साधना पन्त, बागलुङ
१८ वर्षको तन्नेरी उमेर । पढ्ने लेख्ने, रंगरमाइलो गर्ने उमेर हो । अनि यस बेला विदेश मोहले पनि आकर्षित गर्ने अवधी हो । तर, उनमा रंगरमाइलो भन्दा गाउँमै उत्पादनमूलक कर्मको हुटहुटी थियो । र त जैमिनी नगरपालिका–८ राङ्खानीका उमेश आचार्य यही कलिलै उमेरमै गाउँमा छुट्टै परिचय बनाउन सफल भइसक्नुभएको छ ।
२० वर्षिय आचार्यले गाउँमै दुई वर्ष पहिले हाँडिकोट बहुउद्धेश्यीय कृषि तथा पशुपंक्षी फर्म खोलेर व्यावासायिक रुपमै मनग्य आम्दानी गर्न थाल्नुभएको छ । २ वर्ष पहिले १३ वटा लोकल माउ बाख्राबाट व्यावसायिक पशुपालन थाल्नुभएका आचार्यको बाख्रा फर्ममा अहिले ३० वटा माउ बाख्रा र १० वटा पाठापाठी छन् । बोयर क्रस, जमुना पारी, खरी र अहिले नयाँ जातको बिटल बाख्रा पनि रहेको आचार्य बताउँनुहुन्छ ।
‘गाउँमा आधारभूत शिक्षा आर्जन पछि भेटेरिनरी पढ्न भरतपूर गए,’ युवा कृषक आचार्य भन्नुहुन्छ–‘पढाई सके पछि आफ्नै गाउँमा केही गर्ने मनमा इच्छा पलायो । त्यसपछि बाख्रा पाल्न सुरु गरेको हुँ । अहिले माइलो दाईले मलाई सहयोग गर्नु भएको छ ।’
सुरुमा ४ लाख रुपैयाँ आफ्ना बुबा र दाईहरुसँग पैसा मागेर लगानी गरेको आचार्य बताउनुहुन्छ । पहिलो वर्षमै ८ लाख आम्दानी भए पछि अहिले सम्म १० लाखको खोर बनाउन र बाख्रा किन्नमा लगानी गरेको आचार्यको भनाई छ । ‘आफ्नै ठाउँमा परिवार साथीभाई सँग रमाउदै काम गर्न पाउँदा धेरै खुशी छु, मेरो उमेरका साथीभाईहरु घुम्न, डुल्न र रमाउनमा मस्त हुनुहुन्छ तर म भने व्यावसायिकक कर्ममा व्यस्त छु, खुसी पनि छु’ उहाँले भन्नुभयो ।
उमेश घरको कान्छो छोरा हुन् । जेठो दाई साउदी हुनुहुन्छ भने माइलो दाई पनि कोरिया जाने तयारीमा हुनुहुन्छ । सवैले आफुलाई भेटेरिनरी पढेकाले सरकारी जागिर खान र बिदेश जान सुझाव दिइरहेको उहाँ बताउनुहुन्छ । तर, बिदेश र सरकारी जागिरको मोह आफुमा नभएको आचार्यको भनाई छ । ‘मैले बाख्रा पालेको १ वर्षमै ८ लाख खर्च कटाएर आम्दानी गरेको हँु । यो वर्ष १२ लाख आम्दानी गर्ने योजनामा छु’ उहाँले भन्नुभयो–‘आफ्नै गाउँ ठाउँमा परिवार सँग बसेर मनग्य आम्दानी गरेपछि किन जानु प¥यो र विदेश ?
आचार्यले बाख्रा मात्र पाल्नुभएको छैन । गाई भैसी, बाख्राका लागि उन्नत जातको घाँसको बिरुवा समेत तयार गरेर बिक्री गर्न थाल्नुभएको छ । ३ हजारमा ‘सूपर नेप्पियर’ नामको घाँस खरिद गरेर दुई हलको मेलोमा लगाउनुभएका आचार्यले अहिले २० हजार आम्दानी गरिसकेको बताउनुभयो । जैमिनी नगरपालिका, बागलुङ नगरपालिकामा मात्र नभएर छिमेकी जिल्ला म्याग्दीमा समेत घाँसको बिरुवा बिक्री गर्न थालेको उहाँको भनाई छ ।
‘सानै उमेरमा बाख्रा पाल्न लागे । साथीभाईहरुले कही जानु परे बुबा आमा सँग पैसा माग्नु पर्दछ । तर म भने बुबा आमालाई नै पैसा दिन्छु । आफुलाई मन लागेको सामान खरिद गर्न स्वतन्त्र छु’ आचार्य भन्नुहुन्छ–‘कसैसँग माग्नु पर्दैन, मेरो उमेर कम भएर होला मैले बाख्रा पालेको छु भन्दा झट्ट कसैले पनि विस्वास गरेको पाउँदिन । तर, घरमै आएर हेर्नु हुन्छ अनि दङ्ग परेर जानुहुन्छ ।’ कृषि, पशु पालन लगायतका क्षेत्रमा अनुदानको लहड चलिरहे पनि अहिले सम्म कुनै ठाउँबाट अनुदान नपाएको उहाँले बताउनुभयो । अहिले भने अनुदानका लागि धेरैको आग्रहमा आवेदन दिएको आचार्य बताउँनुहुन्छ ।
अहिले बाख्रापालक कृषकलाई धेरै राम्रो अवसर भएको उहाँको बुझाई छ । खसी बोकाको मासु बिक्री गर्नका लागी बजार राम्रो भएकाले समस्या नभएको आचार्यले बताउनुभयो । विशेषतः दसंै तिहारमा खसी बोका बिक्रीको सिजन भए पनि महिनाको करिब ६० हजार आम्दानी गर्दै आएको उहाँले जानकारी दिनुभयो । असारमा रामेछापबाट बोयर बोका ब्याडको माग आएर १ लाख ४० हजार रुपैयाँमा बिक्री गरेको उहाँले बताउनुभयो ।
‘बोका चाहियो भनेर बागलुङबाट मात्र नभएर अन्य जिल्लाबाट पनि फोन आउने गर्दछ,’ उहाँले भन्नुभयो–‘मेरा उमेरका साथीहरु धेरै त पढाई सकेर बिदेश जाने तरखरमा भएको देख्छु । कोही घरमै केही नगरी बसिरहेका छन्’, उहाँले भन्नुभयो–‘मेरो उमेरका युवाहरुले आफ्नै देशमा केही गर्नुपर्दछ भन्ने सोचाई राख्नु पर्दछ । नेपालमै धेरै कुरा गर्न सकिन्छ । तर युवाहरुले जाँगर र साहस देखाउन सक्नुपर्छ ।’