कायत समुदायको गुनासोः पहिचानमा राज्यको बेवास्ता

आदर्श अनलाइन, बागलुङ

जातीय पहिचान, अधिकार र आरक्षणका सवाल नयाँ संविधान जारी गर्ने र त्यस पश्चात तिब्र भइरहे पनि नेपालका धेरै लोपोन्मुख जाती र समुदाय अझै पहिचान र अधिकारकै खोजीमा छन् ।

बागलुङ जिल्लाको एक समुदाय पनि लामो समयदेखि पहिचान बिहिन बन्दा सबै सेवा सुविधाबाट बञ्चित भएको छ ।
जातीय आधारमा जनजाती र दलित लगायतको पहिचानका आधारमा सरकारले धेरै स्थानमा छुट, आरक्षण तथा कोटा निर्धारण गरी निःशुल्क अध्ययन, छुटमा अध्ययन तथा रोजगारीमा आरक्षण दिदै आएको भए पनि जिल्लाको ढोरपाटनका कायत समुदाय पहिचान विहिन बन्दा उपेक्षामा परेको गुनासो गर्दै आएका छन् ।

नेपालमा अधिकांश जातजातीको पहिचान कायम भइसके पनि ढोरपाटनका केही समुदायले भने अझै पहिचान पाउन सकेका छैनन् । पहिचान बिहिन बनेका ढोरपाटन नगरपालिका–७ बोबाङका कायत समुदायले पहिचान नपाउँदा आफूहरु उपेक्षामा परेको गुनासो गरेका छन् । दुई वर्ष अघि ढोरपाटन क्षेत्रमा बसोवास गर्ने नौथर समुदाय भित्रका कायत समुदायलाई जातीय पहिचान दिने बहस संसदमा पुगेको थियो । तर, संसदमा छलफलनै हुन सकेन । बिडम्बना ! कायत समुदाय अझै पहिचान विहिन बन्दै आएको छ । उनीहरुको जात पहिचान नहुँदा अध्ययन तथा रोजगारीमा समेत समस्या हँुदै आएको छ ।

सरकारले एक सय भन्दा बढी जातजातीलाई जातीय पहिचान दिए पनि कायत समुदायको जातीय पहिचान हाल सम्म छैन । आफ्नो जातको पहिचान नहुँदा अध्ययन देखि रोजगारी सम्म समस्या भोग्दै आएको स्थानीय बिश्वास कायतले बताउनुभयो । उहाँका अनुसार कायत समुदाय जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ७ मा बसोबास गर्दै आएका छन् भने घुम्ती बसाई ढोरपाटन नगरपालिका–९ मा समेत रहेको छ । “हाम्रो कुरा कहिल्लै सुनुवाई भएन, पहिचान नपाउँदा क्षमतावान कायत समुदायका व्यक्तिहरु पछि परिरहेका छन्” बिश्वास कायतले भन्नुभयो “राज्यपक्षको बेवास्ताका कारण संसदमा पुगेको पहिचानको मुद्वा समेत हराएर गयो, सानो समुदायको कुरा कसैले सुनेन ।” जातीय आरक्षणका कारण धेरै युवाहरुले अध्ययनमा छात्रवृत्ति तथा रोजगारीमा कोटा पाउँदै आए पनि पहिचान बिहिन बनेको नौ थर समुदाय भित्रको कायत समुदाय पहिचान बिहिन बन्दा रोजगारी समेत पाउन मुश्किल भएको गुनासो गर्दै आएका छन् ।

पहिचानको मुद्वा निरन्तर रुपमा उठाई रहे पनि कतैबाट सुनुवाई नभएको कल्याण कायतले दुखेसो गर्नुभयो । “हाम्रो पहिचानको मुद्धा कायम छ, राज्यले एउटा जातीय पहिचान दिन सक्नु पर्दथ्यो तर भएन” कल्याण कायतले भन्नुभयो “कति वर्ष पहिचान विहिन बनेर बस्ने ? हामीलाई अल्पसंख्यक समुदायको रुपमा सरकारले जातिय पहिचान दिनुपर्दछ ।” ढोरपाटनमा ६५ देखि ७० घर परिवार मात्रै कायत समुदाय रहेका छन् । उनीहरुले जातीय पहिचान स्थापित गर्नका लागि कायत समाज एकता गठन समेत गरेका छन् । उनीहरुले कायत समाज एकता गठन गरे पनि अल्पसंख्यक समुदाय भएको र त्यहाँबाट प्रतिनिधित्व गर्नेले राज्यमा पहुँच स्थापित गर्न नसकेका कारण पहिचान स्थापित गर्न समस्या भएको कायत समाज एकताका अध्यक्ष निम बहादुर कायतले बताउनुभयो ।

कतिपयले कायत समुदायलाई जनजाति भित्र रहेको भन्दै आए पनि उनीहरुको आफ्नै भाषा, संस्कृति र उद्गम थलो नभएका कारण जनजाती भित्र नपर्ने कतिपयको धारणा छ । कुनै पनि अल्पसंख्यक समुदायलाई पहिचान राज्यले सामाजिक सुरक्षाको प्रत्याभूती गर्न आवश्यक रहेको भन्दै निर्वतमान संघीय सांसद सदस्य डा.सूर्य पाठकले उनीहरुको पहिचान र सुरक्षाका विषयमा संसदको सुशासन एवं राज्य व्यवस्था समितिमा दुई वर्ष अघि सवाल उठाउनुभएको थियो । उहाँले उठाएको विषयमा समितिले थप अध्ययन गर्नुपर्ने र यसलाई संवैधानिक आयोग गठन गरेर समाधानमा लाने बताइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको सरकारले माघ २१ गते विभिन्न संवैधानिक आयोग गठन तथा रित्त रहेको पदमा नियुक्ति गरेसंगै पहिचान विहिन बनेका कायत समुदायाई अल्पसंख्यक जातीको रुपमा पहिचान दिइ राज्यले संरक्षण गर्ने कुरा अगाडि बढ्ने डा.पाठकले बताउनुभयो । “त्यतिवेला मैले अल्पसंख्यक जातिको विषयमा कुरा उठाउँदा आयोग सक्रिय थिएन, पदहरु रित्त थिए” डा.पाठकले भन्नुभयो “अहिले आदीवासी तथा जनजाती आयोगले पूर्णता पाएको छ । म निरन्तर पहिचान कायम गर्न लागिपरेको छु, अब आयोगमा निवेदन दिए पछि पहिचानका लागि काम अगाडी बढ्छ ।”

पाठकका अनुसार सामाजिक सुरक्षाको सम्बन्धमा व्यवस्था गर्ने विधेयक नौथर समुदाय भित्र पर्ने ‘कायत’ समुदायलार्ई लोपोन्मुख समुदायमा सूचीकृत गरी सामाजिक सुरक्षा प्रत्याभूती गर्न संशोधन प्रस्ताव दर्ता गरी छलफल अगाडि बढाइएको थियो । अल्पसंख्यक समुदायको विषयमा कुरा उठेपछि उक्त समुदायको आत्मसम्मान र जातीय पहिचान कायम गरी उनीहरुको सामाजिक सुरक्षाको प्रबन्ध गर्न समितिले आग्रह गरेको थियोे । तर, राजनैतिक खिचातानीका कारण विभिन्न आयोगले पूर्णता नपाउँदा कायत समुदायको जातीय पहिचानको मुद्दा थन्किएको अवस्था थियो ।

ढोरपाटन नगरपालिकाको बोबाङ क्षेत्रमा बसोबास गर्ने नौथर समुदाय भित्रका पसाइ र पुजाय थर लोप भइसकेको अवस्थामा राज्यले पहिचान दिन नसके कायत जस्ता नौथर भित्रका समुदायले थर परिवर्तन गर्ने प्रचलन बढेकाले नौ थर भित्र थोरै संख्यामा रहेका कायत समयदाय लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् । उनीहरुको पहिचान स्थापित गर्न सके राज्यको सेवा सुविधा पाउनेमा यहाँका समुदाय आशावादी छन् ।

वडा र नगरपालिकाबाट कायत समुदायको संख्या तथा जातीय पहिचान कायम गर्न र राज्यको सेवा सुविधा प्राप्त गर्नका लागि सिफारिस ल्याएर आएपछि आफूले सम्बन्धित निकायमा जातीय पहिचान कायम गर्नका लागि सक्दो पहल गर्ने बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो । “पहिचान दिनलाई हामीले पहल गर्छाै, यसअघि प्रशासनले के पहल ग¥यो ? त्यो बुझ्नै पर्दछ” न्यौपानेले भन्नुभयो “अहिले जातीय पहिचानको विषयमा समाधान गर्न समेत विभिन्न आयोग समेत गठन भइरहेको अवस्थामा पहिचान दिलाउन सहज हुनेछ, उहाँहरु सिफारिस सहित आउनु प¥यो ।”

छुट्टै जातीय पहिचानका लागि उक्त जातीको आफ्नै भाषा, धर्म, संस्कृति, इतिहास हुनुपर्ने कतिपयको भनाई छ । उनीहरुलाई लोपोन्मुख जातीको रुपमा सूचिकृत गरी राज्यले छुट्टै व्यवस्थापन गर्न आवश्यक रहेको मानवअधिकारकर्मी राम शर्मा बताउँनुहुन्छ । बोवाङ क्षेत्रमा बसोवास गर्दै आइरहेका नौथर भित्रका कायत, अदै, भण्डारी, थापा, कुमाई, खड्का र कठेरहरुको पहिचान र रहनसहन छुट्टै भएकाले यो समुदाय छुट्टै जातीय समुदाय भएको कायत समुदायको दाबी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *