छुद्रताले गाँजेको राजनीति

सम्पादकीय
नेपाली राजनीति यतिबेला फेरी एक पटक तंरगित छ । मुलुकमा नयाँ संविधान जारी गरेर तीन तहको निर्वाचन पश्चात केन्द्र, प्रदेश र स्थानीय सरकार बन्यो । तत्पश्चात आम नागरिकलाई अब देशमा लामो राजनीतिक अस्थिरता अन्त्य भएको अनुभूति भएको थियो । विकास र समृद्धिमा सहरदेखि गाउँ सम्म एक खालको उभार आउने आशा थियो । मुलुकमा राजनीतिक स्थिरता कायम भएर अब देश आफ्नै गतिमा अघि बढ्ने तिव्र आशा र अनुमान सर्वत्र थियो । तर, त्यो आशा, सपना र भरोसा फेरी एक पटक टुक्रिएको छ, धुजाधुजा भएको छ । र देश फेरी अनिश्चियको भूमरी तर्फ उन्मुख छ ।

नेपाली राजनीतिक इतिहासमै पहिलो पटक दुई तिहाईको कम्युनिष्ट पार्टी नेतृत्वको सरकार धर्मराएको छ । पाँच वर्षका लागि जनमत प्राप्त प्रतिनिधि सभा विघटन गरिएको छ । र नयाँ ताजा जनादेश भन्दै आगामी बैशाख १७ र २७ मा निर्वाचनको घोषणा गरिएको छ । संसद विघटनको निर्णय पश्चात ऐतिहासिक जनआन्दोलन र मधेस आन्दोलन पश्चात धेरै हद सम्म सुनसान प्रायः बनेका सडकहरुमा दैनिक आन्दोलन र प्रर्दशन हुन थालेका छन् । संसद विघटनको सवाल सर्वोच्च अदालतमा विचाराधिन छ । निर्वाचन आयोगमा सत्ताको बागडोर सम्हालिरहेको नेकपाको केपी ओली कि प्रचण्ड, माधव नेपाल पक्ष कुन आधिकारिक नेकपा बन्ने होड छ । निर्वाचन आयोगले यस विषयमा अझै प्रष्ट निर्णय गरिसकेको छैन । तीन वर्षअघि सँगै चुनाव लडेर बिजयी नेताहरु अहिले निकै तल्लो स्तरमा एक अर्कालाई गालीगलौज गरिरहेका छन् । यो मुलुकको प्रधानमन्त्री सम्हालिसकेका राजनीतिक अनुभव र परिपक्वताले खारिएका शीर्षस्थ नेताहरुको भाषण र एक सामान्य गाउँलेको गाली र आक्रोशको भाषा शैली एउटै देखिन्छ । यो नेपाल र नेपालीका लागि बिडम्बना हो ।

हुन त नेपाललाई बेला बेलामा भन्ने गर्छन्–‘यो सतीले सरापेको देश हो ।’ राजनीतिक घटनाक्रमले हो कि भन्ने आभाष पनि हुन्छ । तर, कुनै निश्चित नेताले सिमिति स्वार्थ र टकरावमा देशलाई बन्धक बनाउने या बाजी लगाउने ? अनि यो देशलाई सतीले सरापेको भनेर कदापी भन्न मिल्दैन । यो देश सुन्दर छ, यसलाई समृद्ध बनाउने अभिलाषाबाट कुनै पनि नेपाली नागरिक र नेता आफ्नो दायित्वबाट च्युत बन्न मिल्दैन । हरेक देशमा बेला कुबेलामा खलनायकहरु जन्मिन्छन् । जसका कारण देश कठिन संकटमा पर्छ, पश्चगमन तर्फ जान्छ । तर, नागरिक खबरदारी र असल नेताहरुको भूमिकाबाट देशले फेरी लय र गति पक्रन्छ । अहिलेको परिवेशमा पनि हामीलाई देशलाई अग्रगमनमा लैजाने, सबैलाई एकतावद्ध बनाउने पात्र चाहिएको छ । यसका लागि सबैको रखबारी जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *