दोब्बरमा बिक्री गर्न सुन्तला भण्डारण

आदर्श अनलाइन, बागलुङ
अहिले बजारमा सुन्तलाको सरदर मुल्य १ सय रुपैयाँ छ । अबको दुई महिनामा सुन्तला बजारमा देखिदैन, कतै देखि हाले पनि प्रति केजी २ सय रुपैयाँ पर्ने आँकलन छ । मौसम अनुसार तरकारी तथा फलफूलको मुल्य निकै कम हुन्छ । कुनै किसानले मुल्यमा गिरावट आउँदा लगानी समेत डुबाउँदछन् । पछिल्लो समय बागलुङमा बेमौसमी तरकारी र फलफूल खेती प्रति किसानको आकर्षण बढ्दो छ । मौसम अनुसार कृषि उपज तथा उत्पादन गर्ने कृषकहरुले खासै राम्रो बजार नपाएको गुनासो आइरहेको सन्दर्भमा यहाँका किसानहरुले उत्पादन गरेका सुन्तला बजार नपठाएर भण्डारण गृहमा राख्दै आएका छन् ।

कृषकहरुले सुन्तलालाई बेमौसममा बिक्री गरी धेरै नाफा कमाउने उद्देश्यले सुन्तला राम्रो उत्पादन हुने बागलुङ जिल्लाको विभिन्न स्थानका कृषकहरु सुरक्षित भण्डारण तर्फ अग्रसर भएका हुन् ।
सिगानामा हाल दुई वटा परम्परागत र एक आधुनिक सुन्तला भण्डारण गृह छन् भने जिल्लामै बढी सुन्तला उत्पादन हुने स्थानका रुपमा रहेको बिहुँमा समेत यो वर्ष आधुनिक भण्डारण गृह (कोल्ड स्टोर) बन्दैछ ।

चार वर्ष देखि परम्परागत भण्डारण गृह (सोलार स्टोर)मा सुन्तला राखेर बेमौसममा महङ्गो मूल्यमा सुन्तला बिक्री वितरण गर्दै आउनुभएका सिगानाका अगुवा कृषक टोपबहादुर खड्काले चैत्रमा प्रति केजी झण्डै २ रुपैयाँमा सुन्तला बिक्री गर्ने लक्ष्य राखेको बताउनुहुन्छ । उहाँले उत्पादन गरेका सुन्तला मध्ये ५० प्रतिशत सुन्तला भण्डारण गृहमा राख्दै आउनुभएको छ । सिगानाकै अर्का कृषक अनन्तबहादुर खड्काले दुई वर्र्षदेखि सुन्तला भण्डारण गृह निर्माण गरेर बेमौसममा सुन्तलालाई महङ्गो मुल्यमा बिक्री गर्दै आउनुभएको छ ।

सिगाना, बिहुँ, दमेक, भकुण्डे, तित्याङ लगायतका स्थान सुन्तला खेतीका लागि उर्वर छ । सिगानामा वार्षिक दुई करोड बढीको सुन्तला उत्पादन हुँदै आएको भए पनि मौसममा तिब्र प्रतिस्पर्धाका कारण सस्तो मूल्यमा किसानहरुले सुन्तला बिक्री गर्न परेको थियो । गण्डकी प्रदेश सरकारले २० टन क्षमताको विद्युतबाट चल्ने सुन्तला चिस्यान केन्द्र (कोल्ड रुम) निर्माण गरेपछि यहाँका अधिकांश कृषकले सुन्तला भण्डारण गर्न थालेका हुन् । अहिले आधुनिक भण्डारण गृहमा १० टन सुन्तला सुरक्षित राखिएको छ । परम्परागत भण्डारण गृहमा समेत चार टन सुन्तला भण्डारण गरिएको छ । अहिले भण्डारण गरिएको सुन्तला चैत्रमा दोब्बर मूल्य पर्ने सुन्तला किसान रामबहादुर खड्काले बताउनुभयो ।

“जसले एक वर्षमा रु.दुई लाख भन्दा बढीका सुन्तला उत्पादन गर्छ, उसले उत्पादन गरेको केही सुन्तला मौसममा बजार पठाउँछ,” खड्काले भन्नुभयो “बाँकी रहेको सुन्तला सहकारी मार्फत चिस्यान केन्द्रमा राखेर चैत, वैशाखमा बिक्री गर्ने लक्ष्य राखेका छौं, जसको मुल्य दोब्बर पर्दै आएको छ ।” मौसममा किसानको बोटबाटै सुन्तला व्यापारीले प्रति के.जी.६० देखि ८० रुपैयाँमा बिक्री गर्दै आएकोमा सुरक्षित भण्डारण गर्न सकेमा चैत वैशाखमा प्रति केजी २ सय मुल्य पर्ने भएकाले सिगानाका कृषक सुन्तला भण्डारण तर्फ आकर्षित देखिएका छन् ।

बागलुङ जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका कृषक टोप बहादुरले ८ रोपनी क्षेत्रमा व्यावसायिक सुन्तला खेती गर्दै आउनुभएको छ । उहाँले उत्पादन गरेका केही सुन्तला मौसमानै बिक्री गर्नुहुन्छ भने केही सुन्तला बगैँचा नजिकै निर्माण गरिएको भण्डारण गृहमा राखेर चैत बैशाखमा महङ्गो मूल्यमा बिक्री गर्दै आउनुभएको छ ।

तत्कालिन कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजना अन्र्तगतको व्यावसायिक सुन्तला उत्पादन संकलन तथा भण्डारण उप–आयोजना (प्याक्ट) कार्यक्रमले प्रदान गरेको १० लाख अनुदानमा २०७४ सालमा निर्माण गरिएको भण्डारण गृहमा अहिले सुन्तला भण्डारण गरिएको कृषक खड्काले बताउनुभयो । ‘अहिले सुन्तलाको बजार मूल्य १ सय रुपैयाँ प्रति केजी पर्दछ” खड्काले भन्नुभयो ‘दुई महिना पछि भण्डारण गृहमा राखिएको सुन्तलालाई २ सय रुपैयाँ प्रति केजीमा बिक्री वितरण गर्न सकिने हुदाँ यसको निकै महत्व छ ।’

यहाँका कृषकहरुले सुन्तलाको ग्रेडिङ समेत गर्दै आएका छन् । हामीले सुन्तलालाई तीन श्रेणीमा ग्रेडिङ गरिन्छ । पहिलो श्रेणीको सुन्तलाको बजार मुल्य निकै महङ्गो हुने चिस्यान केन्द्रमा सुन्तला भण्डारण गर्नुभएका शिव खड्काले बताउनुभयो । उहाँले ग्रेडिङ गरेको सुन्तला पोखराको बजारमा खपत हुँदै आएको बताउनुभयो । बेमौसममा सुन्तलाको मूल्य राम्रो पर्ने हुनाले भण्डारण गृहको महत्व बढेको सुन्तला कृषकहरुको भनाई छ । परम्परागत चिस्यान केन्द्रमा माटो, बालुवा तथा गिट्टीको समिश्रणमा ढुङ्गाको गाह्रोले निर्माण गरिएको हुन्छ भने आधुनिक चिस्यान केन्द्र विद्युतबाट सञ्चालन हुन्छ । दुवै प्रकारका भण्डारण गृहमा चार महिना सम्म सुन्तला सुरक्षित भण्डारण गर्न सकिने अर्का कृषक लोकबहादुर थापाले बताउनुभयो ।

काठेखोला गाउँपालिका–५ बिहुँमा गण्डकी प्रदेशको १२ लाख, संघीय सांसद कोषको १० लाख र काठेखोला गाउँपालिकाको १४ लाख गरी ३६ लाखको लागतमा केही महिनामा सुन्तला भण्डारण गृह निर्माण गरिने वडा अध्यक्ष युक्तप्रसाद कंडेलले बताउनुभयो । किम्बोटमा ३० टन क्षमताको सुन्तला चिस्यान केन्द्र निर्माण गर्ने र आगामी दिनमा सबै ब्लकमा सुन्तला भण्डारण गृह निर्माण गर्ने वडा कार्यालयको योजना छ । उक्त वडामा मात्रै सुन्तलाका १२ ब्लक रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *