सुन्तला बिक्रीबाट डेढ करोड भित्रियो

आदर्श अनलाइन, पर्वत 
सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको मोदी गाउँपालिका वडा नम्बर २ देउपुरका कृषकले यस वर्ष डेढ करोड भित्र्याएका छन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका देउपुरका कृषकले उत्पादन गरेका सुन्तला बिक्रीबाट १ करोड ५० लाखभन्दा बढी रकम भित्र्याएको हो । गत वर्षभन्दा यस वर्ष सुन्तलाको उत्पादन कम भएकाले आम्दानीसमेत झण्डै ५० प्रतिशतले कमी आएको छ । यहाँको बगैंचामा सुन्तला किन्नका लागि काठमाडौं, पोखरा, नारायणगढबाट व्यापारी घरघरमै आएका थिए ।

कृषकले २ वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि यस वर्ष व्यापारीलाई निजी ढंगले बगैंचा जिम्मा लगाएका थिए । स्थानीय माछापुच्छे« सुन्तला सहकारी संस्थामार्फत् बिक्री गरे पनि निजी हिसाबले नै बिक्री गर्न थालिएको सहकारीका अध्यक्ष दाताराम चापागाईंले बताएका छन् । यस वर्ष उत्पादन घटेकाले गत वर्षजस्तो राम्रो कमाइ नभएको उनको भनाई छ । ‘गएको वर्ष ३ करोडभन्दा बढीको सुन्तला बिक्री गरेका थियौं, यस वर्ष मुस्किलले डेढ करोडजति आम्दानी भएको अनुमान छ ।’ अध्यक्ष चापागाईंले भने ।

सुन्तला टिप्नका लागि १ साताअघिसम्म व्यापारीका कामदारले देउपुरका बगैंचा भरिएका थिए । सुन्तला टिप्ने र लैजानेका कारण मेला लागेजस्तै देखिएको थियो । थोक व्यापारीले बगैंचाबाटै खरिद गरेपछि कृषकलाई पनि सहज भएको स्थानीय शिक्षक भूमिराज शर्माले बताए । देउपुरका कृषक ख्यामराज पौडेलले १ वर्ष बढी फल्ने र अर्को वर्ष कम फल्ने भएकाले गत वर्षजस्तो उत्पादन नभएको बताएका छन् । उनले गत वर्ष ४ लाखमा सुन्तलाको बगैंचा बिक्री गरेको बताउँदै यस वर्ष झण्डै आधा जति घटेको बताए ।

गत वर्ष हिउँदमा पटक–पटक आएको असिना, विभिन्न रोग र किराको प्रकोप र यस वर्ष वर्षायाममा पानीसमेत धेरै परेकाले उत्पादन घटेको हुनसक्ने स्थानीयवासीको अनुमान छ । विगत डेढ दशकदेखि गरिएको व्यावसायिक सुन्तला खेतीबाट यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनाएका छन् । परम्परागतरूपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकले सुन्तला खेती गरिएपछि उनीहरुको जीवनस्तरमा समेत परिवर्तन आएको छ । यहाँका १ सय ६० भन्दा बढी कृषक अन्य खेती छाडेर व्यावसायिक सुन्तला खेतीमा लागेका हुन् ।

साविक देउपुर गाविसमा सुन्तलाको सम्भाव्यता उच्च भएकाले विगत लामो समयदेखि सुन्तला खेतीलाई व्यावसायिकरूपमा शुरु गरेको माछापुच्छ«े सुन्तला समूहका अध्यक्ष दाताराम चापागाईंले बताए । उनले सुन्तला खेतीको विस्तारका लागि अझै प्रयास गर्न जरुरी रहेको बताए । सुरुमा कोदो, मकै मात्र लगाएर बस्ने गरेको ठाउँमा सुन्तला लगाएपछि वार्षिकरूपमा प्रत्येक परिवारको २ देखि ५ लाखसम्म कमाइ हुन थालेको उनको भनाई छ । मकै, कोदो लगाउँदा २० हजार कमाइ नहुने ठाउँमा सुन्तला लगाउँदा ५ लाख कमाइ हुन्छ ।’ उनले भने, ‘अहिले देउपुरका सबै घरमा २ लाखभन्दा बढी कमाउने कृषक छन् ।’

सुरुमा केही कृषकले परीक्षणका लागि सुन्तलाको बिरुवा रोपेको र राम्रो उत्पादन हुन थालेपछि गाउँभरि नै रोपिएको कृषकको भनाई छ । अहिले देउपुरका अधिकांश घरमा सुन्तला रोपिएको छ । यस वर्षदेखि सुन्तलाका बोट मर्न थालेका स्थानीयवासी भूमिराज शर्माले बताए । ठूला र साना बोट पनि धमाधम मर्न थालेको र रोग पत्ता नलागेको उनले बताएका छन् । विभिन्न औषधि प्रयोग गरे पनि निरन्तर रुख सुक्न थालेको उनको भनाई छ । उनले तापक्रम वृद्धि भएकाले सुन्तलामा पनि असर गरेको हो कि भन्ने अनुमान गरिएको बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *