बागलुङ कांग्रेसको दुरावस्थाः पदपुर्ती नगरी सकिँदै कार्यकाल

सुवास गौतम, बागलुङ

नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङको नयाँ कार्यसमिति निर्वाचित भएको चार वर्ष पुग्न लाग्दा सम्म पनि समितिले पूर्णता पाएको छैन ।

२०७२ फागुन ४ गते भएको निर्वाचनबाट दिपेन्द्र थापाको नेतृत्वमा जिल्ला समितिका पदाधिकारी तथा सदस्य चयन गरिएको थियो । तर, निर्वाचित सदस्यबाट मनोनयन गर्ने उप–सभापति, सचिव र सह–सचिव पद अझै रिक्त छ ।

जिल्ला समितिको चार बर्षिय कार्यकाल रहने बिधानको व्यवस्था बमोजिम अब जम्मा पाँच महिना बाँकी छ । नेपाली कांग्रेसको विधान अनुसार सभापतिले मनोनित गर्न पाउने अधिकार छ । तर, सभापतिले अहिले सम्म मनोनित नगरेर पार्टीको भुमिका र गतिशिलतामा समस्या खडा गरेको कांग्रेस नेता, कायकर्ता गुनासो गर्छन् । अहिले उपसभापति मनोनित नभएको अवस्था रहेकाले सभापति लामो समयका लागि बाहिर कतै जानुपर्ने अवस्था भए जिल्ला सचिवलाई कार्यवाहक दिएर जाने गर्नुभएको छ ।

कांग्रेसमा जिल्ला सभापति, सचिव र कोषाध्यक्ष सहित सदस्य पदमा मात्रै चुनाव हुन्छ । अन्य सहायक पद भने नेतृत्वले आँफुले चाहेको नेता, कार्यकर्ता रोजेर पार्टीलाई अगाडी बढाओस् भन्ने बिधानको मर्म छ । यस्तो मर्मलाई आत्मसाथ गरेर पार्टीलाई थप चलायमान बनाउन जिल्ला नेतृत्व चुकेको छ । विधान अनुसार, अब जिल्ला समितिको कार्यकाल करिब एक बर्ष बाँकी छ । सभापति पक्षधर नेता जिल्ला सदस्यमा निर्वाचित नभएका कारण अनिवार्य रुपमा पुर्ति गर्नुपर्ने पद सभापतिले अहिले सम्म खाली राखिरहेको थापा इतर समूहको आरोप छ । मुख्य पदाधिकारी मनोनित नगरिए पनि भूगोल तथा समानुपातिक तर्फवाट प्रत्येक क्षेत्रमा ३/३ जना सदस्य भने मनोनित गरिएको थियो ।
निर्वाचित भएको चार वर्ष पुग्न लाग्दा सम्म बैठकमा मनोनयनको विषयमा कुनै छलफलनै नभएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि जगदिशचन्द्र उपाध्यायले बताउनुभयो । ‘मनोनित गर्ने काम र अधिकार सभापतिको हो, तर सभापति ज्यूले हाल सम्म मनोनयनका विषयमा पार्टी बैठकमा कुनै प्रस्ताव ल्याउनु भएको छैन,’ तत्कालिन सभापतिका प्रत्यासी समेत रहनुभएका उपाध्यायले भन्नुभयो,‘अब त ढिला भइसकेको छ, कार्यकाल सकिनै लाग्यो, किन मनोनयन गर्ने भनेर पनि होला ?’ आँफ्नो नेतृत्वमा कुशलतापूर्वक सहयोगी भुमिका र जिम्मेवारी निर्वाह गर्न सक्ने जो कोहीलाई मनोनित गरेको भए पनि पार्टी थप मजबुत बन्नेमा सभापतिको व्यवस्थापकीय कमजोरी देखिएको उहाँको भनाई थियो ।

जिल्ला समितिमा प्रस्ताव पेश गर्ने अधिकार भए पनि निर्णय गर्ने अधिकार जिल्ला समितिलाई भएको कांग्रेस जिल्ला सभापति दिपेन्द्रबहादुर थापाले बताउनुभयो । ‘आन्तरिक रुपमा गृहकार्य भइरहेको छ’ थापाले भन्नुभयो, ‘रिक्त पदमा बिभिन्न समयमा पहल गरिए पनि निर्णय लिन नसकेको अवस्था हो ।’ उहाँले कांग्रेस जिल्ला समितिको बैठमा पटक–पटक मनोनयनको विषयमा छलफल भएको दावी समेत गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *