देश, दुर्दशा र दल

सम्पादकीय
देश फेरी पनि अन्यौलता र अस्थिरताको भूमरीमा फसेको छ । ७० को दशक यता नेपालमा आमुल परिर्वतन भएको थियो । पुरानो व्यवस्था बदलिएर नयाँ व्यवस्था स्थापित भयो । देशमा वर्षौदेखि कायम राजतन्त्रात्मक शासन व्यवस्था अन्त्य भयो । र नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । व्यवस्था परिवर्तन पछि आम नागरिकमा ठुलो आशा, उत्साह पैदा भएको थियो । नयाँ संघीय अभ्यास अनुसार तीन तहको निर्वाचन भयो । यसबीचमा गाउँदेखि सहर सम्म उल्लेख्य परिवर्तनको उभार पनि आयो । गाउँ गाउँमा सडक सुविधा पुगेको छ । गाउँ–गाउँमा सिहंदरबारको उद्घोष गरिए अनुसार नभए पनि विगतको तुलनामा धेरै सेवा, सुविधा र अवसर तल्लो तह सम्म पुगेको छ ।

६० को दशक अघि सम्म नेपाल र नेपालीले राजनीतिक अस्थिरताको दुर्दशा निकै लामो समय सम्म भोग्नुप¥यो । कुनै पनि राजनीतिक दलका सरकार वर्ष दिन चलाउन पनि सकसको विषय बन्यो । विदेशी हस्तक्षेप, एक आपसको अस्वश्थ प्रतिस्पर्धा, संसद खरिद बिक्री लगायतका अस्वभाविक घटनाहरुले निरन्तरता पाइरह्यो । यो अस्थिर व्यवस्थाबाट नागरिक आजित बनिरहे । अन्ततः सबै राजनीतिक दल र जनता एक ठाउँमा उभिने बाध्यता बन्यो र त्यही पृष्ठभूमीमा तत्कालिन विद्रोही समूहको रुपमा रहेको नेकपा माओवादी समेतको सहभागितामा ऐतिहासिक जनआन्दोलन भयो । नेपालको इतिहासमा दुर्लभ परिघटनाका रुपमा भएको जनआन्दोलनले राजतन्त्र अन्त्य गर्दै देशमा नयाँ संघीय अभ्यास र नयाँ संविधान जारी हुने परिवेश तयार भयो । सोही नयाँ संविधान कार्यान्वयनका क्रममा भएको संघीय अभ्यास र निर्वाचनबाट बनेको दुई तिहाईको कम्युनिष्ट पार्टीको सरकार अहिले धरापमा छ ।

दुई तिहाईको नेकपा नेतृत्वको सरकार कुनै बिपक्षी पार्टीका कारणले नभई आफ्नै आन्तरिक द्धन्द्धले बिनाश सन्निकट छ । नेपाली जनताले पाँच वर्षका लागि अभिमत दिएर पठाए पनि तीन वर्षकै अवधिमा विघटन हुनुले अब देशमा राजनीतिक स्थिरता कायम हुनेमा आशावादी रहेका नागरिकको मनमा गम्भीर ठेस लागेको छ । देशको गति र लयमा गम्भीर समस्या र संकट पैदा भएको छ । अहिले नेपाली राजनीतिमा सत्ताको नेतृत्व सम्हालिरहेको नेकपाबीचमा जे जस्ता छुद्रता, आरोप प्रत्यारोप, अस्वश्थ प्रर्दशन, गतिविधि भइरहेको छ । त्यसले देशको भोलीको दिन अझै खराब अवस्थामा पुग्ने देखिएको छ । तसर्थ, सत्ता शक्तिको क्षणिकतामा कसैले पनि देशलाई संकटमा पार्ने विषयमा सचेत बन्नुपर्छ । यस्तो बेलामा कुनै एक दल मात्र नभई अरु सबै दल र नागरिक पनि जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *