बागलुङ बजारको दुर्दशाः सिसी क्यामेरा छ, प्रयोगमा छैन

सिर्जना पन्त, बागलुङ
बागलुङ उद्योग बाणिज्य संघले २०६९ सालमा बागलुङ बजारका विभिन्न चोकमा २६ वटा सिसी क्यामेरा जडान ग¥यो । बजार क्षेत्रमा हुने चोरी, झै–झगडा, विभिन्न आपराधिक गतिविधी नियन्त्रण गर्दै शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन यसले उल्लेख्य भूमिका खेल्यो पनि ।

करिब २९ लाख रुपैयाँको लगानीमा जडान गरिएका सिसी क्यामेरा पछिल्ला वर्षमा भने बिग्रिएर कामयावी हुन छोडेको लामै समय भयो । तर, मर्मतका विषयमा बागलुङ उद्योग वणिज्य संघ र बागलुङ नगरपालिकाबीच बिरोधाभाष उत्पन्न हुँदा अहिले सिसी क्यामरा प्रभावहिन बन्न पुगेको छ ।

उद्योग बाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सरोकारवालाको सहमति अनुसार सिसी क्यामेराको मुख्य मोनिटर जिल्ला प्रहरी बागलुङमा राखिएको थियो । प्रहरी कार्यालयमा मोनिटर राख्दा निगरानी प्रभावकारी हुने र अवाञ्छित गतिविधि नियन्त्रणका लागि तत्काल एक्सन लिन सकिने अपेक्षा गरिएको थियो । सुरुवातका समयमा प्रभावकारी पनि देखियो । तर, पछिल्ला वर्षमा सिसी क्यामेरा आफैमा समस्या देखिन थाले पछि बजारको शान्ति सुरक्षा र अनुसन्धानमा चूनौती थपिएको छ ।

बजारमा लुटपाट, चोरी र झै–झगडा हुँदा सिसी क्यामेराको फुटेज हेरेर अपराधी पत्ता लगाउने अपेक्षा राखिए पनि अधिकाशं क्यामेरा बिग्रिएका, काम गरिरहेका क्यामेराबाट रेकर्ड भएको फुटेज पनि स्पष्ट नदेखिने समस्या छ । गत वर्ष सम्म २६ मध्ये २२ वटा सिसी क्यामेरा बिग्रीसकेका थिए । यस वर्ष बाँकी रहेका ४ वटा क्यामेराले पनि राम्रोसँग काम गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय बागलुङमा सिसी क्यामेराको मोनिटर राखेको भएपनि समयमै क्यामेरा बिग्रिएको बारे प्रहरीले जानकारी नगराउँदा अन्ततः सबै क्यामेरा बिग्रिएको बागलुङ उद्योग वणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी बताउनुहुन्छ ।

‘प्रहरीले एक दुई वटा क्यामेराले काम नगर्दा साथ हामीलाई जानकारी गराउनु पथ्र्याे,’ अध्यक्ष राजभण्डारीले भन्नुभयो ‘१०,१५ वटा क्यामेराले काम गर्न छाडे पछि मात्र हामीले जानकारी पायौ, एकै पटक सबै निर्माण गर्न समस्या लाग्यो ।’

अब भने उद्योग वणिज्य संघले आफ्नै कार्यालयमा सिसी क्यामेराको मोनिटर राख्ने गरी नयाँ व्यवस्थापनको साथमा क्यामेरा जडान गर्ने कार्य अगाडि बढाउन थालेको छ । बागलुङ बजारको समिक्षालय चोक, जीपपार्क चोक, लोकतान्त्रिक चोक, अदालत चोक, लाली गुँरास चोक, देउराली चोक र क्याम्पस चोक सहित विभिन्न स्थानमा जडान गरिएका २६ वटै सिसी क्यामेरा झिकेर मर्मत गरिएको छ ।

‘बजार क्षेत्रका सबै ठाउँबाट बिग्रिएका क्यामेरा झिकेर मर्मत गरिसकेका छौ,’ उहाँले जागरणसँग कुराकानीमा भन्नुभयो ‘तत्काल जडान गर्न सकिने ३० वटा सिसी क्यामेरा तयारी छन्, तत्काल जडान गर्न सुरु गर्छाै ।’

