विदेश त्यागेर गाउँमै कुखुरापालन

डम्मर बुढा मगर, बागलुङ
तमानखोला गाउँपालिका वडा नम्बर ३ तमान गाउँका भिमबहादुर घर्तीले १६ वर्ष खाडी मुलुक साउदी, अरब र कतारमा बिताए । एक दशक विदेशमा पसिना बगाएका नाम ४२ वर्षीय भिमबहादुरले अहिले परदेशमा सिकेको सीपलाई गाउँमै प्रयोग गरि उद्यमी बन्ने अभियानमा सक्रिय हुनुहुन्छ ।

‘गाउँका धेरै युवा विदेश पलायन भएका छन्, नभएका पनि जाने तर्खरमा छन्,’ उहाँले भन्नुभयो ‘विदेश गइयो, धेरै दुःख पनि पाइयो हजुर, अब विदेशको मोह त्यागेर आएको, अब गाउँमै केही गर्छु, जति पसिना बग पनि हो यहि बगाउँछु ।’ विदेशमा धेरै दुःख पर्दा पनि साहुको ऋण तिर्न नसकेका उहाँको गुनासो छ । अहिले विदेश भन्ने नाम पनि लिन मन नलाग्ने घर्ति बताउनुहुन्छ ।

अहिले तमान गाउँको वारी पट्टी कुखुराको खोर निर्माण गरेर २/३ जातिका कुखुरा पाल्नुभएको छ । कुखुराको खोरमा साना, ठूला राता सेता रहर लाग्दा कुखुरा र चल्लाहरु देखिन्छ । अहिले उहाँको खोरमा दुई सइ बढी लेर्यस जातका कुखुरा छन् । ति सबैले अहिले अण्डा दिन थालेका छन् ।

भिमबहादुरको आज भोलीको दैनिकी अण्डा व्यवस्थापन गर्ने र बजारसम्म पु¥याउने भएको छ ।
विषेश गरी अण्डा र मासुलाई प्राथमिकतामा राखेर कुखुरा पालन व्यावसायलाई अघि बढाएको उहाँको भनाई छ । भिमबहादुरले तमान क्षेत्रमा मासु र अण्डा राम्रै खपत भएको पाएपछि उत्पादनलाई पनि बढाउँदै लगेको बताउनुहुन्छ ।

‘अण्डा मासु नखाने मान्छे कमै हुन्छ, अधिकांशले यसको प्रयोग गर्छन्, हाम्रो क्षेत्रमा राम्रै खपत भइरहेको छ, मैले जति उत्पादन गर्छु त्यति नै राम्रो बजार पाएको छ,’ भिमबहादुरले भन्नुभयो ‘अहिले गाउँमा काम गर्दा हिजो विदेशमा गरेको दुःख पनि भुलेको छु र परिवारसँग रमाएरै काम गरेको छु ।’

घर्तिको फर्ममा कुखुरा मात्रै पनि छैनन्, बहुआयामिक रुपमा च्याउ खेतीलाई पनि उस्तै मेहनतका साथ अगाडि बढाउनुभएको छ । यो व्यावसयमा साथ उहाँकी श्रीमतीले पनि दिएका छिन् । परिवारका सबै सदस्यले आफूलाई सहयोग गरेको भन्दै व्यवसाय पनि राम्रो बन्दै गएको उहाँको भनाई छ ।

‘गाउँमा काम गर्दा यस्तो आनन्द आउँछ, जति धेरै काम गरे पनि थकाईको महुशुस हुँदैन, किनकि परिवारसँगै काम गरिएको छ, सबैले काम गरेका छौँ, साँझ विहान काम ग¥यो, परिवारले पकाएको खायो,’ उहाँले भन्नुभयो ‘विदेशमा भएको भए कहाँ यस्तो हुन्थ्यो ? सके नि गर्नै प¥यो, नसके पनि गर्नै पर्ने बाध्यता हुन्थ्यो, त्यतिबेलाको दुःखले गर्दा होला अहिले गाउँमा जति काम गर्दा पनि थकाई लाग्दैन, त्यसरी बिरामी पनि परेको छैन ।’

विदेशको दुःखलाई त्यागेर ६ वर्षदेखि सुरु गरेको व्यवसाय अहिले फस्टाउँदै गएको उहाँ बताउँनुहुन्छ । पाँच लाख रुपैयाँ लगानी गरेर कुखुरा फर्म सञ्चालन गर्नुभएका भिमबहादुरले १४ लाख लगानी मात्रै पु¥याएको जानकारी दिनुभयो । परिवारकै सहयोगले यति ठूलो लगानीमा व्यवसाय चलाई राखेको र अहिलेसम्म बाहिरी मान्छेलाई गुहार्न नपरेको उहाँको भनाई छ ।

व्यवसायबाट मासिक रुपमा करिब ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको घर्तिले बताउनुहुन्छ । लगानी बढाउँदा गए पनि आम्दानी केही कम भइरहेको छ । यद्यपि, उत्पादन बढाउन सके अण्डा र मासुका लागि बजारको अभाव छैन ।

उत्पादन गरेको मासु र अण्डा अधिकांश तमान गाउँमै खपत हुने र बढी भएको बोङ्गादोभान र बुर्तिबाङसम्म पु¥याउने गर्नुभएको छ । ‘बजारको खासै समस्या छैन, गाउँमा पनि धेरै खपत हुन्छ, बढी भयो भने बोङ्गादोभान, बुर्तिबाङसम्म पुग्छ,’ घर्ति भन्नुहुन्छ ‘बजार नपाउला भन्ने समस्या छैन, हामीले नै उत्पादन धेरै गर्न सकिराखेका छैनौँ ।’

व्यवसायलाई प्रवद्र्धन गर्नका लागि तमानखोला गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा ६० हजार अनुदान समेत दिएको थियो । गाउँपालिका तथा अन्य निकायले आफू जस्ता कृषकहरुलाई समय–समयमा तालिम, परामर्श र बिउ बिजन र व्यवसाय अनुसारको प्राविधिक सहयोग गर्न सके उत्पादनमा जोडिन चाहने कृषक व्यवसायीलाई ठुलो हौसला मिल्ने र व्यवसाय थप बढवा हुने उहाँको भनाई छ ।

‘हामीलाई कुनै तालिम, परामर्श छैन, तर पनि काम गरि राखेका छौँ, अहिलेसम्म त राम्रै भएको छ, पछि समस्या आयो भने गाह्रो हुने हो,’ भिमबहादुरले भन्नुभयो ‘हामीलाई चाहिने आवश्यक औषधी, तालिमहरु दिने भए हामीलाई थप उर्जा मिल्ने थियो, अरु युवाहरुलाई पनि रोजगार दिन सक्ने वातावरण तयार हुने थियो ।’

उहाँले युवाहरुलाई विदेश नजान समेत आग्रह गर्नुहुन्छ । गाउँमा आफ्नो बारी बाँझो बनाएर विदेशमा गएर पसिना बगाउनु मुर्खता भएको उल्लेख गर्दै युवाहरुलाई आफ्नै गाउँ घरमा व्यवसायी बन्न आग्रह गर्नुभयो ।

‘विदेश भन्ने त जाने रैनछ, म केही नबुझ्दा विदेश गएँ, अबका युवाहरु त्यसरी विदेश नगइ दिए हुन्थ्यो, स्वर्ग जस्तो हाम्रो भूमीलाई बाँझो बनाएर अरुको मरुभूमिलाई हराभरा बनाउनु भन्दा आफ्नै बारीमा काम गर्ने उद्यमी बने हुन्छ,’ उहाँले भन्नुभयो ‘अब त नयाँ–नयाँ प्रबिधिहरु आएको छ, त्यसको प्रयोग गर्ने पहिलो जस्तो धेरै दुःख पनि हुँदैन, अब त व्यवसाय गर्नलाई धेरै गाह्रो पनि छैन, लगनशील बन्नु पर्छ, यही पनि विदेशमा भन्दा बढी कमाउन सकिन्छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *