मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नती गर्दै निसीखोला

डम्मर बुढा मगर, बागलुङ
निसीखोला गाउँपालिकाले मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकलाई स्तरोन्नती गर्न थालेको छ ।

गाउँपालिकाले वडा नम्बर २ को बायखोलादेखि वडा नम्बर ५ को निसी ढाँडसम्मको ९ किलोमिटर सडक स्तरोन्नती गर्न थालेको हो ।

सुरुमा यस सडक मध्यपहाडी लोकमार्गका लागि प्रस्तावित भएको, बिभिन्न अवरोध र विवादका कारण अर्को पट्टिबाट लोकमार्ग गएको स्थानीय बताउँछन् । यो सडकले ढोरपाटन नगरपालिका वडा नम्बर २ देखि निसीखोला गाउँपालिका वडा नम्बर ५ जोडेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको ८५ लाखको लागतमा सडक स्तरोन्नती गर्न थालिएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो । ‘यो सडक स्तरोन्नती गर्नका लागि यस वर्ष गाउँपालिकाले ८५ लाख विनियोजन गरेर काम सुरु गर्ने तयारीमा छ, जसका लागि बोलपत्र आव्हान समेत भइसकेको छ,’ उहाँले भन्नुभयो ‘यो वर्ष सडकलाई सम्याउने, नाली निर्माण लगायतका काम हुनेछन् ।’

गाउँपालिकाको वडा नम्बर २ देखि ५ सम्मको ९ किलोमिटर सडक स्तरोन्नती गर्न योजना अनुरुप काम अगाडी बढाइएको छ । आगामी फागुन अन्तिम सातादेखि स्तरोन्नतीको काम सुरु हुनेछ ।
गाउँपालिकाका इञ्जिनियर समुन्द्र शाहीले सडकको स्तरोन्नतीका लागि नापजाँच भएको र यसवर्ष सडक चौडा गर्ने, नाली निर्माण गर्ने बताउनुभयो । बजेट कम भएको हुँदा ४ किलोमिटर सडक मात्र यसवर्ष स्तरोन्नती हुनेछ ।

गाउँपालिकाले गत कात्तिकमा ५ लाख खर्च गरेर सडकमा झरेको पहिरो हटाउने तथा सडक सफा समेत गरेको गाउँपालिकाले जनाएको छ । ‘केही समयमै यो सडकको काम सुरु हुनेछ, यसका लागि हामी तयारी गरिसकेका छौँ, केही प्रक्रिया बाँकी छ,’ उहाँले भन्नुभयो ‘अहिले ४१ सय मिटर कच्ची नाली निर्माण गर्ने, सडक चौडा गर्ने लगायतका काम हुनेछ, यो सडकलाई कालोपत्रे गर्ने १५ करोड बढी लागत लाग्ने अनुमान छ ।’

गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले यो सडक गाउँपालिकावासीको ‘लाइफ लाइन’ भएको भन्दै हरेक वर्ष बजेट विनियोजन गर्दै काम गरिरहेको बताउनुभयो । ‘यो सडक सम्पूर्ण निसीखोलावासीको भविष्यसँग जोडिएको छ, मध्यपहाडी लोकमार्गसँगै यो सडकले सयौँ नागरिकको जीवन बदलिएको छ, यसको स्तरोन्नतीका लागि हामी लागिपरेका छौ,’ अध्यक्ष पौडेलले भन्नुभयो, ‘लामो समयको संघर्ष पछि अहिले सबै ट्रयाक खोलिएको छ, अब यसको स्तरोन्नती गर्न हामी निरन्तर प्रयासरत छौँ ।’

गाउँपालिकाले यस सडकको स्तरोन्नती गर्नका लागि ५२ करोडको डिपिआर समेत तयार गरिसकेको छ । ‘पहिले गाउँमा सडक नहुुँदा यहाँका कृषक, व्यवसायीलाई निकै कठिन थियो, सामान ढुवानी गर्न घोडा खच्चडको प्रयोग गर्नुपर्ने बाध्यता थियो भने अहिले गाडी मार्फत सहजै सामान ढुवानी गर्न थालेका छन्,’ उहाँले भन्नुभयो ‘त्यति मात्रै होइन,सडकले नजोडिएको अवस्थामा गाउँमा कोही बिरामी प¥यो भने डोकोमा बोकेर अस्पताल पु¥याउनु पर्ने बाध्यता थियो, अहिले त्यो समस्याको अन्त्य भएको छ ।’

सडकको २०६३ सालमा ट्रयाक खोल्न सुरु गरिएको थियो । तर, लामो समय सम्म स्थानीय स्तरमा विवाद र बजेटको अभावका कारण सकडले पूर्णता पाउन सकेको थिएन । स्थानीय सरकार गठन भए पछि २०७५ सालमा पालिकाले बजेट छुट्याएर ट्रयाक खोल्ने काम सकिएको अध्यक्ष पौडेलको भनाई छ ।

साविक निसी, बोहोरागाउँ र देविस्थान गाउँ विका समितिले २÷२ लाख, अर्थ मन्त्रालयबाट ४०, डोलीडार संस्थाबाट ७ लाख, जिल्ला विकास समितिबाट ८ लाख गरि ६१ लाख रुपैयाँमा सडक खोल्न सुरु गरिएको र पछि विभिन्न मन्त्रालयबाट बजेट परेको सडक खोल्ने काम भएको बताउनुभयो ।

सडक निर्माणमा विभिन्न पक्ष बीच विवाद हुँदा ढोरपाटन नगरपालिकाको पाखुतेदेखि निसीखोला गाउँपालिका वडा नम्बर २ बायखोलासम्म र निसीखोला गाउँपालिका वडा नम्बर ५ को ढाँडदेखि वडा नम्बर ४ को खाडचौरसम्म ट्रयाक खोलिए पनि ४ किलोमिटर सडक निर्माण नहुँदा सडक पूर्ण रुपमा जोडिएको थिएन । गाउँपालिकाले २०७४/०७५ मा ४५ लाख विनियोजन गरि ४ किलो मिटर सडक खनेर दुबै पट्टीको सडक जोडेको उहाँको भनाई छ ।

‘निर्माण थालनी भएको लामो समयसम्म पनि पाखुतेदेखि निसी ढाँडसम्म सडक जोडिएको थिएन, हामी पालिकामा आएपछि २०७५ सालको असार मसान्तसम्म सक्ने गरि काम ग¥यौँ र सडक जोडियो,’ उहाँले भन्नुभयो ‘अहिले सडक केही साघुँरो र केही ठाउँमा अप्ठ्यारो पनि छ, यसको स्तरोन्नती गर्नका लागि तयारी गरिरहेका छाैँ, कालोपत्रे गर्नलाई त पालिकाको बजेटले मात्र भ्याउँदैन, संघ र प्रदेशसँग सहकार्य गरेर काम गर्नुपर्छ ।’

यो सडक मध्यपहाडी लोकमार्ग भन्दा २ किलोमिटर छोटो पर्ने स्थानीयले बताएका छन् । स्थानीय कृषक धर्मराज पोखरेलले वैकल्पिक सडकले गाउँ जोडिए पछि आफूहरुले उत्पादन गरेको फलफूल तथा तरकारीहरुले सहज रुपमा बजार पाउन थालेको बताउनुभयो । उहाँले गाउँमा सडकले नजोडिँदा डोकोमा बोकेर बजार पु¥याउने गरेको भन्दै अहिले ग्राहक समेत बारीमै तरकारी लिन आउने भन्दै बजारसम्म सामान पु¥यान समेत निकै सजिलो भएको बताउनुभयो ।

‘पारी तिर सडकमा गाडी सरर्र गुड्थे, हाम्रो गाउँमा पनि सडक निर्माण भए यता तिर पनि गाडी गुड्थे कि भन्ने लाग्थ्यो, अहिले सरर्र गुड्ने सडक बन्यो,’ उहाँले भन्नुभयो ‘सडक नआउँदा खेरी हामीले धेरै सास्ती खेप्नु परेको थियो, हामीले उत्पादन गरेका तरकारी र फलफूल समयमै बजारमा पु¥याउन नसक्दा धेरै नोक्सान भएको थियो, अहिले त निकै सहज भएको छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *