तनहुँस्थित व्यास अल्ट्रा म्याराथनको उपाधि सेनाका महतरालाई

आदर्श अनलाइन, तनहुँ
तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको ४४ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतराले जित्नुभएको छ । व्यास नगरपालिका-५ मानुङदेखि व्यास नगरपालिका-८ पुलिमराङसम्म आयोजित चौथो म्याराथनको उपाधि तीन घण्टा तीन मिनेट ५१ सेकेन्डमा पार गर्दै महतराले जित्नुभएको हो ।

कालीकोट निवासी महतरा गत वर्ष आयोजित तेस्रो अल्ट्रा म्याराथनमा द्वितीय हुनुभएको थियो । म्याराथनमा सोलुखुम्बुका सुमन कुलुङ राई द्वितीय र रामेछाप निवासी त्रिभुवन आर्मी क्लबका वेदबहादुर सुनुवार तृतीय हुनुभएको छ । राईले सो दूरी तीन घण्टा मिनेट एक सेकेन्डमा र सुनुवारले तीन घण्टा १० मिनेट पाँच सेकेन्डमा पार गर्नुभएको छ । द्वितीय हुने राई गत वर्षको विजेता हुनुहुन्छ ।

म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैँचे-चापाघाट-अनशन चौतारी-सफासडक-भोर्लेटार चोक-बैरेनी-दुम्सी-कलेस्ती-पाथ्रा-सत्रसय-बानियाँ डिही-बर्लाची-सोतीवेशी-बगुवा रिस्ती-बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिएको थियो । प्रतियोगितामा २० जिल्लाका १८० धावकको सहभागिता थियो ।

म्याराथनमा तनहुँका अतिरिक्त गोरखा, कास्की, लमजुङ, स्याङ्जा, सिन्धुली, बागलुङ, रुकुम, सोलुखुम्बु, गोरखा, पर्वत, काठमाडौँ, धादिङ, म्याग्दीलगायत जिल्लाबाट धावक सहभागी रहेको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु ८५ हजार ७७, रु ६५ हजार ७७, रु ५५ हजार ७७ र सान्त्वना पाँचजनाले रु १६ हजार ७७ नगद पुरस्कार प्राप्त गरेका छन् । नगरपालिकाले यो पटक म्याराथनको पुरस्कार राशि वृद्धि गरेको हो ।

प्रथम, द्वितीय र तृतीय पुरस्कार राशिमा रु चार हजार एकका दरले वृद्धि गरिएको छ । गत वर्ष प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमशः रु ८१ हजार ७६, रु ६१ हजार ७६ र रु ५१ हजार ७६ प्राप्त गरेका थिए ।

धावकले नियम पालना गरे नगरेको जाँच गर्नका लागि आठ ठाउँमा चेकविन्दु स्थापना गरिएको थियो । व्यास नगरपालिका-४ व्यास रेन्ज पोष्ट, व्यास नगरपालिका-१० पिजनहिल खहरे, व्यास नगरपालिका-७ पाथ्रा मन्दिर, व्यास नगरपालिका-७ पातल एक हजार ७००, व्यास नगरपालिका-८ रिस्ती सोतीवेशी, व्यास नगरपालिका-८ सुनपोखरी, व्यास नगरपालिका-८ गाडापानी र व्यास नगरपालिका-८ पुलिमराङमा चेकविन्दु स्थापना गरिएको थियो ।

गत वर्षको म्याराथन सोलुखुम्बुका सुमन कुलुङले जित्नुभएको थियो । उहाँले ४४ किमी दूरी दुई घण्टा ५९ मिनेटमा पार गर्नुभएको थियो । प्रतियोगितामा कालीकोटका देवराज महतरा द्वितीय र भोजपुरका तीर्थ तामाङ तृतीय हुनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *