खेमराज गौतम
कोरोना भाइरसको संक्रमण विश्वव्यापी महामारीको रुपमा फैलिसकेको थियो । नेपालमा कोराना भित्रिनेमा ठुलो संशय पैदा भइरहेको थियो । त्यही अनुक्रममै नेपालमा त्यसको प्रभाव चैत्र पहिलो साताबाटै सुरु भयो । नेपाल हुँदै गण्डकी प्रदेश बागलुङ जिल्लाको व्यस्त सडकमा विस्तारै चहल पहल कम हुँदै गयो । हात मिलाउनेहरु विस्तारै भेटघाटमा नमस्कार गर्ने परिपाटी बस्न थाल्यो । साविक धौलागिरी अञ्चलको सदरमुकाम बागलुङ बजार सरकारले गरेको बन्दाबन्दीकै क्रममा सुनसान भयो । सबै बजारबासी गाउँ फर्कन थाले ।
सुरुमा सहरमा मास्क, सेनिटाइजरमा भएको कालोबजारी र सर्वसाधारणमा देखिएको त्रासमा केन्द्रित थिए । कोभिड–१९ को संक्रमण रोक्न भइरहेका प्रयास र जोखिमबारे विभिन्न निकायसँग कुराकानी र रखबारी गर्दै आए । चैत पहिलो साता सबैतिर सावधानी सुरु भयो । हामीले सक्दो सचेतता अपनाएर रिर्पोटिङको काम गर्न थाल्यौं ।
सरकारले चैत ११ बाट लकडाउन घोषणा गर्नुअघि नै गण्डकी प्रदेशका शहरी क्षेत्रका बजार सुनसान भइसकेका थिए । गाडी पातलिएका थिए । फिल्डमा गएर काम गर्ने जोखिम थियो । जोखिमपूर्ण अवस्थामा रिपोर्टिङलाई निरन्तरता दिइरहेको थिए । त्यसपछि मेरो ध्यान कोरोनाले असर गर्न सक्ने उद्योग, कृषि, व्यापार, सरकारी कार्यालयमा थियो । लकडाउन पछि जनजीवन ठप्प भयो । स्थानीय र प्रदेश सरकारले कोरोना रोकथाम र नियन्त्रणका गतिविधि सुरु गरिसकेका थिए ।
भूकम्पको महामारीमा धनी गरिब सडकमै आए जस्तै बन्दाबन्दीले समेत सबैलाई असर गर्न थाल्यो । जनजीवन प्रभावित बन्न थाल्यो । नेपाली पत्रकारिता क्षेत्रमा नयाँ शब्द प्रयोगमा आउन थाले–लकडाउन, सटडाउन, बन्दाबन्दी, सेनिटाइजर, आइसोलेसन, क्वारेन्टिन, स्वाब, आरडिटि लगायत । बागलुङमा चैत्र दोस्रो साता नेपालमै पाँच कोरोना संक्रमित पुष्टी भएसंगै बागलुङ एकाएक नेपालभर चर्चामा आएको थियो । राजधानी बाहिर कोरोना पुष्टीको घटना पहिलो थियो ।
बागलुङमा दुई दर्जन पत्रकार सदरमुकाममा क्रियाशिल छन् । जसमध्ये अधिकांश पत्रकार युद्ध र आन्दोलन रिर्पोटिङको अनुभव विहिन थिए । तर, महामारीको रिपोर्टिङ भने सबै पत्रकारलाई नौलो थियो । विभिन्न देशमा कोरोनाका कारण लाखौं मानिसले ज्यान गुमाएको सन्दर्भमा त्रासपूर्ण अवस्था पत्रकारहरुलाई नहुने कुरै भएन । बागलुङका अनलाइन बाहेकका मिडियाहरु बन्द भए ।
पत्रकारले केन्द्रीय मिडिमा रिर्पाेटिङदेखि घरमै बसेर अनलाइन सञ्चालन गर्ने परिपाटी विकास भयो । काठमाण्डौंका ठूला मिडियाले समेत घरबाटै कार्य थाले । अनलाइन पत्रकारिताको महत्व निकै बढेर गयो भने कोरोना कहरमा जनतालाई सही सूचना सही समय दिनलाई नेपालका अनलाइनहरु सक्षम भए । कोरोना म कार्यरत संस्था धौलागिरी जागरण दैनिक,अग्रसर साप्ताहिक र आदर्श सञ्चार अनलाइनले अतिरिक्त समाचार समेत प्रकाशनमा ल्यायो । अनलाइनले उत्पादन गरेको समाचार निकै प्राथमिकताका साथै पाठकका लागि प्रभावकारी बन्यो ।
अझ भनौ, कोरोना नियन्त्रणमा पत्रकारिताको अझ ठूलो भूमिका भएको सबैले महशुस गर्दै आएका थिए । माक्स र सेनिटाइजरको प्रयोगको प्रचलन ह्वात्तै बढेर गयो । सुरुको बन्दाबन्दीमा म पनि जिल्ला सदरकमुकाबाट गाउँ फर्के । बागलुङ बजार पूर्ण रुपमा बन्द भए पछि दैनिक उपभोग्य वस्तुको अभाव भइरहेको थियो । जन्मथलो रहेको बागलुङ नगरपालिका–८ सिगाना १८ दिन बसाई गरे । जुन पत्रकारिता शुरु गरेको ८ वर्षमा सबै भन्दा बढी लामो बसाई थियो ।
तर गाउँमा रहँदा समेत आफ्नो कर्मबाट टाढा रहिएन । फोनबाटै कोरोनाको समाचार, स्वाब संकलन, संक्रमितको अवस्था देखि उनीहरुको अनुभव समेत जनताकोमा पु¥याउने काम गरिरहे । ल्यापटप र मोवाइल डाटाको भरमा १८ दिन रिर्पाेटिङ गरेसंगै पुनः जिल्ला सदरमुकाम आइयो । जिल्लामा बन्द भएका पत्रिकाहरु पुनः सुचारु हुन थाले तर प्रभावकारी रुपमा अनलाइन बढी चलेको पाइयो । त्यतिबेला जम्मा आधा दर्जन क्रियाशिल पत्रकारहरु मात्रै फिल्डमा थिए । अन्य पत्रकार कोठामै सिमित भएको अवस्थामा जोखिम मोलेरै भए पनि समाचार संकलनका लागि धौलागिरी अस्पताल धाउन थालियो । कोरोनामा समाचारको मुख्य स्रोत र स्थान धौलागिरी अस्पताल थियो । धौलागिरी अस्पताल जिल्लाका पत्रकारको मात्रै हैन, नेपालकै मिडियाको स्रोत थियो ।
राजधानी बाहिर पहिलो संक्रमितको उपचार गर्न तोकिएको अस्पताल थियो धौलागिरी अस्पताल । अस्पतालले वैशाख भित्रै देशकै पाँचौ संक्रमित बागलुङ नगरपालिका–४ कुँडेलेकी १८ वर्षीय युवती अंशु सापकोटा र बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया मनकुमारी पौडेलको निको भएको सन्देश दिन सफल रह्यो । उनीहरुले आत्मबलले कोराना जितेको अनुभव समेटिएका समाचार अनलाइन मार्फत नेपालका धेरै मिडियाले कभर गरे ।
अस्पतालको नाम समाचारकै कारण एकाएक चर्चामा आयो । चर्चा मात्रै भएन संघीय सरकार र प्रदेश सरकारले कोरोना अस्पतालका रुपमा अस्पताललाई विकास गर्ने भन्दै गण्डकी प्रदेश पछि आइसियू र भेन्टिलेटर सहितको सुविधा दिन समेत कोरोनाकै कारण सफल भयो । कोरोना नभएका भए अस्पतालमा अझै केही वर्ष आइसीयू सेवा हुने थिएन । अहिले अस्पतालमा तीन शैया आइसीयू र तीन भेन्टिलेटर छन् भने अस्पतालको आफ्नै अक्सिजन प्लान्ट रहेको छ ।
अस्पतालले कोरोना कहरमै मुहार फेरेको पाइयो । तर, अस्पतालमा आवश्यक स्वास्थ्यकर्मी र अनुभवी चिकित्सकको भने अभाव खड्किरहेको थियो । यसलाई निरन्तर समाचारका रुपमा प्रस्तुत गरियो भने स्वाब संकलन भएको १७ दिन सम्म क्वारेन्टिनमा निसास्सिएर बस्नु परेको पीडा र भारत लगायत तेस्रो मुलुकबाट उद्दार गरी आएकालाई स्थानीय तहले गरेको प्रशंसनीय कार्य र बेवास्ताका विषयका समाचारले समेत प्राथमिकता पाए । स्वास्थ्यकर्मीको अनुभव देखि पाँच दिन पैदल हिँडेर बागलुङ आएका मजदुरका पीडा समेत समाचार बने ।
असार पछि जनजीवन केही सहज बन्दै जान थाल्यो । कोरोनाले भन्दा मानिसलाई भोकले सताउन थाल्यो, कोरोना संन्त्रासका बीच मानिसहरु दिनचर्यामा लाग्न थालिसकेका थिए । गोजीमा सेनिटाइजर बोकेर कामकाजी हिँडिरहेका थिएँ । त्यही बेलादेखि कोरोना भाइरस संक्रमणको त्रास, यसबाट जोगिन सर्वसाधारणले अपनाइरहेको सावधानीबारे सुरुमै लेखिसकेको थिए । यसै सन्दर्भमा सबै भन्दा बढी समाचार बन्दाबन्दीले पर्यटन, शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, रेमिट्यान्स र कृषि क्षेत्रमा पारेको असरलाई महत्वपूर्ण रुपमा लेखन गरियो ।
अझ रोचक कुरा त कोरोनाले मानिसको जीवनमा आएको परिवर्तन र गाउँ फर्केर गरेको नविन व्यवसायको विषयमा लेखिएका दर्जन बढी समाचारले निकै प्राथमिकता पाएको छ । कोरोना कहरकै बीच केहीले गाउँमै पाडापाडी संरक्षण, बाख्रापालन, बाँझो जग्गामा खेती गर्न शुरु गरेको समाचार लेखियो । सुरुको अवस्थामा कोरोना संक्रमित, स्वाब संकलन, नयाँ रोगबाट त्रसितपूर्ण अवस्था र संक्रमितका अनुभवहरु लेख्दै आएको म विस्तारै त्यसको दीर्घकालिन असरका बारेमा लेख्दै जान थाले । नयाँ विषय र नयाँ शब्दावली भएका कारण कतै समाचार त्रुटीपूर्ण हुने हो की भन्ने चिन्ता लाग्थ्यो तर निरन्तर डाक्टरहरुसंग परामर्श गरी समाचार तयारी गरिन्थ्यो ।
बागलुङमा केही पत्रकारहरु फिल्ममै पुगेर कोरोना रिर्पाेटिङ गरे पनि केही डर र भयका कारण फोनबाटै समाचार संकलन गरे । फिल्डमा जाने पत्रकारहरुलाई साउनमा पीसीआर परीक्षण गर्ने अस्पताल तथा स्वास्थ्य कार्यालयले व्यवस्थापन मिलायो । पत्रकार महासंघ जिल्ला शाखाले म सहित पाँच जना सक्रिय पत्रकारहरुलाई पहिलो चरणमा जिल्लामा पहिलो पटक पीसीआर परीक्षण गराएको थियो । त्यो समयमा कसैलाई कोरोनाले छोएन ।
धौलागिरी अस्पतालमा पहिलो पटक कात्तिक १८ गते कोरोना संक्रमितको मृत्युले फेरी पत्रकारमा समेत सन्त्रास छायो । शव व्यवस्थापनका विषयमा जानकारी लिन अस्पताल देखि शव व्यवस्थापन स्थल निरयघाट सम्म कडा सुरक्षाका बीच पुगियो । शव व्यवस्थापनमा अन्य जिल्लामा अवरोध भएको घटना बाहिर आएपछि शव व्यवस्थापनमा बाक्लो सुरक्षाकर्मी खटाइएको थियो । शव व्यवस्थापनको तस्विर समेत आदर्श अनलाइनबाट धेरै मिडियामा आयो । अहिले बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगिसकेको छ ।
भदौं असोजबाट कोरोनालाई मानिसले वास्तै गर्न छोडिसकेका थिए । नेपालमा दैनिक पाँच सयको हाराहारीमा कोरोना संक्रमण भइरहेको हुन्थ्यो भने ५/७ जना मरेको समाचार आउथ्यो । कोरोना कहरमा मलाई घरबाट निकै दबाब थियो फिल्डमा नजानु भन्ने तर पत्रकारिताको कर्म र धर्म निभाउन म निरन्तर फिल्डमा खटिँदै आए । स्वास्थ्यमा समस्या हुँदा केही दिन परिवारबाट समेत अलग भएर समाचर संकलनमा गए । परिवारबाट मलाई बारम्बार भनिन्थ्यो–मृत्यु भन्दा ठूलो पत्रकारिता हैन, त्यसैले घरबाटै पत्रकारिता गरौं तर मेरो मनले मानेन म फिल्डमै पुगेर रिर्पोटिङ गर्न थाले । फिल्डै पुगेर तयार पारेको समाचार निकै प्रभावकारी र फरक र धेरैले चासोका साथ पढेको अनुभव समेत गर्न पाइयो भने पत्रकार जहाँ पनि जान्छ कोरोना सर्ला भन्ने जस्ता आरोप समेत खेप्दै आइयो ।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदा अपनाउँदै माघ ३ गते साँझबाट मेरो स्वास्थ्यमा एक्कासी समस्या आयो । त्यसै दिन विश्वकै लामो दाबी गरीएको बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुलको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सनाबाट उद्घाटन भएको थियो । दिनभर भिडभाडका बीच समाचार संकलन गरियो । साँझपख केही अप्ठ्यारो महशुुस भयो । भोलिपल्ट सामान्य ज्वरो आयो । तर, निरन्तर कलम चलाई राखे । माघ ४ गते साँझपख कोरोना सँग मिल्दो जुल्दो लक्षण देखिएका कारण स्वास्थ्य परीक्षण गर्न धौलागिरी अस्पताल पुगे । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले कोरोना परीक्षण गर्न भने पछि त्यही दिन स्वाब दिएर घरमा आए ।
घरमा आए पछि लगातार टाउको दुख्ने, स्वाद नपाइने, स्वास फेर्न गाह्रो हुने तथा ज्वरो आउने समस्याले ग्रस्त बनायो । चार दिन सम्म निरन्तर आएको ज्वरो पाँचौ दिनबाट केही कम भयो । माघ ८ गते कोरोना संक्रमण भएको जानकारी पाए । म माघ ३ गतेबाट परिवारसंगबाट अलग्गै बस्दै आएको थिए । यसबा बाबजुद पनि जीवन संगिनीको समेत कोरोना परीक्षणमा पोजेटिभ रिपोर्ट आयो । होम आइसोलेसनबाटै दर्जन बढी खोजी समाचार लेखे । समय कटाउन निकै समस्या भएको होम आइसोलेसनमा समाचार लेखेर पठाउँदा केही सन्तुष्टि मिल्थ्यो ।
संक्रमणको समयमा चार दिन भने समाचार लेख्न सकिएन । होम आइसोलेसनमा बसिरहँदा मन निकै विचलित भए जस्तो आभाष भयो । कोठामै नियमित व्यायाम, तातोपानीको बाफ तथा झोलिलो खानेकुराले कोरोनालाई जित्न सफल भए । र पुनःफिल्ड रिपोर्टिङमै फर्के । होम आइसोलेसनमा बस्दा धेरै स्वास्थ्यकर्मीले फोन मार्फत सुझाव तथा सल्लाह समेत दिए । ज–जसले यसबीचमा मलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । स्वास्थ्य परामर्श, सुझाव, हौसला र आत्मबल दिनु भो । तपाई सबै प्रति म आभारी छु, अनुग्रहित छु । अब अझ अब्बल रुपमा पत्रकारिता गर्ने कबुल गर्दछु ।