कोरोना विरुद्व खोप अभियान सुरु : ‘सुरुमा खोप लाउँदा डर होइन भाग्यमानी लाग्यो’

डम्मर बुढा मगर, बागलुङ
‘अहिलेसम्म सयौँलाई सयौँलाई खोप लगाएँ, मलाई थाहा छ कि सबै खोपका सामान्य रियाक्सन त हुन्छ नै, तर म खोपको बारेमा वषौँदेखि बुझ्दै आएको हुँदा केही डर नै लागेन, सुरुमा खोप लगाउन पाउँदा भाग्यमानी ठानेको छु ।’

धौलागिरी अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर दिवाकर परालुलीले आफ्नो जीवनकालमा सयौँ नागरिकलाई सयौँ प्रकारका खोप लगाइदिनु भयो र आफूले पनि लगाउँदै आउनुभयो । उहाँ खोपको बारेमा धेरै जानकार पनि हुनुहुन्छ । तर अहिले विल्कुलै नयाँ खोप र नयाँ अनुभव संगाल्ने परिस्थितमा उहाँ हुनुहुन्छ, त्यो हो कोरोना खोप ।

नयाँ र परीक्षणकै क्रममा रहेको खोप लागउने कि नलगाउने भन्नेमा धैरै द्विविधामा थिए । त्यही द्विविधाका बीच अन्ततः बुधबार देशभर कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन सुरु गरियो । नेपालमा पहिलो कोरोना खोप टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले लगाएपछि सबै जिल्लाहरुमा पनि सुरु भयो । डा.राजभण्डारी लामो समय धौलागिरी अस्पतालमा प्रमुख मेसु भएर सेवा गर्नुभएको थियो ।

बागलुङमा पनि यो खोप लगाउन थालियो । जिल्लामा सबैभन्दा पहिला डाक्टर पराजुलीले नै खोप लगाउनु भयो । उहाँले लगाएपछि लगाउने की नलगाउने भन्ने दोधारमा रहेका अन्य स्वास्थ्यकर्मी पनि उत्साहित हुँदै एकाएक खोप लगाए ।

बुधबार जिल्लामा अग्रपंक्तिमा खटिने एक सय १७ स्वास्थ्यकर्मीलाई खोप दिइयो । बागलुङमा पहिलो खोप लगाउनुभएका डाक्टर पराजुलीले यो खोप सुरक्षित भएको हुँदा आफुले ढुक्क भएर लगाएको बताउनुभयो । पहिलो खोप आफूले लगाउन पाउँदा गर्व महुशुस गरेको उहाँको भनाई छ ।
डाक्टर पराजुलीले जुनसुकै खोपमा पनि सामान्य रियाक्सन देखा पर्न सक्ने भन्दै कुनै त्रास नमानी ढुक्क भएर आफूले खोप लगाएको बताउनुभयो ।

‘मलाई डर भन्ने नै थिएन, हामी स्वास्थ्यकर्मी भएको हुँदा खोपको बारेमा जानकारी भई राखेको हुँदा यो पनि त्यस्तै किसिमको हो भन्ने खोगेको थियो,’ उहाँले भन्नुभयो ‘यत्ति फरक हो, महामारीले गर्दा यो नयाँ खोप अलिकति छिटो–छिटो निर्माण भएर आएको छ, तै पनि डराउनु पर्ने अवस्थानै छैन ।’

धेरै वैज्ञानिकहरुले लामो समयसम्म अनुसन्धान गरेर लगाउनको लागि उचित भएको ठहर गरेर खोप दिन थालिएको हुँदा यसमा कुनै पनि डर र चिन्ता गर्नु पर्ने अवस्था नभएको उहाँको भनाई छ । बजारमा फैलिएको अनावश्यक हल्ला जस्तो यो खोप नभएको सुनाउँदै खोप सबै सम्म पु¥याउनु पर्ने र आम नागरिकले अब प्रयोग गर्नु पर्ने धारणा राख्नुहुन्छ ।

‘सबै खोपमा रियाक्सन हुन्छ, तर बजारमा जुन किसिमको हल्ला फैलिएको छ त्यस्तो हुँदै होइन, सबैले निर्धक्क भएर खोप लगाउनु पर्छ,’ उहाँले भन्नुभयो ‘हामी खोप लगाउन तयार हुनुपर्छ, खोप नलगाएसम्म कोरोना नियन्त्रण गर्न सम्वभ नै छैन ।’

बिहान खोप लगाएर केही बेरमै आफ्नो काममा खटिएको भन्दै आफूलाई कुनै पनि रियाक्सन नदेखिएको उहाँले बताउनुभयो । आफू खोप लगाउन पूर्व नै ढुक्क र तयारी अवस्थामा रहेको भन्दै आफूलाई कुनै पनि डरको महुशुस नभएको सुनाउनुभयो । ‘नयाँ खोप हुँदा डर छ सबैलाई, मलाई के लाग्छ भने त्यस्तो डराउनु पर्ने अवस्थानै छैन धेरै अध्ययन अनुसन्धान भएरका आएको छ,’ उहाँले भन्नुभयो ‘मैले खोप लगाउँदा त्यस्तो रियाक्सन होला भन्ने डर, त्रास भन्दा पनि सामान्य पक्रियानै हो र यो खोप पनि त्यस्तै हो भन्ने लागेको हुँदा म पहिले केही हुँदैन भन्नेमा तयारी थिएँ, निडर थिएँ ।’

डाक्टर पराजुलीले खोप लगाए पनि स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्न नछोड्न समेत आग्रह गर्नुभयो । स्वास्थ्य सुरक्षाको पालना गर्दा कोरोनासहित अन्य सरुवा रोगबाट समेत बच्न सकिने बताउनुभयो । अहिले पहिलो खोप लगाएकाहरुले एक महिनापछि दोस्रो खोप लगाउने छन् ।

धौलागिरी अस्पतालमै कार्यरत सिनियर अनमी टिकादेवी रिजालले पनि बुधबार बिहान कोरोना खोप लगाउनुभयो । खोप लगाएको आधा घण्टा नबित्दै आफ्नो ड्युटी सुरु गर्नुभयो । उहाँले खोप लगाएपछि कुनै पनि रियाक्सन नदेखिएको जानकारी दिनुभयो । रिजालले यो खोप जस्ता आफूले अहिलेसम्म धेरै नै लगाएको र अरुलाई पनि लगाई दिएको अनुभव सुनाउँदै खोप लगाउनु सामान्य प्रक्रिया भएको बताउनुभयो ।

‘खोप भन्दा बित्तिकै धेरैलाई डर लाग्ने गर्छ, किन डराउनु प¥यो र ?, यो त सामान्य कुरा त हो, रोगलाई परास्त गर्ने औषधी प्रयोग गर्दा डराउने कुरै भएन,’ उहाँले भन्नुभयो ‘डरायो भने झन् अर्को समस्या हुन सक्छ डराउनु हुँदैन यो अरु खोप जस्तै हो ।

उहाँ सुरुमै खोप लगाउन पाउँदै निकै हर्षित समेत हुनु भएको छ । आफू बिरामी हुँदा अहिलेसम्म आउँदै धेरै किसिमका खोपहरु लगाई सकेको र त्यसको रियाक्सनको बारेमा आफूले धेरै अनुवभ गरेको हुँदा यो खोप लगाउँदै पनि सामान्य रुपमा लिएको उहाँ बताउनुहुन्छ ।

‘बिरामी पर्दा धेरै खोप पनि लगाईयो, अरु बिरामीहरुलाई पनि धेरै खोप लगाई सकेँ, अहिले यो नयाँ खोप लगाउँदा पनि मलाई केही जस्तो पनि लागेन,’ उहाँले भन्नुभयो ‘खोप लगाएर ड्युटी आएकी हुँ मलाई केही भाएको छैन, ठिक छु, यसलाई मैले सामान्य रुपमा लिएकी छु ।

जिल्लामा बुधबार १ सय १७ स्वास्थ्यकर्मीले खोप लगाएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । बुधबार धौलागिरी अस्पतालका ४५ जना, बागलुङ नगरपालिकाको ६९ जना, काठेखोला गाउँपालिकाका १ जना, बडिगाड गाउँपालिकाका १ जना र बरेङ बरेङ गाउँपालिकाका १ जनाले खोप लगाएका छन् ।

जसमा ४१ पुरुष र ६७ महिला रहेका छन् । खोप केन्द्र धौलागिरी अस्पतालबाट मात्रै दिइएको छ । सबै पालिकाका स्वास्थ्यकर्मीसहित अन्य फ्रन्टलाइनरहरुलाई खोप लगाउनका लागि खबर गरि सकेको गुरौले बताउनुभयो ।

उहाँले जिल्लाका सबै स्थानबाट आउँदा कैही ढिला हुने भन्दै खोप दिनका लागि समय तालिका समेत निर्धारण गरेको बताउनुभयो । उहाँ १८ गतेसम्म सक्ने गरि खोप दिइने भन्दै नसकिए केही दिन लम्बिन सक्ने जानकारी दिनुभयो ।

‘सबै पालिकाका स्वास्थ्यकर्मी र अन्य साथीहरुलाई खबर गरि सकेका छौँ र समय पनि निर्धाण गरेका छौँ,’ उहाँले भन्नुभयो ‘हामीले निर्धारण गरेको समय केही लामो भएको हुँदा १८ गतेसम्म सक्ने गरि तयारी गरेका छौँ, यदी त्यस दिनसम्म सकिएन भने लगाउनेका संख्याको आधारमा केही दिन थपघट हुन सक्छ ।’

स्वास्थ्य कार्यालयले जिल्लाका १७ सय १४ फ्रन्टलाइनरलाई पहिलो चरणमा खोप लगाउन सुरु गरेको छ । बुधबार एक सय १७ जनालाई खोप दिएकोमा अझै १५ सय ९७ जनालाई खोप दिन बाँकी रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *