डम्मर बुढा मगर, बागलुङ
गाउँमा आएर क्षत्रीले नवीन सोँच र फरक उद्देश्यका साथ व्यवसाय गर्न थाले । क्षत्रीले अहिले व्यावसायिक रुपमा फलफूल खेती गरेका हुन् । ३८ वर्षीय क्षत्रीले १५ वर्ष विदेशमा भोगेको दुःखलाई भुलेर अहिले गाउँमै व्यावसायिक बन्ने उद्देश्यले काम सुरु गरेको बताउँछन् ।
भूगोलका हिसावले जिल्ला सदरमुकाम भन्दा दूर । फलफूलले लटरम्म देखिन्छ घर आसपासका खेतबारी । यहाँ पुग्ने जो कोहिले भनिहाल्छन्,–‘यस्तो ठाउँमा पनि कति रहर लाग्दो कृषि कर्म, फलफूल खेती ।’ निसीखोला गाउँपालिका ४ को झिम्पा गाउँ । भौगोलिक हिसावले विकट लाग्ने यो गाउँको माझमै रेमबहादुर क्षेत्रीको घर छ । घर वरपर धेरै जातका फलफूलहरुको बगैँचा देखेर लोभिने धेरै छन् ।
बगैँचामा भएका केही फलफूलका बिरुवाहरुले भर्खर पालुवा हाल्न थालेका छन् । केही बोटमा फूल खेलेका छन् त केहीमा लटरम्म फल लागेको छ । उनी विहान उठेदेखि राति नसुतुञ्जेल सम्म बारीमा खनीखोस्री गरिरहेका हुन्छन् । वर्षौ विदेशको रमझममा रमाउन नसकेका रेमबहादुर अहिले यीनै फलफूलसँग रमाउन थालेका छन् ।
दशक बढी विदेशी भूमिमा रगत पसिना बगाएका रेमबहादुरले धेरै हण्डर ठक्कर खाएपछि अहिले परिवारसँगै गाउँमा व्यवसाय गर्दा खुसी र सन्तृष्टि मिलेको बताउनुहुन्छ । ‘धेरै दुःख, संघर्ष गरियो, विदेशमा पनि धेरै वर्ष पसिना बगाइयो, तर सोचे जस्तो भएन, त्यही भएर अहिले गाउँमै केही गरौ भनेर लागेको छु,’ उनले भने, ‘पढेर ठूलै मान्छे बनौँ भने पनि पारिवारको आर्थिक अवस्था कमजोर हुँदा धेरै पढ्न पाइएन । धेरै पढ्ने चाहना हुँदा–हुँदै पनि कक्षा ८ सम्म मात्रै पढे । अहिले गाउँकै कर्मले धेरै कुरा दिएको छ ।’
पाँच दाजुभाई र चार दिदीबहिनी गरि ९ भाइबहिनी रहेका उनीहरु मध्ये रेमबहादुर जेठो सन्तान हुन् । कुनै सरकारी कार्यालयमा जागिर गरौँ शैक्षिक योग्यता पुगेन । घरको आर्थिक भार जेठो सन्तानको काँधमा आए पछि उनी विदेश हानिएका थिए । एक वर्ष भारत र १४ वर्ष कतारको मरुभूमिमा पसिना बगाए । दशक बढी विदेशमा बिताएका रेमबहादुरले कुनै पनि सफलता प्राप्त गर्न नसके पछि स्वदेश फर्किए ।
गाउँमा आएर क्षेत्रीले नविन सोँच र फरक उद्देश्यका साथ व्यवसाय गर्न थाले । क्षत्रीले अहिले व्यावसायिक रुपमा फलफूल खेती गरेका हुन् । ३८ वर्षीय क्षत्रीले १५ वर्ष विदेशमा भोगेको दुःखलाई भुलेर अहिले गाउँमै व्यावसायिक बन्ने उद्देश्यले काम सुरु गरेको बताउँछन् । ‘विदेशमा पनि धेरै दुःख गरियो, अब आफन्ै गाउँ–ठाउँमा केही गर्नु पर्छ भन्ने सोँचले फलफूल खेती गर्न थालेको छु, हेरौँ अब कस्तो हुन्छ,’ क्षत्रीले भने ‘सबैभन्दा गाउँनै प्यारो हुँदो रैछ, जे गर्दा पनि गाउँ नै चाहिँदो रैछ, अब कहिले विदेश जान्न, अब गाउँमै दुःख सुख गरेर जीवन निर्वाह गर्ने हो ।’
