निसीखोलामा पुलै–पुल : एकै वर्षमै बन्यो ७ वटा झोलुङ्गे पुल

डम्मर बुढा मगर, बागलुङ
कुनै समय खोला वारपार गर्नका लागि घण्टौ समय लगाउने निसीखोला गाउँपालिका वडा नम्बर ६ का स्थानीय अहिले दुई मिनेटमै खोला वारपार गर्न सक्ने भएका छन् । गाउँपालिकाको ठाउँ–ठाउँमा झोलुङ्गे पुल निर्माण भए पछि स्थानीय हर्षित भएका छन् ।

निसीखोला गाउँपालिका भित्र वर्षेनी खोलाले बगाएर ज्यान गुमाउने नियति जस्तो बनेको थियो । यस समस्यालाई मध्यनजर गर्दै पालिकाले विभिन्न ठाउँमा पुल निर्माण गर्ने अभियानमा लागेको हो ।

गाउँपालिकाले जिर्ण बनेका पुल विस्थापित गर्ने र आवश्यक स्थानमा धमाधम नयाँ झोलुङ्गे पुल निर्माण गर्ने अभियानलाई तिव्र बनाए पछि दैनिकी सहज बन्दै गएको निसीखोला गाउँपालिका वडा नम्बर ६ का नन्दराम घर्तिले बताउनुभयो । पुल नहुँदा जोखिम मोलेर यात्रा खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएको उहाँको भनाई छ ।

‘यही खोला तरेर पारी जान पहिला डेढ दुई घण्टा लाग्थ्यो, अहिले एकैछिनमा वारपार गरिन्छ, पुल बनेपछि धेरै सहज भएको छ,’ घर्तिले भन्नुभयो ‘विकास भनेको यहि त होला है ? बर्खामा खोला बढ्यो भने पारीको मान्छे पारी, वारीको मान्छे वारी भइन्थ्यो, अहिले त खोला जति ठूलो आए पनि केही फरक नपर्ने भयो, हामीलाई ठुलो राहत भयो ।’

पुल नबन्दा खोला वारपार गर्दा धेरै बालबालिका, महिला र ज्येष्ठ नागरिकले धेरै सास्ती र सकस पाउने गरेका थिए । हिउँदको समयमा समे युवाहरु जसोतसो खोला पार गरे पनि साना बालबालिका र बुढाबुढीलाई समस्या हुँदै आएको थियो ।

‘हट्टाकट्टा युवाहरु हिउँदको समयमा पनि जसरी नि खोला तरि हाल्थे, केटाकेटी र बुढाबुढीलाई निकै गाह्रो थियो, बर्खाको समयमा त कोही पनि तर्न सक्दैनथे,’ उहाँले भन्नुभयो ‘पुल नहुँदा त कतिले अकालमै ज्यान गुमाए, कति बेपत्ता भए खोलाले बगाएर, अब त्यो समस्या बाध्यताबाट हामी मुक्त भएको छौ, हरेक सिजनमा हामीलाई पारी जंगल जान आउन पनि सहज भएको छ ।’

निसीखोला वडा नम्बर ७ की मनकुमारी कुवँरले पुल बनेपछि गाउँका सबै नागरिकलाई वारपारमा सहजता थपिएको बताउनुभयो । उहाँले पुरानो झोलुङ्गे पुल जिर्ण बनेपछि खोला वारपार गर्दा निकै जोखिम भएको भन्दै अहिले त्यो समस्या हटेको बताउनुभयो ।

‘यहाँको पुल भत्किए पछि खोला वारपार गर्न समस्या थियो, निकै डर लाग्थ्यो, केटाकेटीहरु कतै खसेकी भन्ने सन्त्रास हुन्थ्यो,’ उहाँले भन्नुभयो ‘अहिले त नयाँ पुल बनेको छ, ज्यानलाई धरापमा पारेर खोला तर्नु पर्ने समस्याबाट वारीपारी दुई वटै गाउँका गाउँलेहरु मुक्त भएका छौँ ।’

निसीखोला गाउँपालिकामा एक वर्षमा ७ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । जसमध्ये ३ वटा सम्पन्न भइसकेका छन् भने ४ वटा निर्माणको अन्तिम चरणमा छन् । निर्माणाधीन पुल पनि एक महिनामा सम्पन्न हुने निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो ।

७ वटै पुल गत वर्ष सम्झौता भएर निर्माण थालिएकोमा कोरोना भाइरस (कोभिड–१९) का कारण प्रभावित बन्दा ढिलाई भएको हो ।

‘यी सबै पुल गत वर्ष नै सम्पन्न हुने थिए, त्यही अनुसार सम्झौता भएर काम सुरु भएका थिए, कोरोनाको कारण लकडाउन भयो, लकडाउन हुँदा काम गर्ने श्रमिक मजदुरहरु घर गए, त्यसले गर्दा ढिला भएको हो,’ सूचना अधकिारी गौतमले भन्नुभयो ‘३ वटा निर्माण सम्पन्न भएर पनि संचालनमा आएका छन्, ४ वटा पनि एक महिना भित्रैमा सम्पन्न हुने क्रममा छन्, तिनीहरु पनि शीघ्र सकिने अवस्थामा छन् ।’

निसीखोलाको वडा नम्बर ६ को सेबाङघाट, सरिटारघाट, चुसाङघाट र वडा नम्बर ७ को कुतखोलाघाटमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएर संचालनमा आएका छन् भने वडा नम्बर ३ र ४ जोड्ने ढुवाँखोरघाट पुल, वडा नम्बर १ को माराघाट, वडा नम्बर २ धौलेघाट झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा छ ।

२ करोड ५ लाख बढीमा लागतमा ७ वटा पुल निर्माण भएको उहाँको भनाई छ । गौतमले पुल निमार्णले स्थानीय बासिन्दालाई ठूलो टेवा पुगेको बताउनुहुन्छ ।

निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले गाउँपालिकाका विभिन्न वडाहरुमा थप ७ वटा नयाँ बनाउने तयारीमा रहेको जानकारी गराउनुभयो । उहाँले स्थानीयको समस्या र मागका आधारमा झोलुङ्गे पुल निर्माण गर्ने बताउनुभयो ।

‘निसीखोलामा अहिलेसम्म पुल नभएकै कारण धेरैले खोलामा बगेर ज्यान गुमाउनु परेको थियो, धेरैले सास्ती खेप्नु परेको थियो, हामीले उनीहरुको समस्यालाई प्राथमिकतामा राखेर पुल निर्माण गर्न थालेका हौँ, अझै नयाँ पुलहरु बनाउने योजनामा छौँ,’ अध्यक्ष पौडेलले भन्नुभयो ‘अब कुनै पनि नागरिक पुल नभएकै कारण खोलामा परेर ज्यान गुमाउनु पर्ने छैन, हामी त्यस्तो समस्याको समाधानमा जुटेका छौँ ।’

अध्यक्ष पौडेलले विभिन्न वडामा नयाँ पुलको लागि योजना बनाएर सर्भेको लागि तयारी गर्ने बताउनुभयो । अब घण्टौ लगाएर वारीपारी गर्ने नागरिकको समस्यालाई सहजतामा रुपान्तरण गर्न गाउँपालिकाले पहल गरिरहेको अध्यक्ष पौडेलको भनाई छ । निसीखोलामा धेरै खोलाहरु भएको र वारपार गर्न कठिन हुने गरेको भन्दै अब त्यो समस्या नरहने दाबी गर्नु भयो ।

उहाँले पुलले गाउँलेलाई वारपार गर्न, दाउरा घाँस गर्न मात्रै नभई उत्पादन व्यवसायसँग पनि जोड्ने अवसर सिर्जना गरेकाले गाउँपालिकाले उनीहरुलाई व्यावसायिक बन्न तर्फ पनि प्रेरित गर्ने बताउनु भयो ।

‘हाम्रो पालिकामा धेरै खोला भएको हुँदा पुल पनि त्यति नै बनाउनु पर्नेर्छ, हामीले पुल निर्माणका लागि लगानी पनि धेरै गरेका छौँ,’ उहाँले भन्नुभयो ‘पुल निर्माण पछि स्थानीयहरु वारपार गर्न त सजिलो त्यसै पनि हुने भयो, अब उनीहरुलाई व्यवसायसँग पनि जोड्नु पर्छ ।’

अध्यक्ष पौडेलले गाउँपालिकामा निर्माण भएका पुलहरुले पर्यटकलाई समेत आकर्षण गर्ने भएकाले पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनमा पटि टेवा पुग्ने अपेक्षा लिएको बताउनुभयो । यहाँ बनेका पुलहरुबाट धेरै मनमोहक दृश्यहरु अवलोकन गर्न सकिने भन्दै आन्तरिक पर्यटकको रोजाईमा समेत पर्ने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *