स्थानीय नै नजाने मुस्ताङको अनौठो गुम्बा

एसके थकाली, जोमसोम

मुस्ताङ ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदामा धनी छ । उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्मका ५ वटै स्थानीय तहमा धार्मिक गुम्बा छन् । मुस्ताङमा दर्जनाैँ मठ, मन्दिर र गुम्बा छन् ।

पर्यटकीय गाउँ मार्फा नजिकै अनौठो गुम्बा छ, यसको नाम हो भीर गुम्बा । यो अग्लो पहाडको भीरालो खाेंचमा छ । मार्फा गाउँको पश्चिमतर्फ करिब १ सय मिटरमा यो गुम्बा छ । यहाँ स्थानीय पूजाआजा गर्न जादैनन् ।

यसको रोचक किंवदन्ती छ । मार्फा गुम्बामा कार्यरत लामा खेम्बो उग्रेन तेन्जिङ हिराचनका अनुसार मार्फा गाउँ नजिकै रहेको भीर गुम्बाको करिब ३ सय वर्षअघि बनाइएको हो ।

परापूर्व कालमा मार्फा गुम्बामा प्राकृतिक जटीबुटीबाट उपचार गर्ने १ वैद्य लामा बस्थे । त्यस बेला १ रानी मुस्ताङको तीर्थ गर्ने क्रममा सिकिस्त बिरामी परिन् । रानीका भारदारले उपचार गर्ने वैद्यको खोजी गर्दै जाँदा मार्फाका तिनै वैद्य लामा भएको स्थानमा रानीलाई पु¥याइयो ।

वैद्य लामाले प्राकृतिक जटिबुटीबाट रानीलाई निको तुल्याएपछि रानीले खुसी हुँदै केही सहयोग गर्ने वचन दिइन् । वैद्य लामाले रानीलाई गुम्बा निर्माण गरिदिन अनुरोध गरे । रानीले अग्लो पहाडको भिरालो सतहमा ध्यान बस्ने गुम्बा स्थापना गरिएको लामा खेम्बो हिराचन बताउँछन् ।

यो गुम्बामा विशेषगरी क्षमा पूजा हुने गर्छ । भीर गुम्बामा महाकाल भन्ने धर्मरक्षक देवता रहेकाले विभिन्न रोगबाट ग्रसित बिरामी उपचारबाट निको नभएमा यहाँ पुगेर धर्मरक्षकलाई क्षमा पूजा गरे निको हुने जनविश्वास छ ।

यो गुम्बा वैद्यको मृत्युपछि व्यक्तिको स्वामित्वमा छ । गुम्बाका धनीहरु समेत समयक्रमसँगै मुस्ताङबाट बसाइ सरेका छन् । संरक्षण नहुँदा जीर्ण बन्दै गएको गुम्बा पछिल्लो समय मार्फाको समुदायलाई हस्तान्तरण गरिएको छ । गुम्बा गाउँलेलाई हस्तान्तरण गरिए पनि यसको रेखदेख मार्फा गुम्बाले गर्दै आएको छ ।

घरपझोङ २ मार्फाका वडा सदस्य लालप्रसाद हिराचनले भीर गुम्बामा अवतारी लामा बस्ने गरेको सुनाए । उनले भीर गुम्बामा गोन्पो भन्ने देवता रहेको र उनी तल हिड्दा पाइलामाथि हुने, रातको समय साङ्लो तानेर डुल्ने र चाहेको अवस्थामा मौसम परिवर्तन गर्न सक्ने शक्ति रहेको सुनाए । स्थानीयसमेत रहेका वडा सदस्य हिराचनले पुरानो कथा अपत्यारिलो र रोचक भएको उल्लेख गरे ।

करिब ३ सय वर्ष पुरानो मानिएको यो गुम्बामा गोन्पो मनिङ (धर्म रक्षक), गुरु रिन्पोर्छे (पद्यम सम्भव ), पाप शुद्धि गर्ने धोर्जे सम्प (बज्र किला), आयु देवता (छेपामे, महायोगी मिला रेपा लगायत) का मूर्ति छन् । गुम्बाभित्र ३ कोठा छन् ।

पहिलो कोठामा गुम्बा छ भने अरु २ कोठामा बत्ती बाल्ने र खाना पकाउने ठाउँ छन् । त्यहाँ पुग्ने बाटो, गुम्बाको पुनर्निर्माण र यसको उचित प्रचारप्रसारका लागि आवश्यक पहल नहुँदा भीर गुम्बा ओझेलमा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *