नारायणस्थान र कुश्मिसेरामा पुनः भेटियो हात्तिपाइलेको जीवाणु

आदर्श अनलाइन, बागलुङ
बागलुङमा हात्तिपाइले रोग चुनौतीका रुपमा खडा भएको छ । १२ औ चरणको हात्तिपाइले निवारण अभियान सञ्चालन गर्नु पूर्व बागलुङको बलेवा स्थित नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तिपाइलेको जीवाणु फेला परेको छ । जिवाणु भेटिएसंगै ६ वर्षमा निवारण भएको हात्तिपाइले बागलुङमा १२ वर्षमा समेत निवारण नुहने पक्का भएको छ ।

हात्तिपाइले रोग निवारणका लागि हालै गरिएको चौथो पटकको नमूना परिक्षणमा नारायणस्थानमा ८ जनालाई र जैमिनीको कुश्मिशेरामा २ जनामा हात्तिपाइलेको जीवाणु फेला परेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । नारायणस्थानमा यसअघि पनि हात्तिपाइले भइसकेका तीन जनालाई समेत पुनः हात्तिपाइलेको जीवाणु फेला परेको छ ।

चौथो पटकको नमूना परीक्षणमा समेत हात्तिपाइलेको जीवाणु फेला परेकाले बागलुङमा हात्तिपाइले निवारण निकै चुनौतीपूर्ण रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो । नारायणस्थानमा ३ सय र कुश्मिसेरामा ३ सय जनामा हात्तिपाइलेको जीवाणु परीक्षण गरिएको थियो । दुवै स्थानमा हात्तिपाइलेको जीवाणु फेला परेसंगै यो वर्ष १२ औं पटक र आगामी वर्ष १३ औं पटकको अभियान जिल्लाभर चलाउनु पर्ने देखिएको गुरौंको भनाई छ ।

हात्तिपाइले रोगबाट बच्न सामान्यतया लगातार ६ं पटक हात्तिपाइले रोग बिरुद्धको औषधि खानुपर्छ तर बागलुङमा १३ औं पटक सम्म अभियान चलाउनपर्ने भएको हो । नेपालमा हात्तिपाइले रोग निवारणको अन्तिम तयारी भए पनि बागलुङ जिल्ला सहित नेपालका ७ जिल्लामा हाल सम्म हात्तिपाईले रोग निवारण गर्न नसकिएको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाका सुपरभाइजर सरोज अधिकारीले बताउनुभयो । “पाँच वर्ष लगातार औषधी खुवाई सकेपछि नमूना परीक्षण हुन्छ, नमूना परीक्षणमा जीवाणु फेला नपरे छैठौ पटक खुवाएर अभियान सफल पारिन्छ” अधिकारीले भन्नुभयो “नमूना परीक्षणमा जम्मा नमूना संख्याको दुई प्रतिशत भन्दा कम पोजेटिभ आएमा निवारण हुन्छ, नत्र दुई वर्ष लम्बिन्छ ।” बागलुङमा चौथो पटक सम्मको नमूना परीक्षण गर्दा समेत पोजेटिभ आएको हो ।

जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा हात्तिपाइले निवारण गर्न नसक्दा सिंगो जिल्लाभर औषधी खुवाउनुपर्ने अवस्था आएको हो । अहिले पुनः जैमिनी नगरपालिका–१ कुस्मिशेरामा समेत हात्तिपाइलेको जीवाणु फेला परेको छ । संक्रमण दुई प्रतिशत प्रतिशत भन्दा कम भएमा जनस्वास्थ्य समस्याको रुपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेकोमा त्यो हुन नसकेकाले बागलुङमा थप दुई वर्ष हात्तिपाइले अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको हो ।

हात्तिपाइले विरुद्धको औषधि सेवनमा नागरिकको बेवास्ता, लगातार औषधी नखानु र लामखुट्टेको प्रकोपका कारण निरन्तर रुपमा अभियान चलाई राख्नु परेको हो । स्वास्थ्य कार्यालयले अहिले नारायणस्थानका घर–घरमा महिला स्वास्थ्य स्वंयमसेवीका परिचालन गरी हात्तिपाइलेको लक्षण भए नभएको जानकारी लिने, सचेतना गराउने जस्ता कार्य समेत गर्न थालिएको छ ।

विश्वका धेरै देशहरुमा अभियान सफल भएर हात्तिपाइले निवारण भइसके पनि नेपालमा भने यो समस्याले केही सकस बनाएको छ । हात्तिपाइले आफुले मात्र औषधि खाएर जोखिमबाट पुर्ण रुपमा बच्न सकिदैन । अरु कसैलाई हात्तिपाइले छ र उसलाई टोकेको लामखुट्टेले टोकेमा पनि हात्तिपाइले हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *