोपत्रेका लागि आवश्यक ठूला पूर्वाधार निर्माण यसअघिनै भइसकेका थिए । सडक चौडा पार्ने, ग्याविन भर्ने, मेशिनरी वाल र नाली निर्माण गर्ने कार्य अन्तिम चरणमा छन् भने बागलुङ बजारको उपल्लाचौरदेखि कालोपत्रेका लागि सव–वश बिछ्याउने कार्य शुरु गरिएको छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयको समन्वयमा निर्माण व्यवसायीलाई अन्तिम चेतावनी दिएपछि लोकमार्गको काम अगाढी बढेको थियो भने नागरिक उड्डयन प्राधिकरणको निरन्तरको समन्वयपछि अहिले बलेवा विमानस्थालको धावनमार्ग कालोपत्रेका लागि ग्राभेलको काम भइरहेको छ । अबको जेठ भित्र कालोपत्रे नगरे निर्माण व्यवसायीलाई कालो सूचिमा राख्न आयोजनाले सिफारिस गर्ने चेतावनी संगै लोकमार्गको जिल्ला सदरमुकाम खण्ड कालोपत्रे हुने संकेत देखिएको आयोजनाका इञ्जिनियर उज्वल शर्माले जानकारी दिनुभयो । “बागलुङ बजार देखि घोडाँबाधे सम्म दुई खण्ड रहेकोमा बागलुङ बजार देखि बिहुँ सम्म कालोपत्रेका लागि धेरै काम भएको छ” शर्माले भन्नुभयो “बिहुँ देखि घोडाबाँधे खण्डको ठेकेदारले पनि छिट्टै परिणाम दिने गरी काम अगाडि बढाउने बताएको छ ।”

असारसम्म जहाज उडाउने लक्ष्य
जिल्लाकै गौरवको आयोजनाका रुपमा रहेको बलेवा विमानस्थल पुनः सञ्चालनमा आउने आशा पलाएको छ । धावनमार्ग कालोपत्रे हुन नसक्दा दुई वर्ष पहिले केही महिना सञ्चालनमा आएर बन्द भएको विमानस्थलमा अहिले धमाधम कालोपत्रेको काम अघि बढाउन थालिएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले विमानस्थल पुर्ननिर्माणको काम दुत्र गतिमा भएको जनाएको छ । विमानस्थल आगामी जेठ मसान्तभित्र निर्माण सकेर असार सम्म नियमित जहाज चलाउने तयारी समेत भएको कार्यक्रम व्यवस्थापक मीनराज ओझाले जानकारी दिनुभयो ।

विसं २०१६ देखि २०१८ सम्म लगाएर स्थानीयवासीले बनाएको ८ सय मिटर लामो यो विमानस्थलमा २०४९ सम्म नियमित जहाज चल्दै आएका थिए । विसं २०४८ मा पोखरा–बागलुङ सडक खुलेपछि बन्द भएको थियो । निरन्तर काम भइरहेको र जेठ सम्म कालोपत्रेको काम सकेर नागरिक उड्ययन प्राधिकरणलाई हस्तान्तरण गरिने निर्माणको जिम्मा लिएको काष्ठमण्डप निर्माण सेवाका साइड इन्चार्ज बासु थापाले जानकारी दिनुभयो । अहिले ग्राभेल, तारबार लगायतका काम धमाधम भइरहेको छ । ७ करोडमा ठेक्का सम्झौता भएको विमानस्थलको केही पूर्वाधार संशोधनको काम भइरहेको छ ।

लोकमार्गमा दुई सय कामदार परिचालन
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको लोकमार्गमा थोरै मजदुर परिचालन गरेकोमा स्थानीयवासी रुष्ट छन् । तर, उपल्लो खण्डका निर्माण व्यवसायी सूर्य बहादुर खड्काले मजदुर परिचालनको काम निकै कम भएको र अबको काम भनेको ठूला औजारको मात्रै रहेका कारण एक सय मजदुरले मात्रै पुग्ने बताउनुभयो । उपल्लो खण्डको क्रसर उद्योग समेत शनिबारदेखि सञ्चालनमा आएको छ । तल्लो खण्डको क्रसर उद्योगले एक महिनादेखि कच्चा सामाग्री उत्पादन गरिरहेको छ भने खहरे भीरको ढुङ्गा कटानको काम अन्तिम चरणमा छ । अहिले तल्ल्लो खण्डमा समेत जम्मा एक सय जना कामदार परिचालन गरिएको छ ।

जेठ भित्र कालोपत्रे नभए कालोसूचिमा
पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना पर्वतले जेठ भित्र जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटर सडक कालोपत्रे नभएको खण्डमा निर्माण व्यवसायीलाई कालोसूचिमा राख्ने समेत बताएको छ । “यो अन्तिम अवसर हो, अहिले निर्माणको कार्य हेर्दा जेठ सम्म राम्रै काम हुन्छ भन्ने देखिएको छ” आयोजनाका इञ्जिनियर शर्माले भन्नुभयो “यदी बीचमै काम छोडेर गएको खण्डमा पुनः म्याद थप नहुने र सोझै कालोपत्रेका लागि सिफारिस गरेर माथी पठाइनेछ ।” ठेक्का सम्झौता भएको पाँच वर्षपछि कालोपत्रेका लागि काम शुरु भएको भन्दै सबैले आयोजना सम्पन्न गर्न सहयोग गर्नुपर्ने लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासीनीले बताउनुभयो ।

कुल १ हजार ७ सय ७६ किलोमिटरको लोकमार्गको बागलुङ खण्डमा मात्रै १ सय ४२ किलोमिटर पर्छ । जसमध्ये जम्मा ४६ किलोमिटर मात्रै सडक कालोपत्रे गर्न बाँकी भएको आयोजना कार्यालय प्रमुख मरासीनी बताउनुहुन्छ । बागलुङको लाइफलाइनको रुपमा जोडिएको सडक मध्ये २५ किलोमिटरको बागलुङ सदरमुकाम खण्ड दुई भागमा विभाजन गरेर ठेक्का भएको थियो । उपल्लाचौर देखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाधे खण्ड २०७२ माघ १० गते एमपी/एससिएफ/इसीसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरिएको थियो ।

लोकमार्गको निसीखोला खण्ड जम्मा १७ किलोमिटर सडक कालोपत्रे हुन बाँकी छ । सदरमुकाम देखि बिहुँ सम्मको खण्डमो ठेक्का अवधी यही माघ १२ र बिहुँदेखि घोडाबाधे खण्डको ठेक्का मिति माघ ९ गते सकिदैछ । दुवै निर्माण कम्पनीलाई अन्तिम पटक ६ महिनाको म्याद थप्ने आयोजनाको तयारी छ । निरन्तरको दबाब र समन्वयका कारण दूबै आयोजनाले अन्तिम रुप लिनेमा बिश्वस्त भएको निर्वतमान संघीय सांसद डा. सूर्य पाठकले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *