ढोरका विद्यार्थीलाई भूईंमा पढ्ने बाध्यता हटाउ

सम्पादकीय
बागलुङ जिल्लाको पश्चिम ढोरपाटनले गत असारमा ठुलो मानवीय तथा भौतिक क्षती बेहोर्ने प¥यो । ठूलो नदी, खोला नभए पनि अनपेक्षित र अकल्पनीय रुपमा प्राकृतिक प्रकोपको घटना भयो । जसमा २२ जनाले अकालमै ज्यान गुमाए भने १५ जना अझै बेपत्ता छन् । यस विपदमा कति परिवार पुरै उजाड बनेको छ भने कति परिवारका बालबालिका अभिभावक विहिन बनेका छन् । यस क्षेत्रका दर्जनौ व्यक्तिका घर मात्र होइन, स्कुल स्वास्थ्य चौकी पनि बगर बनायो । बाढीको विपद आएको सात महिना बितिसक्दा समेत क्षतिग्रस्त विद्यालय भवन र घर पुर्ननिर्माण हुन सकेको छैन ।

बाढी पीडितका नाममा घरबार बिहिन भएका परिवारलाई घर निर्माण गर्न र सामूदायिक विद्यालय लगायतका भौतिक संरचना निर्माण गर्न देश विदेशबाट ठूलो मात्रामा सहयोग प्राप्त भयो । अहिले करोडौ रकम ढोरपाटन नगरपालिकाको खातामा जम्मा भएको छ । तर, विपद्को महिनौ समय बित्दा पनि व्यक्तिगत घरहरु पुर्ननिर्माणमा मात्र होइन, बाढीले बगर बनाएको विद्यालयको पुर्ननिर्माण र यसबीचमा अस्थायी व्यवस्थापनमा तीन तहकै सरकारको ध्यान गएको छैन । ढोरपाटन ९ सुप्राङ स्थित जनचेतना प्राथमिक विद्यालय गत असार १७ मा आएको बाढीले बगर बन्यो । विद्यालयको बालकक्षा सहित ४ कोठे भवन सहित खेल मैदान, धारो र शौचालय सबै बगाएको थियो । देशभरमै अधिक क्षति भए पछि हेलिकप्टरबाटै गृहमन्त्री रामबहादुर थापा बादल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङदेखि सांसद, जनप्रतिनिधि र बिपक्षी दलका नेता समेत आएर अनेक आश्वास दिए पनि । तर, बाढी गएको ७ महिना बितिसक्दा पनि जनचेतना प्राथमिक विद्यालयका कक्षा १ देखि ३ सम्मका १ सय ५० बालबालिका भूईमै बसेर पढिरहेका छन् ।

देशमा तीन तहको सरकार भएको बेला पुस माघको यति चिसो मौसममा भूईंमै बसेर पढिरहनु पर्ने विवशता स्वयंम् सरकारकै लागि लज्जाको विषय हो । हो, सरकारले तत्काल गर्न सकेन, सम्भव थिएन । भूकम्प पुर्ननिर्माण प्राधिकरणले अहिले दुई कोठे ट्रष्ट त निर्माण गर्दैछ । यो पुरा हुन अझै दुई तीन महिना लाग्ने निश्चिछ । तर, यतिका समय विद्यालय भवन पुर्ननिर्माणमा लाग्ने आँकलन थियो भने किन बाढी प्रभावित क्षेत्र, त्यसमा पनि विद्यालय सञ्चालन र सुविधाका लागि अस्थायी संरचना तयार गर्नमा बेवास्ता गरियो ? साना गरिब विपन्न परिवारका बालबालिका पढ्ने स्कुलमा किन सरकार र सरोकारवालाको संवेदनशीलता देखिएन ? अझै पनि यहाँका बालबालिकाले कहिले सम्म चिसो भूईमै बसेर पढ्नुपर्ने ? यसमा अब स्थायी संरचना नबन्दा सम्म अस्थायी भए पनि यथोचित रुपमा व्यवस्थापन गरेर पढाइयोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *