एसके थकाली, जोमसोम
मुस्ताङका ५ स्थानीय तहमा ९६ गाउँ छन् । यहाँको सबैभन्दा विकट र पिछडिएको बस्ती हो: लोघेकर दामोदरकुण्ड गाउँपालिका ५ को ध्ये ।
सदियौंदेखि कृषि र पशुपालन गरी जीविकोपार्जन गर्दै आएका यहाँका बासिन्दा अहिले संकटमा छन् । जलवायु परिवर्तनको प्रत्यक्ष असरले यहाँ सिँचाइ, खानेपानी र चरनक्षेत्र अभाव हुँदै गएको छ भने असमान हिमपात हुन थालेको छ ।
समुन्द्री सतहदेखि करिब ४ हजार मिटरमा रहेको ध्ये पुरानो गुरुङ समुदायको बस्ती हो । २६ परिवार बसोबास गर्ने यो गाउँका बासिन्दा पलायन हुने क्रममा छन् । पछिल्लो समय दुई तिहाइले पुरानो वस्ती छोडिसकेका छन् भने बाँकी बासिन्दासमेत बस्ती स्थानान्तरण गर्ने क्रममा छन् ।
ध्येमा स्थानीयले बर्सेनि एक बालीमात्र लगाउँथे । गाउँमा अहिले सिँचाइ, खानेपानी र चरनक्षेत्र अभाव भएको स्थानीय पासाङ गुरुङले बताए । गाउँको पुरानो वस्तीमा गहुँ, तोरी, आलु र तरकारी खेती हुन्थ्यो । उनले गाउँमा खेतीपाती र खानेपानीका लागि पानी नभएको बताए ।
जलवायु परिवर्तनले गाउँ नै विस्थापित हुन लागेपछि यहाँका युवा अस्तित्व संरक्षणका लागि जुटेका छन् । उनीहरु आन्तरिक रुपमा बस्ती सारेरै भए पनि गाउँ जोगाउन लागेका छन् । ध्येबासीले सोही वडाको करिब १२ किलोमिटर तल कालीगण्डकी किनारामा बस्ती सार्न थालेका छन् ।
कालीगण्डकी पूर्वतर्फको ध्ये थाङ्जुङ/चाम्बले भन्ने ठाउँमा बस्ती स्थानान्तरण गरेको गाउँ मुखिया कुन्साङ गुरुङले जानकारी दिए । उपल्लो पुरानो ध्ये गाउँभन्दा स्थान्तरित गाउँ समुद्री सतहबाट करिब १ हजार मिटर तल पर्छ ।
बस्ती स्थानान्तरणपछि गाउँलेलाई जग्गाको समस्या भएको छ । उनीहरुले सार्वजनिक प्रतिजग्गा भोगचलन गरिपाऊँ भनी स्थानीय प्रशासनमा लिखित माग गरेका छन् । त्यो मागको सम्बोधन हुँन नसकेको पूर्व गाउँ मुखिया गुरुङको दुखेसो छ ।
ध्येबाट बिस्थापित भई कालिगण्डकी किनारा छेउ बसोबास गरेका १७ घरधुरीले बाँझो जग्गामा सामुदायिक रुपमा स्याउ खेती गरेका छन् ।
ध्येबासीले कालिगण्डकी किनाराको १ सय २ सय ३ रोपनी र नजिकै ५ सय ५५ रोपनीमा खेतीपाती गरेका छन् । ध्ये गाउँको मुलथलोमा अहिले ९ घरधुरी मात्र छन् । उनीहरुले स्याउ खेती र पशुपालन थालेका छन् ।