राजभण्डारीले बागलुङ नगरपालिकामा व्यवसायीले बुझाएको व्यावसायिक करको ३० प्रतिशत उद्योग वणिज्य संघलाई दिने गरी सम्झौता भए पनि नगरपालिकामा निर्वाचित जनप्रतिनिधि आए पछि कार्यान्वयन नगरेकाले पनि समस्या भएको सघंले जनाएको छ । उक्त रकम माग गरिएको र सोही रकमबाट थप क्यामेरा जडान गरिने बताउनुभयो ।

‘तत्कालका लागि ६० वटा क्यामेराको स्टिमेट गरेका छौ,’ उहाँले भन्नुभयो, ‘नगरपालिकाबाट बजेट प्राप्त भयो भने आगामी एक महिनामा जिल्लाको प्रवेशद्वार, उपल्लाचौर, गौडाकोट सहित अन्य स्थानमा पनि क्यामेरा जडान हुनेछ ।’

राजभण्डारीले नगरपालिकाबाट बजेट प्राप्त नभए पनि बैंक र सहकारी संस्थासँग सहकार्य गरेर काम अगाडी बढाउने बताउनुभयो । ‘जिल्लामा रहेका २८ वटा बैंकसँग बैठक र छलफल भएको छ, उहाँहरु सकारात्मक हुनुहुन्छ,’ राजभण्डारीले भन्नुभयो, ‘प्रत्येक बैंकले एउटा क्यामेरा सहयोग गर्नुभयो भने पनि हामी लक्ष्यको नजिक पुग्नेछौ ।’ क्यामेरा निगरानीका लागि प्रत्येक टोलमा समिति गठन गर्ने संघको भनाई छ ।

उद्योग वाणिज्य संघले नगरपालिकासँग सम्झौता भएको भने जस्तो व्यावसायिक करको ३० प्रतिशत तत्काल उपलब्ध गराउने अवस्था नभएको बागलुङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा बजार व्यवस्थापन समितिका संयोजक जीवन आचार्यले बताउनुभयो ।

‘व्यावसायिक करको ३० प्रतिशत दिने भनेर स्थानीय सरकार आउनु भन्दा पहिले गरिएको सम्झौता रहेछ,’ आचार्यले भन्नुभयो ‘त्यसयता अहिले सम्म सम्झौता नविकरण भएको छैन, कार्यान्वयन पनि आएको छैन, त्यसैले यसलाई पुनरावलोकन गरेर काम गर्न आवश्यक छ ।’

नगरपालिकाले व्यावसायिक करबाट ३० प्रतिशत छुट्याएर दिन नसके पनि बजार व्यवस्थापन शिर्षकबाट भने सिसी क्यामेरा व्यवस्थापनका लागि बजेट छुट्याउने निर्णय भएको उहाँको भनाई थियो । बागलुङ बजारको सुरक्षाको जिम्मेवारी नगरपालिकाको पनि भएकाले आफुहरु सकरात्मक रहेको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताउनुभयो ।

बजार क्षेत्रमा भएका सिसी क्यामेरा बिग्रिदा अपराध अनुसन्धानमा समेत समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी लोकेन्द्र श्रेष्ठ बताउनुहुन्छ । सानो र साँघुरो बजार क्षेत्रमा दैनिक बढ्दो भिडभाडले गर्दा बैंक तथा वित्तिय संस्था सहित सेवाग्राहीहरु थप सचेत बन्नुपर्ने उहाँले बताउनुभयो ।

‘चोक–चोकमा राखेका क्यामेरा बिग्रिएका छन्, भिडभाडको फाइदा उठाएर अपराधी उम्कन सक्छ’, श्रेष्ठले भन्नुभयो सरोकारवाला संवेदनशील बनेर सिसी क्यामेरा राख्ने हो भने प्रहरी अनुसन्धानमा समेत सहयोग पुग्थ्यो ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *