बैतडी घटनाः निर्मलाको नियति नदोहोरियोस्

सम्पादकीय
कञ्चनपूरकी किशोरी निर्मला पन्तको बलात्कार पछि जघन्य रुपमा हत्या गरियो । तीन वर्ष अघि भएको यो अपराध कर्मको सर्वत्र बिरोध र निन्दा भयो । सरकारलाई तत्काल अनुसन्धानलाई प्रभावकारी बनाएर दोषिलाई कठघरामा उभ्याउन देशभर प्रदर्शन, दबाब र आन्दोलन भयो । सरकारले पन्तको बलात्कार र हत्यामा सम्लग्नको पहिचान र खोज गर्न नसके पछि बिधिको शासनको प्रत्याभूत गराउने उद्घोष गरेको सरकार आफै बदनाम भयो । यो घटनाले दुई तिहाईका साथ उदाएको सरकारको सुरुवातमै दातमा ढुंगा लागे जस्तो भयो । जुन घटनाको आजको दिन सम्म अपराधी पत्ता लगाउन सरकारका प्रयास बिफल छ । यही घटनाको पुनरावृत्तिको झल्को दिने गरि फेरि यसै साता बैतडीमा अर्को उस्तै प्रकृतिको घटना भएको छ । यसले गम्भीर प्रश्न र संशय उब्जाएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका ७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार पछि हत्या भएको समाचारले फेरि एकपटक उद्धेलित बनाएको छ । सिर्कोट स्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढ्ने भागरथी घरबाट स्कुल पुग्न झण्डै एकघण्टा जंगलको बाटो हिँड्नुपथ्र्यो । गत बुधबार २ बजे पढाइ सकेर उनी स्कुलबाट हिँडिन् । तर, अरु दिनजस्तो उनी घर फर्किएनन् । स्कुलबाट छुटेका साथीहरुले हामी कपाल काटेर आउँछौं, तिमी हिँड्दै गर भनेका थिए । हुन्छ भनेर हिँडेकी उनी घर नआएपछि आमा द्रोपतीले हारगुहार गरिन्, खोजीमा जुटिन् । तर, भागरथीको अत्तोपत्तो भएन । अन्ततः भोलिपल्ट भागरथीको निकै बीभत्स किसिमले हत्या गरिएको अवस्थामा शव फेला प¥यो ।

भागरथीका बुबाको मृत्यु भएको दुई महिना पनि नहुँदै, ४५ वर्षीया आमा द्रोपती बरखीमा रहेकै बेला हुर्किदै गरेकी छोरीको विभत्स हत्याले परिवार, आफन्त र सिंगो देश स्तब्ध छ । २०७५ साउन १० गते साथीको घरमा पढ्न गएकी कञ्चनपुरकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखु बारीमा शव भेटिएको थियो । निर्मला पन्तको न्यायका लागि यति धेरै आवाज उठे पनि यतिका वर्ष सम्म प्रहरी अनुसन्धान जारी रहेको रेडिमेड जवाफ दिन विवश छ । अहिले बैतडीमा भागरथीको बलात्कार पछि हत्या निर्मलाकै नियति हो । घटनाको वर्षौ बित्दा पनि दोषि पत्ता नलागेर अपराधी खुलेआम हिँड्ने अवस्थाको निर्मला पन्त र तीनका परिवारको नियति बैतडी घटनामा कदापी नदोहोरियोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *