शिव चालिसे
प्रथम अन्तरिक्ष यात्री युरी गागरिनलाई अन्तरिक्षबाट फर्किए पछि रसियाको एउटा पत्रिकाले अन्र्तवार्ता लिँदै एउटा प्रश्न सोधियो–‘तपाई कोही नभएको ठाउँमा जानुभयो, तपाई यो पृथ्वीमा मात्रै नभएर अन्तरिक्ष पुनुभयो । अब तपाई के चाहनुहुन्छ ?’ उनले सहज तरिकाले जवाफ दिँदै भनेका थिए–‘मलाई कम्युनिस्ट पार्टीको सदस्य बन्ने इच्छा छ ।’ यसबाट देखिन्छ कम्युनिस्ट पार्टीको सदस्य कति महत्वपूर्ण चिज हो । मान्छेहरु त्यसका लागि मरिहत्ते गरिरहेका हुन्छन् । हाम्रो देश नेपालमा अहिले कम्युनिष्ट पार्टीको सरकार छ । कम्युनिष्ट पार्टीको ब्याक ग्राउन्डेडका नेता प्रधानमन्त्री केपी शर्मा ओली छन् । उनकै पार्टीका नेता कार्यकर्ता सडकमा छन् । प्रत्येक दिन शक्ति प्रदर्शनका कार्यक्रम भइरहेका छन् । विरोधका लागि बन्द हड्ताल आगजानी के–के हो के–के ? यस्तो काम कम्युनिष्ट पार्टीले गरिरहेको छ । त्यो पनि सत्ताधारी कम्युनिष्ट । अब भन्नुस्् तपाईलाई यस्तो पार्टीको सदस्य बन्न इच्छा कति लाग्छ ?
एउटै कम्युनिस्ट पार्टीको एउटा पक्ष सरकारमा, अर्को सडकमा छ । पार्टीको अध्यक्षले पार्टी भित्रका पार्टीका सदस्यहरु मिलाएर राख्न सक्दैन । अनि देशलाई कसरी मिलाउला ? देशको संबिधानलाई पनि पछि पार्दै संविधानसभाबाट करिब ६०१ सांसदले बनाएको संविधानलाई मिचेर एक व्यक्तिले प्रतिनिधि सभा विघटन गरि दिन्छ । अनि उसैको पछि लागेर कति उर्जाशील जनता कार्यकर्ता उसको उखानमा ताली पिटिरहेका छन् । जनवादी केन्द्रीयताको न्युनतम मान्यतामा पनि आडिग छैन । गणतन्त्र भएको देशको सरकार सामान्य प्रजातान्त्रिक मुल्य मान्यता मान्दैन या जान्दैन । उसबाट कति आशा गर्न सकिन्छ । दिनहुँजसो कार्यक्रम हुन्छन्, केही नयाँ विधि, सिद्धान्त, आचरणका कुरा आउँछ कि भनेर सुन्छु हेर्छु । नयाँ त आउँछ तर गाली नयाँ तरिकाको, पुरानो पोल गोप्यताको, राजनीति इमानदारीता भन्ने चिज नि हुन्छ नि ! त्यो कहाँ हरायो ? अनि त्यही घिनलाग्दो बोली सुन्न ताली पिट्नेहरुले भोली नेतृत्व कस्तो गर्लान् ? गाईले गाई, मान्छेले मान्छे नै जन्माउँछ । यो प्राकृतिक नियम हो । गाईले मान्छे जन्माउनेवाला छैन । यस्तो नेतृत्वले कस्तो पुस्ता जन्माउला ? उदेक लागेर आउँछ ।
आधुनिक युग हो, साना बच्चालाई पनि मोबाईल तथा कम्प्युटरमा राम्रो दख्खल छ । उनीहरुले दिनहुँजसो यि घिनलाग्दा कुराहरु यो वा त्यो बाहानामा सुनिरहेका हुन्छन् । अब भन्नुस् ति बच्चाको दिमागमा सरकार, नेता, राजनीतिक दल प्रति कस्तो धारणा बन्ला ? यसैले झन् भन्दा झन् खोक्रो बनाईरहेछ देश ।
यो भन्दा लाजमर्दो कुरा के हुन सक्छ एउटा सर्वभौम सम्पन्न देशका लागि ?
मैले पनि कुनै बेला कम्युनिस्ट पार्टीको सदस्य बन्ने ठुलो इच्छा राखेको थिए । अहिले पनि त्यो इच्छा हराएको थिएन । तर पनि अहिले परिस्थिति देखेर मलाई लाग्छ, कम्युनिष्ट पार्टी भन्न पनि लाज । कुन मुखले भनु कम्युनिस्ट पार्टीको सदस्य बन्न चाहन्छु । कम्युनिस्ट पार्टीमा लागेका मान्छेहरुले आफ्नो क्षमता अनुसारको काम गर्ने, काम प्रति निष्ठावान रहने राष्ट्रप्रति चिन्तित रहिरहने, राष्ट्रियताको पक्षमा निरन्तर लागिरहने, गरिबी अन्याय,अत्याचार, शोषण दमनको बिरुद्व सधै लागिरहने नयाँ संकृतिको विकासमा सजग रहने हो । गल्ती गरेको छ भने उसलाई आलोचना आत्मालोचनाबाट गल्ती पन्छाउने, बहुमतको निर्णय मानेर जाने । न्युनतम मान्यता र नियमहरु छन् । न ति नियमहरू सम्म नजान्नेहरुको आज कम्युनिष्ट पार्टीको सर्वोच्च निकायमा छन् । नेतृत्वले भनेका कुराहरु १०० प्रतिशत सही तर तलका कार्यकर्ता भनेको राम्रो कुरा पनि गलत ? यो संकार कम्युनिस्ट पार्टीमा हाबी भएको छ । म बुहारी हुँदा सासुले मलाई पिट्थिन । अब म सासु भए मेरो पालो भनेझै भाको छ ।
एउटाले भन्छ म विकास गरिरहेको छु अर्कोले भन्छ विकास त मेसिनहरुले गरिरहेका छन् । कम्युनिस्ट पार्टीमा लागेका मान्छेहरुले विकास मात्र गर्दैनन् । कम्युनिष्ट पार्टीले बाटो मात्र खन्दैन । पानी कुलेसो,घर मात्रै बनाउँदैन । विद्यालय मात्रै बनाउँदैन । ठुला कलकारखाना पनि बनाउँछ । कारखानामा काम गर्ने मजदुरलाई खेतबारीमा काम गर्ने किसानलाई यो बिहान बेलुका खाना नपुग्ने मान्छेहरुलाई केही परे पार्टी छ भन्ने आभास दिलाउँछन् । खै त्यो भएको, हुँदै नभएका घटना निर्माण, पार्टीका इमान्दार कार्यकर्तालाई फसाउने जेलनेल गर्ने यस्तो पनि नेतृत्व हुन्छ ? त्यो पनि कसैलाई रिस उठेको र सनक चलेको भरमा । म भन्दा माथि पुग्ने भो भन्ने भयले नेतृत्वले गरेका निर्णयमा केही कमजोरी भए सच्याउनु पर्छ । कसैले भनेका भरमा उसलाई नैतिक पतन गर्ने ? कृते गर्ने यस्ता पार्टीको नेतृत्वमा निकास सम्भव छैन ।
न वर्गीय आन्दोलन चलेको छ ? न गरिबी घटेको छ ? न गरिबले खान पाएको छ ? चिसोमा हिजो बाटोमा खाली खुट्टा हिँड्दै गरेका एक ज्यामीलाई देखे र विरोध सभामा ओच्छाईएको भुवादार कार्पेट सम्झे । त्यो कार्पेटको एक छेउ ति खाली खुट्टा हिँड्ने ज्यामीले पनि किनेका छन् । किनकि उनी यो देशको करदाता हुन् । उनीसँग चप्पल किन्ने पैसा छैन, जुत्ता किन्ने पैसा छैन । सरकारी नेकपा उसको दुइटा भागहरुमा विकास भएका छन् । जसमा केपी ओली पक्ष र प्रचण्ड नेपाल पक्ष उनीहरुको सभामा जानेलाई कार्पेटमा राख्ने मात्रै हैन । दैनिक भत्ता दिने प्रतिस्पर्धा समेत चलिरहेको छ । त्यो पैसा कहाँबाट आउँछ ? कसैले सोध्दैन, म सचेत हँु भन्नेले पनि । कुरा एउटा गरेको छ, काम अर्को गरेको छ । यस्तो ढाटको खेती कति दिन गरिखाने ? मुलुकलाई यस्तो समस्याको भासमा फस्नबाट कसरी जोगाउने ?
कम्युनिष्ट पार्टीको प्रशिक्षण कता गए ? कम्युनिष्ट पार्टीका प्रशिक्षकहरुको नाम के हो ? कहिले दिन्छन् प्रशिक्षण र कहिले सचेत बनाउँछन् जनतालाई ? कहिले भन्न सिकाउँछन राम्रोलाई राम्रो, खराबलाई खराब ? जनवादी केन्द्रीयता मान्नुहोस्, लेनिनले लिएको संगठनात्मक विधिलाई बुझ्नुस् । विचारहरुलाई अनुसरण गर्नुहोस् । कहिले सिकाउँछन । पार्टीका विचारहरुलाई निरन्तरता दिनुस् । गरिबलाई सम्मान गर्नुहोस् । कामलाई सम्मान गर्नुहोस् । नेतालाई होइन नीतिलाई सम्मान गर्नुस् । यो कुरा कहिले सिक्छन् जनताले । नीतिको पछाडि लाग्ने हो, हामी कोही व्यक्तिको पछाडि दौडिन आएका होइनौ भन्ने कुरा कहिले सिक्छन् कार्यकर्ताले । संसारभरिका मजदुरहरु एक हुने कुरा कहिले सिक्छन् मजदुरहरुले । नैतिकताको पाठ लिडरहरुलाई कहिले पढाउनुहुन्छ प्रशिक्षक ज्यू हरुले ?