आञ्चलिक सदरमुकाम, परिवर्तित व्यवस्था र चूनौति

सम्पादकीय
बागलुङ बजार साविक धौलागिरी अञ्चल सदरमुकाम । चार जिल्ला बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङको संगम स्थल । सेवा र अवसरको केन्द्र । तर, पछिल्लो नयाँ संघीय अभ्यास सँगै अञ्चल रहेन । गाउँ–गाउँमा सिहंदरबारको उद्घोष सहित सेवा र अवसर विकेन्द्रित भए । देशभर तीन तहको सरकार बन्यो । आञ्चलिक सदरमुकामको लामो समय सुविधा भोग गरेको बागलुङ बजार एकाएक सुनसान बन्ने संशय पैदा भयो । बजारमा व्यापार व्यवसाय गर्न झरेकाहरु आआफ्ना गाउँपालिका र नगरपालिकाको केन्द्रमा व्यापार व्यवसाय गर्न फर्किन थाले । संघीय अभ्यासले रित्तिदै गरेको गाउँले ठुलो राहत महुशुस भयो । गाउँघरमा सरकारी सेवा, अवसर र विकासको उभार आयो ।

संघीय अभ्यास सँगै बागलुङ बजारले आफ्नो पुरानो व्यवसाय र शासनको दबदबा गुमाउन पुग्यो । यसबीचमा बजारबासीले यहाँको नयाँ थप सम्भावना र अवसर खोज्नुपथ्र्यो । तर, त्यो पाटोमा खासै पहल काम हुन सकेको देखिदैन । अहिले गाउँ गाउँमा पुगेको मोटरबाटो र विकासले दुरदराजका भनिएका गाउँघरबाट पनि विहान जिल्ला सदरमुकाम आएर साँझ घर फर्किने अवस्था बनेको छ । पहिले ३,४ दिन पैदल हिँडेर, हजारौ खर्च गरेर सेवा लिनु पर्ने बाध्यता अन्त्य भएको छ । जिल्लाको दक्षिण क्षेत्रलाई पर्वत जिल्लाको कुश्मा बजारले झोलुंगे पुल मार्फत सिधा र सहज पहुँच पुग्ने बातावरण पैदा ग¥यो । अझ थप मोटरवेल पुल र अवसर मार्फत जोड्न अनवरत प्रयत्न र सम्भावनामा कुश्मा बजार तल्लिन छ । जिल्लाको पश्चिम बुर्तिबाङ बजार होस् या खरबाङ बजार या गलकोट बजार । यि बजार पनि बागलुङ बजारसँग विस्तारै विकर्षण हुने चरणमा छ । र उसले सेवा र अवसरका लागि सिधा बुटवलसँग आफ्नो सम्पर्क र पहुँच स्थापित गर्ने अभ्यासमा छ ।

बागलुङ बजार सँग जिल्ला सदरमुकाम हुनुको परिचय र पहिचान त बाँकी छ । तर, ठुला अवसर र सम्भावनाहरु भने यहाँ क्षिण बन्दै गएको प्रतित हुन्छ । व्यापार व्यवसाय गरिरहेकाहरु अहिले त्यति धेरै उत्साहित छैनन् । वर्षौदेखि व्यापार व्यवसाय गरेर स्थापित भएकाहरु समेत यहाँको बजारको भविष्यका बारेमा कुरा गर्दा अनुहार उज्यालो बनाउँदैनन् । चौतर्फी निराशा व्यक्त हुन थालेको छ । यही अनुक्रममा विश्वव्यापी कोरोना महामारीले अझ थिलथिलो बनाएको छ । बागलुङ बजारको भविष्य माथि अनेक संशय र चूनौति थपिरहँदा पनि यहाँका जिम्मेवार व्यक्ति, नागरिक अगुवा, अभियन्ताहरु भने चुपचाप जस्ता देखिन्छन् । बजारको नयाँ सम्भावना र अवसरका बारेमा यथेष्ट बहस, योजना हुन सकेको देखिन्न । समयमै बागलुङ बजारलाई भोलीका दिनमा पनि थप चहल पहल सहित चलायमान बनाउनका लागि नयाँ सोच, अवसर र सम्भावनाका बारेमा केन्द्रित हुन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *