इन्टरनेटको गलत प्रयोगः बालबालिका यौन शोषणमा पर्दै

आदर्श अनलाइन, काठमाडौं
पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन् ।नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन–नेपाल) ले गरेको अध्ययनअनुसार इन्टरनेट सेवाबाट बालबालिकामा नकारात्मक असर परेसँगै अनलाइनबाट बालबालिका यौन शोषणमा समेत परेको देखाएको छ ।

सन् २०२० मा सो संस्थाले नेपालको सातै प्रदेशमा बालबालिकाको अनलाइन यौन शोषणसम्बन्धी गरेको अध्ययनमा बालबालिका तथा नवयुवाविरुद्ध हुने अनलाइन यौन शोषणका घटना कम्प्युटर र साइबरको अवास्तविक दुनियाँलाई छिचोलेर प्रत्यक्ष भेटघाट र यौन शोषणसम्म विस्तार भएको पाइएको छ । यसरी यौन शोषणमा पर्नेहरूमा बालिका÷किशोरीभन्दा झण्डै दोब्बर संख्यामा बालक÷किशोरहरू रहेको देखाएको छ ।

९ देखि १९ वर्ष उमेर समूहका १ हजार ७ सय १४ जना बालबालिका तथा किशोरकिशोरीहरूबीच गरिएको थुप्रै बालबालिकालाई अनलाइन यौन शोषणमा परेपछि विद्यालय छोड्न बाध्य गरेको र उनीहरूको दैनिक जीवनमा समेत असर परेको छ ।

अनलाइनमा नग्न फोटो, अडियो तथा भिडियोहरू बनाएर पठाउनका लागि दबाब झेल्नेहरूमा केटीहरूको तुलनामा केटाहरूको संख्या अधिक रहेको पाइएको सिविनका कार्यकारी निर्देशक सिम्नीमा तुलाधरले जानकारी दिएका छन् ।

नग्न फोटो, अडियो तथा भिडियो बनाएर पठाउनका लागि दबाब दिने वा बाध्य पार्नेहरूमा प्रेमी प्रेमिका, दौंतरी, सबैभन्दा नजिकका साथीहरू र कतिपय अवस्थामा अपरिचित व्यक्तिसमेत रहेको पाइएको छ । केही विदेशी मूलका मानिस त्यस्ता गतिविधिमा संलग्न भइरहेको अध्ययनले देखाएको छ ।

त्यसैगरी यौन प्रेरित सामग्री पठाउने माध्यममा प्रेमिका, प्रेमी, दौँतरी र सबैभन्दा नजिकको साथीको हकमा अधिक तर सामाजिक नेटवर्किङ साइटहरू र इमेल प्रयोगमा रहेको पाइएको छ भने अपरिचित र विदेशीलाई पठाउने माध्यमका रूपमा सामाजिक नेटवकिङ साइट, इमेल, अज्ञात लिंक र फोनसमेत प्रयोग भएको देखिएको छ ।

‘अनलाइनमा ६३.३६ प्रतिशत पुरुष र ३४.३५ प्रतिशत महिलाले प्रत्यक्षरूपमा क्यामेराको अगाडि नग्न देखिन बालबालिकालाई भनेका थिए, नग्न हुन दबाब दिनेहरूमा आफ्नै साथी, प्रेमिका वा प्रेमी, नातेदार, नजिकका साथी र कतिपय अपरिचितहरू पनि थिए ।’ अध्ययन प्रतिवेदनमा भनिएको छ । कूल उत्तरदातामध्ये, १ सय ३७ जना (७.९९ प्रतिशत) उत्तरदातालाई क्यामेराको अगाडि नग्न देखिन भनिएको थियो ।

यसरी नग्न बस्न दबाब खेप्ने उत्तरदातामा ५८ (६२ प्रतिशत) केटा, ४७ (३४.३१ प्रतिशत) केटी र २ जना (१.४६ प्रतिशत) लैंगिक अल्पसङ्ख्यक समुदायका व्यक्ति रहेका थिए । नग्न देखिन भन्नेमा आफ्नै साथी, सबैभन्दा नजिकका साथी, प्रेमिका, प्रेमी, आफन्त, केही अपरिचित, विदेशी र हेरचाहकर्ता समेत रहेका छन् ।

कूल उत्तरदाता १ हजार ७ सय १४ मध्ये ४ सय ५७ जना (२६.६६ प्रतिशत) ले अनलाइनमा अपरिचित व्यक्तिलाई भेटेको पाइएको छ । यसरी अपरिचित व्यक्तिलाई अनलाइन भेट्ने उत्तरदाताहरूमध्ये १ सय ६३ जनालाई छुट्टै प्रत्यक्ष भेट्न भनिएकामा १ सय ५४ (३३ प्रतिशत) जनाले भने ती अपरिचित व्यक्तिसँग भेटघाट गरेका थिए । प्रत्यक्ष भेट्न जाने सबैले कुनै न कुनै रूपका यौन शोषणको अनुभव गरेका थिए ।

कूल उत्तरदातामध्ये ३ सय ४० जना (१९.८३ प्रतिशत) ले अनिच्छित अनलाइन यौन शोषण भोगेको उल्लेख गरेका छन् । यसरी अनलाइन यौन शोषणको सामना गर्ने उत्तरदातामा केटाको संख्या केटीको तुलनामा अधिक रहेको छ ।

अनलाइन यौन शोषणमा परेका उत्तरदाताहरूमा ठूलो मात्रामा मानसिक असर परेको पाइएको छ । उत्तर दिने क्रममा कतिपयले आफू मानसिकरूपमा समस्यामा परेको, कतिपयले पढाइमा ध्यान दिन नसकेको र मर्न समेत तयार रहेको तथा कतिपयले लामो समयसम्म दुःखी भएको बताएका थिए ।

अनलाइन यौन शोषणमा परेका ३ सय ४० उत्तरदातामध्ये ४८ (१४.१२ प्रतिशत) जनाले यौन शोषणसम्बन्धी घटना घटेपछि विद्यालय छोडेका छन् । विद्यालय छोडेकाहरूमध्ये १५ जनाले मात्र परामर्श सेवाको खोजी गरेका थिए भने ३४ जनाले आफूहरूलाई दैनिक जीवन व्यवहारमा बाधा परेको बताएका थिए । तीमध्ये नौजनाले मात्र परामर्श सेवा पाउन सकेका थिए ।

अनलाइन यौन शोषणको सामना गरेका ३ सय ४० जना उत्तरदातामध्ये २ सय ३३ (६८.५३ प्रतिशत) जनाले मात्र परिवार, साथी वा प्रहरीलाई खबर गरेका थिए । त्यसैगरी सामाजिक सञ्जाल तथा सम्पर्क ब्लक गर्ने, आएका कल तथा सन्देशहरूलाई उपेक्षा गर्ने, इन्टरनेटको प्रयोग बन्द गर्ने, सिमकार्ड परिवर्तन गर्ने र सामाजिक सञ्जालमा नयाँ एकाउन्ट खोल्ने कार्य गरेको बताएका थिए ।

अध्ययनमा कूल उत्तरदातामध्ये २ सय ५३ (१४.७६ प्रतिशत) जनाले आफू साइबर बुलिङको शिकार भएको बताएका थिए । उनीहरूमध्ये १ सय ७५ (१०.२१ प्रतिशत) जनाले आफ्नो बाबुआमालाई उनीहरूको इन्टरनेट बानी व्यवहार थाहा भएपछि पनि साइबर बुलिङको सामना गरेका थिए । अध्ययनअनुसार साइबर बुलिङको घटना सबैभन्दा बढी वाग्मती प्रदेशको काठमाडौं र मकवानपुरमा (२७ प्रतिशत) रहेको पाइएको छ भने दोस्रोमा प्रदेश नं २ को धनुषा (१८ प्रतिशत) रहेको छ । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *