बागलुङमा प्रथम शहिद कप टि–२० क्रिकेट प्रतियोगितामा

आदर्श अनलाइन, बागलुङ
बागलुङमा शुक्रबारदेखि प्रथम शहिद कप टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्ला क्रिकेट विकास समिति बागलुङको आयोजनामा बाङ्गेचौर खेलमैदानमा सुरु भएको प्रतियोगितामा बागलुङ क्रिकेट क्लब र धौलागिरी क्रिकेट क्लबले विजयी सुरुवात गरेका छन् ।

प्रतियोगिताको पहिलो खेलमा बागलुङ क्रिकेट क्लबले न्यू एरा क्रिकेट क्लब म्याग्दीलाई १ सय ५२ रनले पराजित गरेको छ ।

टस हारेर पहिले व्याटिङ गरेको बागलुङ क्रिकेट क्लबले ओपर रमेश बस्नेतको अर्धशतकीय पारिको मद्धतमा २० ओभरमा ४ विकेट गमाएर १ सय ९२ रन बनाएको थियो । प्रतियोगितामा पहिलो अर्धशतक प्रहार गरेका बस्नेतले २९ बलमा १० चौका र १ छक्काको मद्धतमा ५३ रन बनाएका थिएभने पवन हमालले ४६ बलमा ३६ रन र कप्तान गणेश थापाले अविजित १९ बलमा २९ रन प्रहार गरे ।

न्यू एराको लागि दिपेन केसीले तिन ओभरमा २४ रन खर्चेर २ विकेट लिएभने किशोर सुवेदी र समित थापाले १/१ विकेट लिए ।

१ सय ९४ रनको विजयी लक्ष्य लिएर जबाफि व्याटिङ गरेको न्यू एरा क्रिकेट क्लब १४.२ ओभरमा ४० रनमा समेटिएको थियो ।

न्यू एराको लागि कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । न्यू एराको लागि दिपेन थापाले प्रहार गरेको ८ रन नै सर्वाधिक रन थियो । न्यू एराका ४ जना खेलाडीले खाता नै खोल्न सकेनन् ।

बलिङ तर्फ बागलुङ क्रिकेट क्लबका सन्दिप पन्तले ४ ओभरमा १ मेडन सहित १० रन खर्चेर ५ विकेट लिए । पन्त खेलको म्यान अफदि म्याच चुनिए । बागलुङ क्रिकेट क्लबका कुशल खड्काले २ र विश्व कार्की र सुवास भण्डारीले समान १/१ विकेट लिए ।

यस्तै आजै भएको दोस्रो खेलमा धौलागिरी क्रिकेट क्लबले मालिका सेवा समाजलाई ३९ रनले पराजित गरेको छ ।

टस जितेर पहिले व्याटिङ गरेको धौलागिरीले कप्तान दिपक कुँवरको अर्धशतकीय पारिको मद्धतमा २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनायो ।

धौलागिरीको लागि कप्तान कुँवरले पहिलो खेलमै अर्धशतक प्रहार गर्ने क्रममा ४८ बलमा ९ चौका र १ छक्काको मद्धतमा ५२ रन बनाए ।

धौलागिरीको लागि दिनेश बुढा मगरले ११ बलमा १८ रन, सन्देश खड्काले ८ बलमा १२ रन बनाउनुबाहेक अन्य खेलाडीहरुले दोहोरो अंक छुन सकेनन् । धौलागिरीका एक जना खेलाडी खाता नखोली आउट भएका थिए ।

मालिकाको लागि रामजी आचार्यले ४ ओभरमा १८ रन खर्चेर २ विकेट र विशाल कार्कीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । यस्तै विजय जिसी र लक्कीप्रसाद आचार्यले समान १/१ विकेट लिएका थिए ।

१ सय ३२ रनको विजयी लक्ष लिएर जवाफि व्याटिङ गरेको मालिका १९.२ ओभरमा ९२ रन बनाउँदै अलआउट भयो । मालिकाको लागि हिमाल आचार्यले २३ बलमा १५ रन, जेशमिन थापाले ३० बलमा १२ रन र विशाल जिसीले ३ बलमा १० रन बनाउनुबाहेक अन्य खेलाडीहरुले दोहोरो अंक नै छुन सकेनन् । मालिकाका तीन जना खेलाडीले खाता नखोली आउट भएका थिए ।

मालिकालाई अलआउट गर्ने क्रममा धौलागिरी दिनेश बुढा मगरले ४ ओभरमा १४ रन खर्चेर २ विकेट, दिपक कुँवरले २.३ ओभरमा तीन रन खर्चेर २ विकेट र सचिव अधिकारी र सन्देश खड्काले १/१ विकेट लिएका थिए । उक्त खेलको म्यानअफदि म्याच धौलागिरीका कप्तान दिपक कुँवर बनेका थिए ।

प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका नगरप्रमुख जाकराज पौडेलले गर्नुभएको थियो । जिल्ला क्रिकेट विकास समितिका अध्यक्ष विष्णु आचार्यको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा स्वागत मन्तव्य सचिव फडिन्द्र खड्का र संचालन सदस्य कमल पन्तले गर्नुभएको थियो । लिग कम नकआउट चरणको आधारमा खेलाइएको खेलमा ६ टिम सहभागि भएका छन् ।

प्रतियोगिता अन्तरगत भोली (शनिबार) पहिलो खेलमा बागलुङ क्रिकेट विरुद्ध कुश्मा क्रिकेट क्लब ‘ए’ विच र दोस्रो खेल मालिका सेवा समाज विरुद्ध कुश्मा क्रिकेट क्लब ‘बि’ विच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ र उपविजेताले ८ हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष विष्णु आचार्यले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *