अलपत्र सपना, अस्तव्यस्त सहिद पार्क

सिर्जना पन्त, बागलुङ
आजभोली दिनमा मात्र होइन, साँझमा पनि झलमल्ल उज्यालो हुन्छ । र मानिसको भिडहरु पनि उस्तै । विश्वकै लामो दाबी गरिएको छेउमै निर्मित पुलले सहिद पार्क नियाल्ने मानिस दैनिक सयौ हुने गरेका छन् । तर, सहिद स्मृति उद्यान भने उजाड देखिन्छ । जस्तो सहिदहरुको सपना बनेको छ । अहिले देशको पछिल्लो राजनीति, सहिदको सपना र बागलुङ बाङ्गेचौरको सहिद पार्क उस्तै अस्तव्यस्त बनेकोमा नागरिकको तिव्र गुनासो र आक्रोश छ ।

सहिद स्मृति उद्यानको मध्यभागबाट बनाइएको विश्वकै लामो दाबी पर्वतको पाङ जोड्ने ५ सय ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण र झलमल्ल बनाउनमा बागलुङ नगरपालिकाको पहल र काम प्रशंसनीय छ । तर, त्यही पुलसँगै जोडिएको सहिद पार्क भने वर्षौदेखि उदास र उजाड जस्तो नियति भोगिरहेको छ ।

लामो पुल हेर्न आउने दैनिक सयौं पर्यटक पाहुनाका अगाडि सहिद स्मृति उद्यानलको अव्यवस्थित पूर्वाधार संरचनाले गिज्याइरहेको आभाष हुने स्थानीय सुर्य केसी बताउनुहुन्छ । उद्यानमा शहिदका शालिक छन्, बालबालिकालाई खेल्नका लागि चिप्लेटी छ, पिङ छ, युवयुवती, प्रौढ र वृद्धवृद्धा बस्नका लागि कुर्ची छन्, विश्रामस्थल पनि छन् । यद्यपि, मान्छे बस्ने कुर्चीमा खिया लागेको छ, फुस्रा बुङ्ग रंग उडेका र उदेका लाग्दा धुपीका बुटाहरु ठडिएका छन् । यहाँ पुग्दा यस्तो लाग्छ शहिदका शालिकहरु रोइरहेका छन् ।

२०५७ सालमा निर्माण गरिएको उद्यानमा २००७ सालको क्रान्तिमा शाहदत प्राप्त गरेका बागलुङका सहिद थिरबम मल्ल सहित धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र दशरथ चन्दको शालिक छ । उद्यान २९ रोपनी क्षेत्रफलमा फैलिएको छ । शालिक, उद्यान र त्यहाँका संरचनाको दुरावस्था देख्दा त्यहाँ पुग्ने जो कोहीको मन खिन्न हुन्छ । जसरी सहिदका सपना अस्तव्यस्त छन् त्यसरीनै सहिद पार्कको व्यवस्थापनमा पनि नगरपालिकाले बेवास्ता गरेको केसीको भनाई छ ।

बागलुङ नगरपालिकाले भने उद्यानका लागि भनेर पछिल्ला वर्षमा शहरी शासकीय क्षमता सुधार कार्यक्रम अन्र्तगत करिब १ करोड रुपैयाँ खर्च गरेको जनाएको छ । भौतिक संरचना निर्माण, वृक्षारोपणमा लगानी गरिए पनि उचित संरक्षण र व्यवस्थापन नहुँदा लगानी खेर गएको छ ।
बागलुङ प्रवेश गर्ने वित्तिकै देखिने सहिद स्मृति उद्यानको दुर्दशाले बागलुङ जिल्लाको अवस्था दर्शाउने नागरिक समाजका अगुवा काजी गाउँले श्रेष्ठ बताउनुहुन्छ । बागलुङ नगरपालिका, पार्क रहेको वडा नम्बर १ को कार्यालय, पार्क नजिकैको कालिका भगवती गुठी र बन कार्यालय मिलेर यसको संरक्षण गर्नुपर्ने उहाँको भनाई छ ।

‘अहिले त पार्कको बीचबाट पुल बनेको छ, मान्छेको भिड दिन प्रतिदिन बढ्दै छ’, श्रेष्ठ भन्नुहुन्छ, ‘सबै मिलेर एक जना हेरालु राख्ने, पार्क र पार्क भित्रका संरचनाको रेखदेख गर्नुपर्छ ।’ श्रेष्ठले देशका लागि प्राणको आहुती दिने सहिदको सपना माथि अहिले पनि गम्भीर खेलवाड भइरहेको र जिल्लाका सरोकारवालाले पनि पार्कमा रहेका सहिदको शालिक माथि अवहेलना गर्नु सिंगो राष्ट्रको लागि लज्जाको विषय भएको बताउनुभयो ।

सामाजिक उत्तरदायित्व अन्र्तगत प्रभु बैंकले पनि अव्यवस्थित सहिद उद्यान निर्माणमा लगानी गरेको थियो । उद्यानमा बगैचा निर्माण, वृक्षारोपण र संरचना निर्माणका लागि ४० लाख रुपैयाँ लगानी गर्ने योजना सहित बैंकले बागलुङ नगरपालिकासँग सम्झौता गरेको थियो । सम्झौता अनुसार काम अगाडी बढाएर १४ लाख ७५ हजार रुपैयाँ लगानी गरिसकेको भए पनि बैंकले गरेको लगानी अनुसार सुरक्षा नभएकाले काम रोकेको प्रभु बैंकका गण्डकी प्रदेश कलस्ष्टरका उपक्षत्रिय प्रमुख अमरज्योति गिरीले बताउनुभयो ।

लगाएका बिरुवा चोरी हुने, बनाएका संरचना तोडफोड हुने, सहज रुपमा काम गर्ने बातावरण नभए पछि बैंकले काम रोकेको उहाँको भनाई छ । पहिलो वर्ष ४० लाख र त्यसपछि पनि निरन्तर बजेट आउने योजना भए पनि बागलुङ नगरपालिकाले उद्यानको संरक्षण र रेखदेखको सुनिश्चितता नगरेका कारण बागलुङ नगरपालिकासँग गरेको सम्झौता तोडेर बुढानिलकण्ठ नगरपालिकासँग सम्झौता गरेर काम थालिसकिएको उहाँले बताउनुभयो ।

बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद रिजालले चालु आर्थिक वर्षमा पार्क प्रवेशद्वार निर्माण सहित सहिद उद्यान संरक्षणको लागि १५ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको बताउनुहुन्छ । ‘पुल निर्माण र उद्यानको काम सँगसँगै गर्दा अप्ठ्यारो पर्ने भए पछि काम रोकिएको थियो’, उहाँले भन्नुभयो, ‘पुल निर्माणको काम सकिएको छ अब पार्क व्यवस्थापनको काम अगाडी बढ्छ, पार्कको मुख्य आकर्षण सहिदका शालिक भएपनि संरक्षण हुन सकेको थिएन,’ रिजालले भन्नुभयो ‘अब शालिकलाई घेराबार गरेर आवश्यकता पर्दा मात्र खोल्ने गरि संरक्षण गरिन्छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *