महाविरको सपना: जनस्तरको सहयोगमा ‘राष्ट्रिय आविष्कार केन्द्र’

आदर्श अनलाइन

बेतारे इन्टरनेट सञ्जालबाट म्यागासेसे पुरस्कार पाएका महाविर पुनको पहलमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरिएको छ ।

युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा शुक्रबार काठमाण्डौको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन गरिएको हो ।

जनस्तरबाट र विदेशीहरुले पनि गरेको झण्डै ८ करोडको लगानीमा केन्द्र स्थापना गरिएको हो । नेपाली नागरिकले दिएको दान र विदेशीहरुको सहयोगमा केन्द्र स्थापना गरिएको केन्द्रका अध्यक्ष समेत रहनु भएका पुनले जानकारी दिनुभयो ।

नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र देशको आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको बस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी केन्द्र स्थापना गरिएको पनि अध्यक्ष पुनले बताउनुभयो । केन्द्रमा हाल २० वटा प्रोजेक्ट सञ्चालनमा आएका छन । ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम सुरु गरिएको पनि केन्द्रले जनाएको छ ।

केन्द्रले हाल चितवनमा कुखुराको दाना र माछा पालनका लागि काम गरिरहेको छ । त्यसैगरी पर्यटन, कृषिका क्षेत्रमा पनि पोखरा, विराटनगरलगायतका शहरमा काम सुरु गरिएको छ । केन्द्रका अध्यक्ष पुनले नयाँ आविष्कारको क्षेत्रमा काम गर्न केन्द्रले शैक्षिक योग्यताको माग नगर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले नयाँ काम गरेर उद्यमी बन्न र रोजगारीको अवसर सृजना गर्ने कामका लागि आवश्यक बजेट र सामग्रीहरुको पनि सहायता गर्ने पनि बताउनु भयो ।

नेपालको ग्रामीण क्षेत्रमा पहिलो पटक इन्टरनेट सेवा सञ्चालनमा ल्याएका युवा वैज्ञानिक पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको पनि नेतृत्व गर्नु भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *