बागलुङको तित्याङका खिमबहादुर क्षत्री । उमेर २५ बर्ष । पेशाले क्षत्री इन्जिनियर हुनुहुन्छ । काममा जति रुची र तिव्र लगाव छ, त्यतिकै घुम्नमा पनि इच्छुक र तत्पर देखिनु हुन्छ । पछिल्लो पाँच वर्षयता देशका विभिन्न स्थानमा घुमिरहनु भएका क्षत्रीको घुम्ने सँस्कृतिबारे छुट्टै उद्घोष छ :“पहिले गृह जिल्ला ,अनि मात्र स्वदेशका चार किल्ला’ । पर्यटनको सिजन चलिरहदाँ घुमाई अनुभव सहित क्षत्री संग आदर्श अनलाईनकर्मी सिर्जना पन्तले गरेको कुराकानीको सम्पादीत अंशः
घुम्ने रहर कसरी पलायो ?
पछिल्लो समय सबैले घुम्ने, घुम्नुपर्छ भनेको सुनिन्छ । खासमा चाँहि मैले काठमाडौं युनिभर्सिटिमा पढेको । घुम्ने कुरा त्यहाँको एउटा संस्कृति जस्तै भएको छ । दशै तिहारको विदाको बेला, सेमेस्टरको खाली समयमा घुम्न जाने गर्दथे । मनाङ, मुस्ताङ अन्य ठाउँहरुमा पनि । म बागलुङमा हुने बेला र विदामा बागलुङ आएको बेलामा पञ्चकोट, भैरवस्थान मन्दिर र भुकण्डे होम स्टेमा घुम्न गइरहेको हुन्थ्यौं । तर त्यहाँ पढ्ने बेला हिमाल, पहाड तराई पनि घुम्नु पर्ने रहेछ भन्ने थाहा भयो । त्यस पछि नै हो म यसरी घुम्न थालेको । घुमन्तेहरुसंग भेट भयो । घुम्दा घुम्दै घुमन्ते भईयो ।
घुम्नै भनेर सुरु गर्नुभएको कति वर्ष भयो ?
घुम्ननै भनेर सुरु गरेको पाँच वर्ष पुरा भयो । घुम्ने भनेर वर्षैभरी घुम्ने पनि होइन, तर विदाको समयमा, दशै तिहारको समयमा, अरु समयमा काठमाण्डौंमा हुँदा पनि एक दुई दिन विदा भयो भने घुम्न निस्की हाल्ने । नजिकका डाँडाकाँडा, जंगल कता हुन्छ । घुम्न हिडिहाल्छु ।
घुम्न थालेको केही बर्ष भइसकेछ । कति जिल्ला, ठाउँ घुम्नुभयो ?
एक दर्जनभन्दा बढी ठुला–ठुला ठाउँहरु घुमे । स–साना अनि सहर बजारहरुलाई घुमाईको ठाउँमा राख्ने गरेको छैन । सामान्यता एउटा निर्धारित ठाउँ जस्तो दुई हजारदेखि माथि तीन हजार मिटर देखि माथिको । ठ्याक्कै गाजाको दह, भैरवस्थान भनेर घुम्न निस्कियो भने मात्र त्यसलाई घुमेको ठाउँको रुपमा राख्ने गरेको छु । ४६ देखि ५ हजार मिटर सम्मका एक दर्जन भन्दा बढी गाउँ ठाउँहरु घुमे ।
तपाईले घुम्नुभएको मध्ये असाध्यै सम्झन लायक ठाउँ ?
सम्झन त आँफुले घुमेको र आँफ्नो देशका सबै ठाउँहरु सम्झन लायक छन् । तर मैले घुमेको मध्ये बिर्सनै नसक्ने ठाउँ भनेको रारा हो । मुगु जिल्लाको मध्यपश्चिममा पर्ने रारा नेपालको स्वर्ग हो भन्छु मैले त । यहाँ बागलुङको एक दिनको घुमाईको लागि भैरवस्थान पनि हो । किनभने एकदमै अल्छी लाग्यो भने, फ्रेस हुनका लागि पनि एकदिन मात्र घुमौं भनेर निस्कने हो भने हामी भैरवस्थान जान सक्छौं । हामी भकुण्डेको होम–स्टे पनि जान सक्छौं । त्यहाँबाट सुन्दर डाँडाकाँडा, हिमालहरु देख्न सकिन्छ । एक पटक मात्र जाने भन्ने छैन । बागलुङ आएको समयमा एक पटक म भकुण्डे, भैरवस्थान पुगेकै हुन्छु ।
घुमन्ते समूहसँग आवद्ध छु भन्नुभयो । खासमा यो घुमन्तेले के गर्छ ?
घुमन्ते भनेको खासमा अरुलाई घुम्न सिकाउने ग्रुप हो । नेपालीहरुलाई नै खासमा नेपाल कस्तो छ ? लुकेर रहेका ठाउँ, त्यहाँका कथा र विषयवस्तुलाई ल्याएर ब्लगमा राख्ने, डकुमेन्ट्री बनाउने र बनाएका सामग्रीहरुलाई जनमानसमा पु¥याउने हो । पछिल्लो समय सुरुवातको संघर्षको समयबाट पार लाग्दै स्ट्याइलिसको चरणमा आइपुगेको छ यो गु्रप । युट्युवमा सस्क्राइबरहरु, फ्लोरहरु राम्रो हुने, प्रायोजनकर्ताहरु आउने क्रम चलिरहेको छ । हामी नेपालको धेरै ठाउँबाट गरेर १२ जना छौं ।
घुम्दा कस्ता–कस्ता चुनौती र समस्याहरु आउने रहेछन् ?
हामीहरुलाई आँफुलाई मात्र नभएर अरुलाई पनि प्रभाव पार्ने भनेर हिँडेका छौं । त्यसैले जान लागेको ठाउँको बारेमा बिस्तृत अध्ययन गरेर सबै तयारी गरेर जान्छौं । त्यसले त्यति धेरै समस्या त हुँदैन । कहिलेकाँही हिमाली जिल्ला तिर जाँदा प्लेन रोकिने, लेक लाग्ने जस्ता हाम्रो मातहतमा नभएका समस्याहरु हुन्छ्न् । भाषाको समस्या हुन्छ । शारिरिक रुपमा फिट नभएको जस्ता विभिन्न समस्या सुन्नमा आउँछ । तर, हामीहरुले त्यस्तो खालको समस्या भोगेका छैनौं । कहिलेकाँही बाटोमा सवारी साधन बिग्रिने समस्या भएको छ । अरु त्यस्तो केही छैन ।
सामुहिक रुपमा पनि घुम्नु हुन्छ, एक्लै पनि घुम्नु हुन्छ, घुमाईको खास मज्जा चाँही एक्लै कि समुहमा हुँदोरहेछ ?
घुमन्तेहरुले यसलाई स्लो ट्राभल भन्छन् । आँफुले आँफुलाई चिन्नका लागि पनि एक दुई पटक स्लोे ट्राभल गर्नुपर्छ । नत्र भने आँफ्नो मन मिल्ने साथीहरु, जसले हो मा हो मिलाउने साथीहरु संग घुम्दा मजा हुन्छ । नजिकको गन्तव्यहरुमा स्लो ट्राभल गर्नु पनि मजा हुन्छ । टि हाउस, होम स्टे भएका ठाउँहरुमा स्लो ट्राभल पनि राम्रो हो । यसरी एक्लै घुम्दा आँफुले आँफुलाई चिन्न सकिन्छ, होइन भने साथीहरु संग घुम्दा नै मजा हुन्छ ।
घुमिरहनुभएको छ, खासमा किन घुम्ने, घुम्दा के फाईदा हुन्छ ?
घुम्दाका धेरै फाईदाहरु छन् । शारिरिक, मानसिक, सामाजिक र बौद्धिक धेरै बिषयमा फाईदा हुन्छन् । किनभने घुम्ने बानीले नयाँ नयाँ जानकारी, फरक फरक अनुभव हुन्छ । घुम्नु भनेको एक हिसाबको लगानी हो । अर्काे कुरा घुम्दा निर्णय गर्ने क्षमता पनि बढ्छ । घुमाईमा धेरै किसिमका मान्छे भेट हुन्छन् । अर्काे कुरा घुमाई भनेको यतिकै फगत घुम्ने होइन । घुमाईको पनि आँफ्नै उद्धेश्य र महत्व हुन्छ । म घुमन्ते हुँ भनेर वर्ष भरी कहाँ घुम्छु त ? छ महिना मज्जाले काम गर्छु । त्यसो गर्दा एक हप्ता घुम्नको लागि मज्जाले समय निकाल्न सक्छु, पैसा पनि हुने भयो । त्यो घुमाईको बल्ल महत्व हुन्छ, आनन्द पनि हुन्छ । होइन भने घुम्ने भनेर जतिबेला पनि जहाँ पनि डुलिरहने, हल्ला गर्दै हिँडेर म घुमन्ते हुँ भन्न मिलेन । निश्चित समयमा, निश्चित ठाउँमा त्यो ठाउँको अध्ययन गरेर घुम्ने र घुमेर र्फकेपछि सबैलाई त्यो ठाउँको बारेमा जानकारी गराउने, इन्टरनेटको माध्यमबाट देखाउने हो । पछिल्लो समयमा गाउँ गाउँमा होम–स्टे खोलिएका छन् । उहाँहरुले फेसबुक पेज मार्फत मार्केटिङ गरिरहनुभएको हुन सक्छ । जस्तैः अस्ती म गाजाको दहमा पुग्दा भर्खर होम–स्टे सुरु गर्नुभएको रहेछ । उहाँहरुलाई मैले मेरो कार्ड दिए र मलाई हजुरको कार्ड दिनुस् न भनेको उहाँहरुले बन्दै छ भन्नुभयो । त्यसपछि मैले एउटा रेकर्ड फाईल बनाएर को कहाँबाट भनेर लेखिदिए र मेरो कार्ड पनि त्यहि छोडिदिए । अब अर्काे मान्छे आएर त्यही छोड्दिनु हुन्छ ।
घुमन्तेहरुले एक ठाउँका राम्रा कुरा अर्काे ठाउँमा पु¥याएको हुन्छन्, कहानी कथा पु¥याएका हुन्छन् । अर्काे कुरा भनेको सामाजिक सञ्जालले गर्दा आँफ्ना फोटोहरु पनि आउने, रिफ्रेस हुने हुन्छ । केही समय आनन्दले काम ग¥यो, काम गर्दा जब अल्छी लाग्छ नि त्यसपछि घुमेर फर्कदा नयाँ र ताजा हुन्छ । त्यसैले घुमाईको सर्वव्यापी रुपमा फाईदै फाईदा छ ।
नेपाल सरकारले थालेको भिजिट नेपाल अभियानमा तपाईहरु जस्ता धेरै घुम्नेहरुको कस्तो भुमिका हुन्छ ?
तपाईलाई प्रस्ट भन्दा सरकारले अहिले भिजिट नेपाल २०२० भनेर तोकेको हो । होइन भने हाम्रो देश भनेको जहिले सुकै घुम्न लायक छ । २० लाख पर्यटक भनेर भनिरहनु पर्दैन । तर ठिक छ, सरकारले पनि गरेको छ । यसमा हाम्रो तर्फबट के गर्न सकिन्छ भन्दा समान्य मान्छेहरु नपुगेका ठाउँमा हामीहरु पुगेका छौं, त्यसैले गर्दा भिजिट नेपाल २०२० को लागि ती ठाउँहरु नयाँ गन्तव्य हुन सक्छन् । अर्काे कुरा कसैले हामीलाई कुनै ठाउँको बारेमा सोध्यो भने मजाले उ हिडेको ठाउँदेखि घुम्न सुरु गरेर सोही ठाउँमा कसरी फर्कने भनेर रुटहरु देखाउन सकिन्छ । अर्काे के गर्ने के नगर्ने भन्छ के, उहाँहरुलाई हामीहरुले त्यो सिकाउन सक्छौं । अर्काे प्रविधिको विकास सँगै ह्स्ट्रिक प्रयोग गर्ने, समाजिक सञ्जाल, इन्स्ट्रा तिर, युट्युबमा त्यसले पनि निकै राम्रो प्रभाव पारेको छ । हामीले हाम्रो युट्युव च्यानल, इन्स्ट्रा र पेजमा राखेको सामग्री जुनसुकै समयको किन नहोस्, चाहे त्यो २०१८ को होस् चाहे २०२२ को हो त्यसले भिजिट नेपाललाई प्रर्वद्धन गरिराखेको हुन्छ ।
के गर्ने के नगर्ने भन्नुभयो, साँचै घुम्न जाँदा कस्तो तयारी गर्नुपर्छ ?
मुख्य कुरा हामीहरुलाई हाम्रो गन्तव्यको बारेमा थोरै भए पनि जानकारी हुनुपर्छ । रुट बनाउनु प¥यो । पहिलो दिन कहाँसम्म जाने ? दोस्रो दिन कहाँ पुग्ने, के गर्ने ? तेस्रो दिन के गर्ने ? भनेर आँफ्नो यात्राको एउटा तालिका बनाउदा राम्रो हुन्छ । हामीहरुले गर्ने क्रियाकलापको समय सहितको तालिका भयो भने एकदम राम्रो । आँफु जान थालेको ठाउँमा कस्तो भाषा बोलिन्छ, त्यसको जानकारी राख्नुपर्छ । धेरै सकिएन भने पनि जस्तो विदेशीहरुले नेपाल आउँदा नमस्ते नमस्ते गरि राख्या हुन्छन् नि त्यस्तो सामान्य भाषाको ज्ञान हुनुपर्छ । अर्काे कुरा, आवश्यक सामाग्रीहरुको ख्याल गर्नुपर्छ । जस्तो पञ्चकोट जाँदा सामान्य लुगा लगाएर गए हुने भो, तर अपर मुस्ताङ, अन्नपूर्ण वेसक्याम्प, विभिन्न आधार शिविरहरुमा घुम्न जाँदा भने ज्याकेट, जुत्ता, लठ्ठी, व्याकअप फोनको व्याट्री, पावर व्याङ्क, चार्जर जस्ता कुराहरुको पनि ख्याल राख्नुपर्छ । महत्वपूर्ण र भुल्नै नहुँने चाही प्राथमिक उपचारका सामाग्रीहरु लगेर जानुपर्छ । आँफु जान लागेको ठाउँसम्म गाडी छ छैन, छैन भने हिँड्न सकिन्छ, सकिदैन त्यो कुराको पनि ख्याल गर्नुपर्छ । अनि घुम्न जाँदा टोली चाँही कति संख्याको छ, सो अनुसारको तयारी व्यवस्थापनमा ख्याल गर्नुपर्छ, सके सम्म कुरा मिल्ने ५,७ जनाको टोली भयो भने राम्रो । धेरै भयो भने धेरै थरी कुरा हुन्छन् । मिल्न मिलाउन पनि गाह्रो हुन सक्छ । समय र पैसाको पनि ख्याल राखेर हिड्यो भने सजिलो हुन्छ ।
अहिले भर्खरै घुम्नुभएको ताजा ठाउँ कुन हो ?
अहिले भर्खर मेरो आँफ्नै गृह जिल्ला बागलुङको दक्षिण भेग, बागलुङ बजारबाट कुश्मा हुँदै कुश्मिसेरा, भएर राङ्खानी पुगेर पहिलो दिन, राङ्खानीबाट हाँडीकोट त्यहाँ पहिले भुरे राजाहरु बस्नुहुँदो रहेछ त्यहाँबाट नाम्दुक हुँदै गाजाको दह आएर होम स्टेमा दोस्रो दिन । अर्काे दिन रेश हुँदै दोविल्ला भएर बागलुङ झ¥यौं । सबैले भनि राखेको सुनिन्छ, पहिले देश अनि विदेश भनेर । यहि भनेर अभियान चलाई रहनु पनि भएको छ । तर, मैले पहिले गृह जिल्ला अनि मात्र स्वदेशका चार किल्ला भनेर अभियान थालेको छु पछिल्लो समयमा । अभियानको पहिलो वर्ष ढोरपाटन गइयो, दोस्रो बर्ष भकुण्डे हुँदै गाजा गएर घुम्टे गईयो । अहिले दक्षिण भेग हो । अब निरन्तर जिल्ला घुमेर सक्ने लक्ष्य छ ।
अब घुम्नमा रुची राख्ने या नराख्नेलाई तपाईको केही भनाई छ ?
अहिले विशेष गरी जति पनि सामाजिक सञ्जाल प्रयोगकर्ता हुनुहुन्छ । फोटोग्राफरहरु, तपाईहरु जस्तो पत्रकारहरु हुनुहुन्छ । यद्यपी मैले पनि कहिलेकाँही पत्र पत्रिकामा लेखि राखेको हुन्छु । हामीहरुले चाँही आँफ्नो गाउँ ठाउँ, जिल्ला, प्रदेश र देशलाई प्रर्वद्धन गर्न आग्रह गर्दछु । घुम्ने धेरै देखिएको छ, सामाजिक सञ्जालमा फोटोहरु पनि राखेको देखिन्छ । जस्तै फोटो खिचेर पञ्चकोट मात्र भनेर राख्नु भन्दा पञ्चकोटको बारेमा थोरै जानकारी दिऊ । त्यहाँ कसरी जान सकिन्छ भनेर पनि लेखिदियो भने कति राम्रो हुन्छ । अहिलेको युवाहरुले सामाजिक सञ्जालको प्रयोग भन्दा दुरुपयोग बढी गरेको देखिन्छ, यसो गर्नु भएन । घुम्नुस्, घुमेको ठाउँका कथा र कहानीहरु अरुलाई सुनाउनुस् र उनीहरुलाई पनि घुम्न प्रेरित गर्नुस् भन्न चाहान्छु । नघुमेसी शारिरिक, मानसिक रुपमा पनि हामी अस्वश्थ हुने जोखिम बढी हुन्छ ।