क्षत्रीले विदेशबाट फर्किए पछि २०६९ सालमा ५० हजार रुपैयाँको लगानीबाट ३ रोपनी क्षेत्रफलमा फलफूल लगाउन सुरु गरेका थिए । अहिले लगानी र उत्पादन क्षेत्र बढाएका छन् । क्षेत्री हालसम्म ७ लाख बढी लगानी गरिसकेका छन् भने १५ रोपनी जग्गामा फलफूल लगाएका छन् ।
क्षत्रीले विशेष गरि अमिलो जातका फलफूललाई विशेष प्राथमिकता दिएको भन्दै आफ्नो बगैँचामा धेरैजसो कागती र अमिलो भएको बताए । रेमबहादुरले ५ रोपनीमा जग्गामा २ सय वटा कागतीका बिरुवा, एक रोपनीमा २० ओखरका बिरुवा लगाएका छन् भने अन्य ठाउँमा सुन्तला, मौसम, किबी, ओखर अम्बा, टिमुर लगाएत तरकारीका बिरुवाहरु लगाउका छन् ।
हाल १५ रोपनी जग्गामा फलफूल खेति गरेको भन्दै क्षत्रीले अब २५ रोपनी क्षेत्रफल बिस्तार गर्ने बताए । आफूले २०६९ सालबाट फलफूल खेती सुरु गरेको सुनाउँदै आम्दानी भएको अधिकांश रकम लगानी नै गर्दै आएको क्षत्री बताउँछन् ।
क्षत्रीले व्यवसायलाई थप व्यवस्थित बनाउनका लागि २०७६ सालमा जीवन पोल्टी फर्म एण्ड विविध कृषि केन्द्र भनेर दर्ता गरेको बताए । दर्ता गरेर व्यवसाय गर्दा राज्य र कृषक दुबैलाई लाभ हुने उनको ठम्याई छ । अधिकांश समय बारीमै बिताउने क्षत्रीलाई आफ्नो श्रीमती डिलाकुमारी पौडलको पनि राम्रो साथ मिलेको उनी बताउँछन् ।
एक छोरा, एक छोरी र श्रीमतीसहित ४ जनाको परिवार रहेको क्षत्रीको परिवार यही व्यवसायबाट चलेको उनको भनाई छ । यो व्यवसायबाट परिवार सन्तुष्टि रहेको क्षत्रीले बताए । ‘यो पेसाबाट अहिले हामी धेरै सन्तुष्टि छौँ, घर परिवारसँगै काम गर्न पाइएको छ, मिठो मसिनो जे छ सँगै खाएका छौँ, दुःख बिमार हुँदा पनि परिवारसँगै हुन पाइएको छ,’ क्षत्रीले भने ‘विदेशमा त दुःख बिमार भएको पनि कसैलाई वास्ता हुँदैन थियो, भोको नाङ्गो कसैले हेर्दैनन्, यहाँ त गाउँ हो वरपर गरेर पनि जीवन धान्न सकिन्छ ।’
क्षत्रीले विदेशमा १५ वर्ष बिताएर आए पछि नेपालमा पनि एक वर्ष गाडी चलाएको भन्दै त्यसबाट पनि सफलता नमिलेको उनी बताउँछन् । ‘कतारमा पनि धेरै समय लोरी चलाएँ, त्यो बाहेक अरु काम पनि गरेँ तर भने जस्तो भएन, विदेशबाट फर्किएर एक वर्ष नेपालमा पनि बस चलाएँ, अन्तिममा गाउँमै फलफूल खेती गर्छु भनेर लागेको छु ।’
उनले फलफूलसँगै मौरी पालनलाई पनि अँगालेका छन् । अहिले क्षत्रीले ५ घार मौरी समेत पाल्न थालेका छन् । फलफूल हुने ठाउँमा मौरी पालनका लागि उपर्युक्त वातावरण हुने भएको हुुँदा यसलाई पनि अँगालेको उनको भनाई छ । ‘मौरीपानका लागि पनि हाम्रो गाउँ ठाउँ अति उत्तम छ, किनकि यहाँ धेरै फलफूल छन्, अन्य फूलहरु पनि यहाँ भएको हुँदा मौरीका लागि राम्रो हुन्छ,’ रेमबहादुरले भने ‘अहिले विस्तार गर्न थालेको छु, यो पनि राम्रो होला भन्ने लाग्छ, पाँच घार छ, यसलाई बढाएर अझै धेरै बनाउने योजनामा छु ।’
क्षत्रीले उत्पादन गरेको फलफूलबाट वार्षिक रुपमा पाँच लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताए । उनले आम्दानी भएको धेरैजसो व्यवसायमै लगानी गर्ने गरेको भन्दै उत्पादन क्षेत्रलाई थप फराकिलो बनाउन थालेको सुनाए ।
क्षत्रीले व्यवसायलाई व्यवस्थित बनाउँदै गए पछि कृषि ज्ञान केन्द्र पर्वतबाट गत वर्ष सिञ्चाईको लागि १ लाख ५० हजार सहयोग पाएका थिए । साना सिञ्चाइको लागि कृषि ज्ञान केन्द्रले गरेको सहयोग आफ्ना लागि महत्वपूर्ण भएको भन्दै सरकारी निकायले आफू जस्ता कृषिकलाई समय समयमा सहयोग गरे रोजगार सिर्जना गर्न सक्ने बताए ।
आफुले उत्पादन गरेको फलफूहरुले राम्रो बजार पाएको भन्दै गाउँमा सडक आएपछि थप सहजता थपिएको बताए । आफूले उत्पादन गरेको फलफूल कानाबजार, झिवाखोला, निसी, भल्कोट, देविस्थान, बुर्तिबाङ लगायतका ठाउँमा पु¥याउने गरेको बताए । आफूले माग अनुसारको उत्पादन गर्न नसकेको भन्दै उत्पादनलाई थप तीव्रता दिएको उनको भनाई छ ।
गाउँपालिकाले पनि समय–समयमा विभिन्न किटनाशक औषधी, बीउ बिजन र बिरुवा दिने गरेको भन्दै तालिम र परामर्श पनि दिनुपर्ने उनले बताए । ‘गाउँपालिकाले समय–समयमा बीउ, बिरुवा र औषधी त दिने गरेको छ, हाम्रा लागि तालिम र परामर्शको पनि आवश्यक छ,’ क्षत्रीले भने ‘यो भयो भने हामीलाई धेरै सहज हुने थियो, बोटहरुमा किरा लाग्ने, ओइलिने गर्छ, तालिम दिएपछि यस्तो बेला के गर्ने भन्ने त जानकारी हुन्थ्यो ।’
क्षत्रीको व्यवसायमा थप लगानी गरिरहेको भन्दै वार्षिक ४० लाख आम्दानी गर्ने लक्ष्य छ । ‘हरेक वर्ष लगानी बढाइ रहेको छु, अहिले आम्दानी कम छ, फलफूल र मौरीपालनबाट अब वार्षिक ४० लाख आम्दानी गर्ने लक्ष्य छ’ उनले भने । विदेश जाने युवालाई सिप सिकेर स्वदेशमै स्वरोजगार बन्न आग्रह गर्छन् । क्षत्रीले गाउँको उर्वर भूमि बाँझो बनाएर विदेशमा दुःख गर्नु दुखद भएको उनको तर्क छ ।
‘हाम्रो गाउँमा यति धेरै जमिन छ, युवाहरु विदेश जान थालेपछि बाँझो बन्न थालेको छ,’ क्षत्रीले भने ‘गाउँको यति धेरै उर्वर जमिनलाई बाँझो बनाएर विदेशमा अरुको गुलामी गर्नु दुखद हो, त्यसले गर्दा विदेश नजाऔँ, आफ्नै गाउँमा केही गरौँ, विदेशमा गर्ने दुःख आफ्नै भूमिमा, आफ्नै बारीमा गरौँ ।’