बैतडी घटनाका दोषीलाई कारबाही गर्न अनेमसंघको माग

आदर्श अनलाइन, बागलुङ

अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) बागलुङले बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागीरथी भट्टको बलात्कार र हत्याको घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

आज प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमक्ष ज्ञापनपत्र बुझाउँदै अनेमसङ्घले घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेको हो । उक्त घटनाका दोषीलाई कारबाही तथा पीडित पक्षलाई न्याय र क्षतिपूर्ति दिलाउन खबरदारी गरिएको अनेमसङ्घकी जिल्ला अध्यक्ष कुशुम बुढाले बताउनुभयो ।

अनेमसङ्घकी केन्द्रीय सदस्यसमेत रहनुभएकी बुढासहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य बलावती शर्मा, प्रदेश कमिटि सदस्य गीता शर्मालगायतको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी सरेश न्यौपानेलाई ज्ञापनपत्र हस्तान्तरण गरिएको थियो । ज्ञापनपत्र बुझ्दै प्रजिअ न्यौपानले त्यसलाई यथाशक्य छिटो सम्बन्धित ठाउँमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यही माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा बलात्कार गरी हत्या गरिएको अवस्थामा स्थानीय सामुदायिक वनमा भट्टको शव फेला परेको थियो । घटना लगत्तै प्रहरीले छानविन शुरु गरेको जनाइएको छ । सोही ज्ञापनपत्रमार्फत अनेमसङ्घले प्रतिनिधि सभा विघटन विरुद्धको शान्तिपूर्ण आन्दोलनमा महिलाहरुमाथि प्रहरीले गरेको ज्यादतीप्रति विरोध जनाएको छ ।

ज्ञापनपत्रमा संविधानको रक्षार्थ र असंवैधानिक कदमका विरुद्ध जस्तोसुकै सङ्घर्ष गर्न महिलाहरु सक्षम रहेको उल्लेख छ । प्रतिनिधिसभा विघटन संविधान विपरीत रहेको भन्दै त्यसलाई सच्चाउनुपर्ने माग अनेमसङ्घको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *