राम सुवेदी
समय हरप्रहर जन्मन्छ, मर्दैन । समय अनुकुल समाज बन्छ, बदलिन्छ । सन्दर्भहरु बदिलिरहन्छन् अर्थात् जन्मदै, मर्दै गर्दछन् । यो समय,समाज र सन्दर्भ कसले कसरी बुुझ्ने, ग्रहण गर्ने र व्यवहारमा कार्यान्वयन गर्ने गराउने भन्ने बीचमा हाम्रा मतहरु भिन्न–भिन्न छन् । फरक मान्यता, सोंच, चिन्तनलाई रुपान्तरण गर्ने चक्र समय भनेका छौं । ति सबै कुराको सामाजिकिकरण गर्ने दस्तावेज, मानसिकता र चरणलाई सामाजिक दृष्टिले हेरेका छौं । त्यही समय र समाजलाई गतिशील बनाउने व्यवहार त्यस समयको सान्र्दभिक योजना हुनेछ । त्यस योजनाको कार्यान्वयन आजको सन्दर्भ बन्न सक्छ । समयकाल अनुसारको समाज निर्माण भयो वा भएन ? कस्तो समाजको निर्माण गर्न यो सन्दर्भले समय चिन्यो चिनेन ? चर्चा, एक समय, एउटा समाज वा एक्लो सन्दर्भको होइन । सिंगो सामाजिक चरित्र जसरी निर्माण भएको छ । त्यसबाट आजको पुस्ताले कसरी बुुझ्ने भन्ने हुनुपर्दछ ।
आजको पुस्ताले के बुुझ्ने
समय बदलिरहने प्रक्रिया हो । समयानुकुल समाजको बदलाव भयो भएन ? आजको पुस्ताले जान्न, बुुझ्न र ग्रहण गर्न सक्नुपर्दछ । नयाँ पुस्ताले समाज बुुझ्न खोजेन वा पुराना पुस्ताबाट समाज हस्तान्तरण भएन भने आजको सन्दर्भले समाज कतातिर जान्छ होला ? आजको पुस्ताले समाजबाट के ग्रहण गर्ने भन्ने प्रश्न छ । दशकौं नसुध्रिएको राजनीति, राजनीति बेथितिको ग्रन्थ जस्तो बनेको छ । के यो चरित्रहिन, चाकडी बाजहरुको पेशा व्यवसाय हो ? होइन भने नयाँ पुस्तालाई विधि, थिति र नीति कस्ले सिकाएर हस्तान्तरण गर्ने ? यसको सही समयमा, सन्दर्भकालका घटना समायोजन हुने गरि पुस्ता हस्तान्तरण गरिएन भने विकृतिहरु मात्र नयाँ पुस्तामा सर्नेछ । जसले समय बदलिए पनि समाज बदल्ने सन्दर्भको हस्तान्तरण हुने छैन ।
नयाँ पुस्ताले बुुझ्ने राजनीति के हो ?
आज व्यवस्था कस्तो छ ? व्यवस्थापक को–को छन् र के–के गरिरहेका छन् ? नयाँ पुस्ताले आजको समयबाट, समाजबाट र यो सन्दर्भमा जो प्रचलन छ । राजनीतिमा नयाँ पुस्ता प्रवेश गर्दा यसले के सिक्ला भन्दा एक अर्कालाई गालीगलौज गर्ने, आफुु इतरको चरित्र हत्या गर्ने, गलत कुरा सही बनाउन जिद्धि गर्ने, आफ्नो स्वार्थमा राजनीति पेशा बनाउने । अब यत्ति कुराले नयाँ पुस्ता कता जान्छ ? के उसले अब राजनीति गर्छ ? गरिहाल्यो भने के अनुसारको समाज बनाउन यो पुस्ताको अग्रसरता कहाँ हुन्छ ?
समाज बदल्छ कसले ?
हाम्रो पुस्ता केही सजग र सचेत छ । संयम पनि छ । तर, यही पुस्तालाई आजको राजनीतिले भ्रष्टिकरण तर्फ लग्यो भने हुुन्छ के ? सार्वजनिक पद, ओहोदा र स्थानमा बसेकाहरु देश र जनताको हितमा कति सही सत्य काम गर्छन् भन्ने भित्री खोज गर्नु पर्दैन । उनीहरुका मुखबाट एक अर्कातिर फर्केर आज बोलिरहेका छन् । राजनीति कसले गरेका रहेछन् ? कस्ता–कस्ता पात्र र प्रवृत्ति हावी हुँदो रहेछ ? र उनीहरु सत्तामा पुुगेर के–के गरे भन्ने कुरा घोत्लिरहने विषय छैन । यो सचेतता समय सन्दर्भ अनुसार यो देशमा नयाँ व्यवस्था गणतन्त्र जिन्दाबाद भनेर उफ्रनेहरुका लागि मात्र होइन । मन नपरेर वा समूह नमिलेर मुर्दावाद भन्नेहरुका लागि पनि जगजाहेर छ । यहाँ समाज बदल्ने होइन, बदल्ने भन्ने नारा लगाउने पात्रहरु फेरबदल गर्न त्यसो गरिएको हुन्छ । एक थान प्रश्नले गरेको प्रश्नका लागि नयाँ पुस्ताले अब राजनैतिक प्रश्न किन गरौं ?
सन्दर्भ कसका लागि
आजको राजनैतिक सन्दर्भ दुुई धारमा छ । हिजो सत्ताका लागि मिलेकाहरु मिलेनन् । दुुई धुव्र हुनै प¥यो । नयाँ कुरा होइन । यहाँ यो देशका दुःखी गरिब असहाय, भोका, नाँगा, निमुखा जनतालाई सेवा दिन नसकेको व्यवस्था विरुद्धको आन्दोलन होइन । पक्षधरताको हितकारी हुँदै व्यवस्थाबाट स्वार्थ पुरा गर्नेहरुको भिडभाड हो । जनता जोकर, मानसिकता र चिन्तनबाट नसुध्रिएका नोकरशाही प्रवृत्तिका बेरोजगारहरुबाट उत्पन्न हुलहुज्जतले सन्दर्भ फेर्दैन ।
हिजो जसले व्यवस्था परिवर्तन गर्दा जीवन गुमाउनु पर्यो, जसले मातृभूमिका लागि जानेर या नजानेर बलिदानी दिए । अझै समाजमा त्यस आन्दोलनका घाइते, अपांगहरुको दुखान्त अवस्था उस्तै छन् । उनीहरुको जीवन परिवर्तनको सन्दर्भ होइन । सायद यस्ता प्रश्नहरुको हल गर्ने राज्य व्यवस्थापकहरु कायम नहुन्जेल सम्म उनीहरुको मुहार फेरिदैन । स्वार्थका बेला उनीहरुको मानसिकतामा छुद्रताको विष फैलााएर घोचपेच गर्छन् । अर्थपूर्ण राज्य व्यवस्था बन्न अहिलेको जस्तो फोहोरी राजनैतिक संस्कारले समाज बदलिदैन भन्ने जान्न जरुरी छ । चुनावका बेला हातमा नयाँ नोट र नशामा ओठ पुगेकै भरमा चुनिएका र चुनिनेहरुले सधै आफूलाई मात्र बदल्छन् । देश र जनताको जीवन स्तर र अवस्था बदल्दैनन् । कसका मान्छे कति भनेर मान्छेको भिड बेच्ने संस्कारको पछि पछि कुँद्नेहरुले जबसम्म मानसिकता परिवर्तन गर्दैनन्, तबसम्म जे जस्तो सुकै व्यवस्था भनिए पनि यही भिडले समाज फेर्दैन । यस्ता जनमानसका प्रश्नहरुले जनताको मन सधै कुँडाइ रहनेछ ।
समयले समाज नचिनेको जस्तो सन्दर्भ हामी भोग्दैछौं । जनमतको अपमान हुँदाहुँदै पनि भिडको गोठानो हाम्रो आजको समयको मानसिकता रहेछ । सन्दर्भहरु थाहा नभएका र त्यसको सूचना पहुँचबाट उछितो रहेको कोही छैन र पनि बैमानीको साँक्षी बस्ने हिम्मत नयाँ पुस्तामा सरेको देखिन्छ । लाग्छ, जीनको प्रभावले कहिलेकाही त्यस्तो संकेत गर्छ । परिवर्तित समयले पर्खेको पक्कै होइन तर यस्तै लाग्ने दिनहरु र उस्तै ठानिएका रातहरुबाट झुक्किएर उमेर काट्ने बानी, यो समाजलाई गज्जबले परेको छ । त्यही सन्दर्भको दोष हाम्रो पुुस्ताको बनेको छ । उमेर रहुञ्जेल, भिडको गोठालो, अल्लि छिप्पिए पछि विदेशी गोठालो, सक्किए पछि पुगिसरि भो, समाजले गति लिएन, सतिले सरापेको देश, केही नहुने नभएको ठाउँ यस्तै अनेकन परिभाषा पोख्यो, बस्यो । त्यस्तो पनि त समाज होइन होला ? समयले सधै त्यस्तै अवस्थामा राख्दैन र सन्दर्भहरु सधै एकनाश हुँदैन । विविधतामा विश्वास राखौं । सचेत पुस्तामा समय पुुग्छ, समाज फेर्ने जिम्मेवारी आउँछ र नयाँ सन्दर्भको जन्म हुनेछ ।