ताराखोला गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ

जिल्लाको ताराखोला गाउँपालिकालाई प्रवासीले एम्बुलेन्स प्रदान गरेका छन् ।

गलकोट समाज जापानको आर्थिक सहयोगमा खरिद गरेको एम्बुलेन्स आइतबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

यसअघि गाउँपालिकाको आफ्नै एम्बुलेन्स थिएन । कोरोना महामारीमा गाउँपालिकाले बिग्रिएर थन्किएको एम्बुलेन्स लिएर मर्मत गरी चलाउदै आएको थियो । तर, उक्त एम्बुलेन्स कामयावी नभए पछि नयाँ एम्बुलेन्सका लागि गाउँपालिकाले पहल गरेको थियो ।

अध्ययन र रोजगारीको शिलशिलामा जापान पुगेर संगठित भएका गलकोटेहरुले गाउँपालिकामा एम्बुलेन्स सेवा नहुँदा समस्या भएको भन्दै ११ लाख रुपैयाँ जुटाएर पठाएका थिए । रकम पठाएको ६ महिनामा सरकारी प्रकृया मार्फत कर छुट गरि एम्बुलेन्स खरिद गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो । आइतबार गलकोट समाज जापानका पूर्व अध्यक्ष तथा संरक्षक नरबहादुर थापा, लेखा समिति संयोजक तेज चालिसे लगायतले ताराखोला गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।

गाउँपालिकामा नयाँ एम्बुलेन्स आए पछि बिरामी र घाइतेहरुको उपचार र उद्धारमा सहज हुने गाउँपालिका अध्यक्ष घर्तीको भनाई छ । “गाउँपालिकालाई कोरोना संकटमा निकै समस्या भयो, निर्वाचित भएर आएपछि एम्बुलेन्सको आवश्यकता देखेर विभिन्न सम्भावित क्षेत्रमा माग ग¥यौं” गाउँपालिकाका अध्यक्ष घर्र्तीले भन्नुभयो “कोरोना महामारीमा गलकोट समाज जापानले एम्बुलेन्स प्रदान गर्न सहयोग संकलन गरेको रहेछ, अहिले गाउँपालिकालाई एम्बुलेन्स हस्तानतरण भयो, अब तुरुन्तै सेवा दिन थाल्नेछौं ।” गाउँपालिकाले एम्बुलेन्स चालक समेत नियुक्ती गरीसकेको छ ।

एम्बुलेन्स सञ्चालन कार्यविधि निर्माण गरी सुत्केरी र गर्भवतीलाई निःशुल्क, अति बिपन्न परिवारलाई छुटमा एम्बुलेन्स सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य छ । गाउँपालिकाले एम्बुलेन्समा सुविधा थप गर्न झण्डै एक लाख खर्चने लक्ष्य राखेको छ ।

गाउँपालिकाले सहज रुपमा बिरामीलाई अस्पताल पु¥याउनका लागि एम्बुलेन्स सञ्चालनमा ल्याउन थालेको छ । गाउँपालिकाले संक्रमितलाई निःशुल्क बोक्दै आएको छ । अन्य बिरामीलाई सर्वसूलभ दरमा एम्बुलेन्स सेवा दिने गरि गाउँपालिकाले चालक व्यवस्थापन गरेको हो । भाडाको एम्बुलेन्स सञ्चालन गर्दा बढी खर्चिलो र झञ्झटिलो भएको भन्दै गाउँपालिका अध्यक्ष घर्तीले आफ्नै एम्बुलेन्स भएपछि गाउँपालिकाबासीलाई धेरै सहज हुने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *