बोबाङ फ्लो-अपः ७ महिना भूईंमै पढाई,हिमपातपछि कसरी पढ्लान् ?

–मुकदर्शक छन् तीन तहकै सरकार

दिल शिरीष, बागलुङ


कठ्यांग्रिने जाडो त्यसै थियो । त्यसमा शनिवार ढोरपाटन क्षेत्रमा परेको हिमपातले अझ सकस थपिएको छ । खोला छेउको खुल्ला चौर दुरका बालबालिकाको विद्यालय भवन । खुल्ला आकाश विद्यालयको छानो । बस्ने बेञ्च छैन, चिसो भूई उनीहरुको बेञ्च डेस्क । जिल्लाको दुर ढोरपाटनको जनचेतना प्राथमिक विद्यालय गत असार १७ मा आएको भीषण बाढीले बगर बनाए यताको यो दृश्य निकै कहाली लाग्दो छ । अब हिमपात भए पछि ओत लाग्ने समेत ठाउँ नभए पछि विद्यालय बन्द गर्नुको विकल्प देखिन्न । ढोरपाटन ९ सुप्राङ स्थित यस विद्यालयको बालकक्षा सहित ४ कोठे भवन सहित खेल मैदान, धारो र शौचालय सबै बगाएको थियो ।

खोलाको तिरमा चिसो हावा चलिरहन्छ, मुटु कपाउँछ जाडोले । तर, यस विद्यालयमा अध्ययनरत १ सय ५० जना बालबालिकाको दैनिकी नयाँ शैक्षिक सत्र सुरु भए देखि यही कठिन नियतीमा चलिरहेको छ । उसो त यस क्षेत्रमा बाढीले ठुलो मानवीय तथा भौतिक क्षति पु¥याए पछि हेलिकप्टरबाटै गृहमन्त्री रामबहादुर थापा बादल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङदेखि सांसद, जनप्रतिनिधि र बिपक्षी दलका नेता समेत नआएका होइनन् । ७ महिना सम्म विद्यालय भूईमै बस्नुपर्ने विवशतामा स्थानीय आक्रोशित मुद्रामा भन्छन्, ‘सरकार, मन्त्री, सांसद, जनप्रतिनिधिको काम यहाँ आएर हाम्रो कहालीलाग्दो अवस्था हेर्ने मात्र रहेछ, केही गर्ने होइन ।’

भूईमा लटपटिएर धुलोले नचिनिने भएका कक्षा ३ मा अध्ययनरत हिमाल बिक चौरमा पढ्दा निकै गाह्रो भएको अनुभव सुनाउनुहुन्छ । ‘पढ्ने ठाउँ धुलैधुलो छ, हावा चल्यो भने सबै धुलो आँखा मुख भित्र पस्छ, हामी त बिरामी भइराख्छौ,’ बिक भन्नुहुन्छ, ‘जाडो र धुलोले खासै स्कुल आउन मन पनि लाग्दैन, नआउँदा सर मिसले गाली गर्नुहुन्छ, त्यही भएर मन नलागी नलागी भए पनि आउने गरेका छौ ।’ जाडोयाममा खुल्ला धुलाम्य चौरमा पढ्नु र पढाउने बाध्यताले शिक्षक र विद्यार्थीहरु बिरामी पर्ने गरेका छन् ।

बाढी गएको यतिका समय सम्म पनि तलदेखि माथि सम्मको कुनै पनि सरकारले आफ्ना बालबच्चा धुलोमा बसेर पढ्नुपर्ने बाध्यतामा अस्थायी व्यवस्थापनमा समेत मुकदर्शक बनेको स्थानीय अभिभावक गोविन्द पुनले गुनासो गर्नुभयो । ‘विद्यालयको यस्तो हालत हुँदा पनि कुनै पनि निकायले गम्भीरताका साथ लिएन, सरकार र सम्बन्धित निकायले चासो दिएको भए अहिले सम्म विद्यालय भवन बनिसक्थ्यो,’ पुनले भन्नुभयोे, ‘सबै एकै ठाउँको चौरमा राखेर पढाइएको छ, चिसो र धुलोले बालबालिकाको ध्यान पढाईमा एकाग्र बनाउने अवस्था नै छैन, आएका जति सबैलाई व्यथा सुनायौ, हाम्रो अरु पहुँच छैन ।’

बिद्यालय बगर बनेपछि विद्यालय प्रशासन र स्थानीयले तत्कालका लागि अस्थायी कक्ष बनाउने नसोचेका पनि होइन् । तर, सरकार र तीनका प्रतिनिधि, नेताहरुले छिट्टै निर्माण हुने आश्वासनले झुक्याएका कारण बालबालिकाले चिसो मौसममा सास्ती पाउनु परेको स्थानीय बताउँछन् । ‘मन्त्री नेताहरु त जे पनि बोल्दा रहेछन्, तत्काल हुन्छ,ढुक्क हुनुस् भएर गएका, अहिले सम्म रमिता हेरेरै बसिरहेका छन्, साना बालबच्चाले धेरै दुःख पाए,’ अभिभावक पुनले भन्नुभयो ।

विद्यालयको समस्या लिएर ढोरपाटन नगरपालिका पुगेका जनचेतना प्राथमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर घर्ति उल्टै अपमान भोेगेर फर्किनु परेको गुनासो गर्नुहुन्छ । बाढीले स्कुलमा बस्ने, लेख्ने, पढाउने सबै बगाए पछि ह्वाइट बोर्ड, घण्टी, अस्थायी शौचालयका लागि माग लिएर कार्यालय पुगेको थिए,’ प्रअ घर्तिले भन्नुभयो, ‘हाकिमले उल्टै तपाई मास्टर की ठेकेदार भनेर जवाफ लगाए, त्यसपछि फर्केर पनि गएको छैन ।’ यसका विषयमा निवर्तमान संघीय सांसद देवेन्द्र पौडेल र गण्डकी प्रदेश सांसद खिमबिक्रम शाहीको पटक पटक ध्यानाकर्षण गराए पनि केही नगरेको विद्यालयको गुनासो छ ।

अहिले विद्यालयमा दुई कोठे भवन निर्माणका लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले काम सुरु गरेको छ । पुर्नर्निमाणबाट ट्रसको भवन निर्माणका लागि २३ लाख ९० हजार बजेट विनियोजन भएको छ भने ढोरपाटन नगरपालिकाबाट शौचालय निर्माणका लागि ७ लाख बजेट परेको छ । भवन निर्माणमा विद्यालयको आफ्नै जग्गा नभए पछि स्थानीय युवाको पहलमा सुप्राङमा ३० लाख रुपैयाँमा तीन रोपनी जग्गा खरिद गरिएको छ । ‘प्राधिकरण र पालिकाबाट ढिला गरी प्राप्त यो बजेट प्रयाप्त छैन, अहिले दुई निर्माण हुने दुई कोठे भवनलाई काठले बारेर चार वटा बनाएर पढाउने सोच छ,’ प्रअ घर्तिले भन्नुभयो, ‘पछि तला थप्ने योजनाका साथ काम अघि बढाएका छौ, यसका लागि बजेट आउने सुनिश्चितता भने छैन ।’ भवन सकिन अझै २/३ महिना लाग्ने भएकाले चिसो भूईमै राखेर पढाउनु पर्ने बाध्यता रहेको उहाँको भनाई छ ।

ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले विद्यार्थी खुल्ला चौर र भुईमा राखेर पढाएको बारे अनविज्ञता प्रकट गर्नुभयो । ‘बाढीले विद्यालय बगाए पछि पढाउन समस्या भएको हामी सबैलाई अवगत छ, त्यसमा भवनका लागि प्राधिकरण र शौचालयका लागि हामीले बजेट छुट्याएर काम भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘भवन निर्माण हुञ्जेल सम्मका लागि यथोचित व्यवस्थापन गरेर पढाउन भनेका थियौ, विद्यालय प्रशासन र व्यवस्थापनले हामीले गरिरहेका छौ भनेर भन्नुभएको थियो ।’ चिसो भूईमै पढ्ने अवस्थाका बारेमा सम्बन्धित विद्यालयसँग बुझेर थप प्रतिक्रिया दिने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो ।

यस विद्यालयमा बाल कक्षादेखि ३ कक्षासम्म पढाई हुन्छ । हाल १ सय ५० विद्यार्थी यहाँ अध्ययनरत छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *