साधना पन्त, बागलुङ
व्यस्त सडक । मानिसहरुको मात्र होइन, पछिल्लो समय सवारी साधनको पनि उस्तै भिड छ । यो भिडमा एकले अर्कोलाई चिन्ने, बोल्ने बोलाउने पनि फुर्सद नभए जस्तो देखिन्छ । कतिपय चिने जानेकाहरु पनि यहि व्यस्त भिडले भरिएको सडकको फाइदा उठाएर नदेखे झै गरि बाटो लाग्नेहरु पनि प्रशस्तै छन् । एकले अर्कालाई उछिन्न सवारी साधनलाई जति हतारो छ, त्यो भन्दा बढी हतार यहाँ मान्छेले मान्छेलाई उछिन्न पनि छ ।
तर, यहि व्यस्त भिडको सहरमा एक युवा छन्, जो कुनै सवारी साधनमा होइन । बजारमा दैनिक लौरीको सहारामा ओहोर दोहोर पैदल यात्रा गरिरहेका भेटिन्छन् । उनी अर्थात् धर्मराज आचार्य । उमेरले वर्ष ४२ । घर बागलुङ नगरपालिका–४ को ओढारचौर । शारीरिक अपांगता भएका आचार्य धर्म कम्प्युटर सर्भिसका सञ्चालक हुन् ।
दुबै हातमा लठ्ठी, त्यही लठ्ठीलाई सहारा बनाएर यहि व्यस्त सडकको एउटा छेउबाट धर्मराज हरेक दिन आफ्नो गन्तव्यमा पुग्छन् । झट्ट हेर्ने र देख्नेले धर्मराजलाई अपाङ्ग देख्छन् या परम्परागत नजरले हेर्छन् र सोच्छन् पनि । यस्ता व्यवहार अनगिन्ती भोगेको अनुभव सुनाउँछन् पनि । तर जीवनको जस्तोसुकै परिस्थितिमा पनि निडर, उच्च मनोबल र दृढथाका साथ अघि बढ्ने सामथ्र्य राख्ने भएकैले अपांगताका बाबजुद पनि परनिर्भरतामा बाँच्न परेको छैन । उनी संघर्षको अनेक आयाम पार गरेका उनी आँफु आफ्नै खुट्टामा उभिएर अरु अपांगता भएकाहरुका लागि समेत आइडल र प्रेरणाका स्रोत बनेका छन् ।
जन्मदा साङ्ग (सपाङ्ग) भए पनि ९ वर्षको उमेरमा उनको जीवनमा ठुलो बज्रपात आइलाग्यो । आफ्नै खुुट्टाले टेकेर विद्यालय जाने धर्मराजले ९ वर्षको उमेरदेखि उठ्दा बस्दा पनि लौरीको साहारा खोज्नु पर्ने अवस्था आयो । उनलाई पोलियो रोग लागेको रहेछ । विस्तारै पोलियोले धर्मराजको खुट्टामा समस्या देखियो । उनी हिँडेर आफै विद्यालय जान सकेनन् । त्यो बेला धर्मराजका भिनाजु भारतीय आर्मीमा हुनुहुन्थ्यो । धर्मराजका आमा बुवाले छोराको उपचार गर्नुप¥यो भनेर ज्वाईलाई चिठ्ठी लेख्नुभयो । चिठ्ठीको जवाफ १ महिना पछि आयो । जवाफ आएसँगै धर्मराजलाई उपचारको लागि भारतको आर्मी अस्पतालमा लगियो । दुई महिना अस्पतालमा धर्मराजको उपचार भयो ।
भारतका फरक फरक अस्पतालमा धर्मराजको लामो समय राखेर उपचार गरिएको थियो । भिनाजु नभएको भए आँफु आजको अवस्थामा पनि नहुने धर्मराजको भनाई छ । ‘लठ्ठी टेकेर भए पनि हिँड्न सक्छु, आफ्नो सबै काम आफै गर्नसक्छु, त्यो भन्दा ठुलो कुरा आत्मनिर्भर छु, आफ्नो परिवार आफै पाल्छु’ धर्मराज भन्नुहुन्छ ‘यो सबै मेरो भिनाजुको कारणले सम्भव भएको हो ।’
धर्मराजको जन्म म्याग्दीको ताकममा भएको हो । म्याग्दी धर्मराजको मावली जिल्ला । धर्मराजका बुवा भेटेरिनरी अस्पताल म्याग्दीमा काम गर्नुहुन्थ्यो । त्यसैले धर्मराजको प्राथमिक तहको शिक्षादिक्षा पनि म्याग्दी जिल्लामै भयो । जन्मघर बागलुङ आए पछि धर्मराजलाई विद्यामन्दिर माध्यामिक विद्यालयमा कक्षा ६ मा भर्ना गरियो । म्याग्दीमै कक्षा ४ मा पढ्दै गर्दा धर्मराजको खुट्टामा समस्या आएको हो । उपचारका लागि नेपाल भारत भौतारिदाँ दुई वर्ष पढाइमा रोक लाग्यो ।
पुनः पढाइलाई निरन्तरता दिएका धर्मराज कक्षा ८ मा पुग्ने बेला उपचारका लागि फेरि भारत जानुपर्ने भयो । उपचार पछि फर्कदा धर्मराजका साथिहरु कक्षा १० मा पुगेका थिए । भारतबाट फर्किएर ८ कक्षाबाट पढाईलाई निरन्तरता दिएका धर्मराजले २०५५ सालमा विद्यामन्दिर माध्यामिक विद्यालयबाट एस.एल.सी पास गरे । धर्मराजले बिए (स्नातक) उतिर्ण गरेका छन् ।
धर्मराजलाई सरकारी जागिर खाने ठुलो इच्छा थियो । शारीरिक रुपमा अपाङ्गता भएकै कारण धेरै ठाउँमा अन्तरवार्ताको क्रममा आँफु फालिएको धर्मराज नमिठो अनुभव सुनाउँछन् । ‘कति ठाउँमा त सिधै तपाईले सक्नुहुन्न भनेर फालिए,’ धर्मराज भन्छन्, ‘आफ्नो योग्यता र क्षमता देखाएर पनि सरकारी जागिर खान सकिन ।’ पटक–पटक ठाउँ–ठाउँमा मन मर्ने गरि तितो अनुभव सँगालेका धर्मराजले अन्ततः आफ्नो लक्ष्य परिर्वतन गरे । आइए पढ्दै गर्दा तत्कालिन हिमालयन कम्प्यूटर इन्स्टिच्यूटमा निशुल्क तालिम लिएका धर्मराजले त्यसैलाई आफ्नो पेशा व्यवसायका रुपमा अघि बढाउने निधो गरे । २०६३ सालबाट उनले आफ्नै नाममा धर्म कम्प्यूटर सर्भिस सञ्चालनमा ल्याए ।
आफ्नै व्यवसाय सुरु गर्नु पूर्व आफैले कम्प्यूटर सिकेको ठाउँमा १ वर्ष सम्म धर्मराजले अरुलाई कम्प्यूटर सिकाए । बागलुङ बजारकै जनसेवा अफसेट प्रेसमा ४ वर्ष सम्म काम पनि गरे ।
रिवारको जेठो छोरो भएकै कारण आफुमा बढी जिम्मेवारी रहेको बोध भए पछि आफ्नै व्यवसाय गर्ने सोचमा पुगेको धर्मराजको भनाई छ । जीवनमा जति उतार चढाव आए पनि हाँसी–हाँसी सामना गरेको धर्मराज बताउँछन् ।
परिवारको आर्थिक अवस्था कमजोर थियो । बाबाको कमाई र सम्पति मेरै उपचारमा सकिएको थियो । त्यसमाथि ऋण । ‘कहिले सम्म परिवारको बोझ बनुँ,’ धर्मराजले जागरण संवादमा भने, ‘आफुले पनि परिवारको बोझ काँध लिनु पर्छ भनेर पोलियोले गलाएका खुट्लाई लठ्ठीको सहारा लिएर भए पनि उभिने प्रयास गरेको हुँ ।’
धर्म कम्प्यूटर सर्भिसबाट कम्प्यूटर सम्बन्धी काम मात्र होइन, घडी, टिभी, रेडियो पनि उहाँले मर्मत गर्दै आएका छन् । कम्प्यूटरबाट पुस्तक, पत्रपत्रिका, र विभिन्न अध्ययन अनुसन्धानको लागि आवश्यक पर्ने सामग्री उत्पादन गरि सेवाग्रीलाई सेवा दिएको उनको भनाई छ । आजभोली शारीरिक रुपमा अपाङ्गता भएका धर्मराजबाट कम्प्यूटर सम्बन्धी सिप सिक्नको लागि सपाङ्ग व्यक्तिहरुले समय माग्न थालेका छन् । आफुले सयौ व्यक्तिलाई कम्प्यूटरमा दक्ष बनाएको र आफुले सिकाएका धेरै विद्यार्थीले राम्रो रोजगारी पाएको धर्मराज उत्साहित मुद्रामा अनुभव बाँड्छन् ।
बागलुङ बजारको धौलागिरी चोक देखि जीपपार्क जाने बाटोको छेउमा धर्मराजको धर्म कम्प्यूटर सर्भिस छ । ‘ठुलो लगानी गर्नलाई क्षमताले भेटेन । जम्मा चार लाख रुपैयाँ लगानी गरेर काम सुरु गरेको हुँ, लाखौ करोडौ कमाएर धन सम्पत्ती जोड्ने चाहना छैन,’ धर्मराजले भने ‘सबैभन्दा ठुलो कुरा विहान बेलुकाको छाक टार्न अरुसँग हात फैलाउन परेको छैन, आत्मदेखि सन्तुष्ट छु, श्रीमती र एक छोरी सहितको मेरो परिवारलाई जीवनभरको खुसी दिन सकु भन्ने चाह छ, यति भयो भने मेरो जीवन सफल हुनेछ ।’
कम्प्यूटरमा मात्र होइन, धर्मराज सिलाई कटाइमा पनि पोख्त छन् । २०३५ सालमा जन्मिएका धर्मराजले जीवनको १७ वर्ष अरुले सिलाएका लुगा लगाए । २०५१ सालबाट उनले आफुले लगाउने लुगा आफै सिलाउँदै आएका छन् । धौलागिरी सिलाई प्रशिक्षण केन्द्रबाट अपाङ्गता भएकी हरिकला पुनले धर्मराजलाई आफु जस्तै देखे पछि सिलाई कटाई प्रशिक्षण दिएकी दिइन् । धौलागिरी सिलाई प्रशिक्षण केन्द्रबाट सिलाई कटाईको तालीम पाउने धर्मराज पहिलो पुरुष हुन् । शारीरिक रुपमा अपाङ्गता देखेपछि आत्मनिर्भर र स्वाबलम्बी बन्नका लागि प्रेरणा प्रदान गरेर हरिकला पुनले आफुलाई सिलाई कटाईको प्रशिक्षण दिएको धर्मराज बताउँछन् । त्यस यता धर्मराजले आफुले प्रयोग गर्ने कपडा आफै सिलाउदै आएको आचार्यको भनाई छ ।
पढ्ने वातावरण छैन, काम गर्ने वातावरण छैन, आफ्नो योग्यता अनुसारको रोजगारी पाइदैन । बागलुङमा त अझ केही गर्ने वातावरण नै नभएको उनको गुनासो छ । सहर बजार सानो छ, यहाँ के गर्न सकिन्छ ? चिया पसल, क्याम्पस, विद्यालय र चोक चोकमा उभिएका प्रायः युवा युवतीको मुखबाट सुनिने सामुहिक आवाज हो यो । सपाङ्ग, आफ्नो खुट्टामा आफै उभिएका, हात, दिमाग सबै चल्नेहरुका लागि धर्मराज उदाहरणीय प्रेरणाको स्रोत हुन् ।
उनबाट जीवन र सफलताका लागि गर्ने संघर्ष, भोग्ने अनेकन चूनौती र पीडा, अनि प्राप्त हुने सन्तुष्टि धेरै नजिकबाट अनुभूत गर्न सकिन्छ । लामो समय समाज र दुनियाँबाट दयाका पात्र र उपेक्ष अपमानजनक व्यवहार भोगेका धर्मराज आज सपाङ्ग व्यक्तिका लागि समेत सबैको प्रेरणा र उत्साहको स्रोत बनेको उनका निकटस्थ सारथी बताउँछन् ।
अर्को कुरा ४२ वर्षका धर्मराजमा अहिले पनि २० वर्षे तन्नेरीको जस्तै जोश, जाँगर, उर्जा र उत्साह छ । ‘अझै धेरैलाई सीप सिकाउने प्रण छ, ज्ञान बाँड्ने चाह छ, आफ्नो जीवन र भविष्य प्रतिको दरिलो आत्मविश्वास र धैर्यता छ । यसकै बलमा जीवन बाँचिरहेको छु,बाच्नेछु,’ धर्मराजले अनुभव टुंग्याउनीमा भने ।