डम्मर बुढा मगर, बागलुङ
सेतै फुलेका केस । चाउरिएको अनुहार । ढल्किदो उमेर । तर, यो अवस्था र उमेरमा उनको सहारा कोही छैन । बृद्धा आश्रममा छ बास । बागलुङ नगरपालिका वडा नम्बर १ निरयघाटमा रहेको आश्रममा बस्दै आउनुभएकी म्याग्दी बाँसटाकी रुकमिनी पौडेल । रुकमिनी १९ वर्षदेखि यही आश्रममा बस्दै आउनु भएको छ ।
७२ पुरा भएर ७३ वर्षमा लाग्नु भएका रुकमिनीको सानैमा विहे भयो । तर, त्यो बिहे भएको उहाँलाई केही अनुभव छैन । को सँग बिहे भयो ? कहाँ विहे भयो ? उहाँ अझै पनि त्यो बेलाको बेखबर भोगाइबारे आश्चर्य व्यक्त गर्नुहुन्छ । रुकमिनीलाई आफन्तले भने अनुसार ६ वर्षको उमेरमा म्याग्दीकै कमलनयन पौडलसँग उहाँको भागी विवाह गराइएको थियो । बिहे भएको केही दिनमै रुकमिनीलाई उहाँका बुबाले घरमा ल्याउनु भयो ।
६ वर्षीया बालिका धेरै दिन हराए पछि उहाँका बुबाले सोधखोज गरेर घरमा ल्याएपछि रुकमिनी कहिल्यै आफ्नो बिहे भएको घर फर्किनु भएन । उहाँलाई आफ्ना पति कस्ता थिए ? भन्ने अझै सम्म पनि थाहा छैन । सानैमा विवाह भए पनि उहाँ माइतमै करिब पाँच दशक जीवन बिताउनुभयो । बाबा आमासँगै रमाउनुभयो ।
रुकमिनी १३ वर्षको हुँदा उहाँको बाबाको निधन भयो । त्यसपछि घरको थप जिम्मेवारी रुकमिनीको काँधमाथि आयो । समय बित्दै गयो । आमालाई पनि बुढेसकाल लाग्दै गयो । घरको जिम्मेवारी एकातिर, बुढी आमाको स्याहार सुसार अर्को तिर । उहाँलाई घर व्यवहारले थप च्याप्दै गयो ।
अन्ततः रुकमिनी २८ वर्षमा लाग्दा आमाको पनि देहावसान भयो । त्यसपछि उहाँको जीवनले छुट्टै मोड लियो । सानैमा विवाह भए पनि रुकमिनी माइती घरमै बस्ने गरेको हुँदा श्रीमानको खास्सै वास्ता र आवश्यकता परेन । उहाँले आफ्नै तरिकाले जीवन चलाईराख्नु भएको थियो । श्रीमानको पनि रुकमिनी २० वर्षको हुँदा मृत्यु भयो ।
६ वर्षमा विवाह भए पनि २० वर्षसम्म उहाँको श्रीमानसँग न देखभेट भयो, न चिनजानी नै । त्यसले गर्दा रुकमिनीलाई श्रीमान कस्तो हुनुहुन्थ्यो भन्ने पनि थाहा छैन । अनुमान गर्न पनि सक्नुहुन्न । बाल्यकालमै विवाह र विवाह गर्ने उमेरमा बिधुवा हुदाँ पनि उहाँलाई कुनै पश्चाताप छैन ।
माइतमै बाल्यकाल, किशोर अवस्था, आधा बैंश बिताउनुभयो ।
बाबाआमाको मृत्युपछि रुकमिनीलाई आफ्नै जन्मघर विरानो लाग्न थाल्यो । त्यसपछि उहाँँ बुढेसकालको जीवन आश्रममा बिताउने निधो गर्नुभयो । ४९ वर्षमा लाग्दा रुकमिनी गलेश्वर झर्नुभयो । २०५० सालमा गलेश्वर आश्रममा झर्नुभएकी रुकमिनी विभिन्न कामहरु गर्दै जिविका चलाई राख्नुभयो । गलेश्वरमा ५ वर्ष बिताउनुभयो । त्यसछि उहाँ २०५८ साल तिर बागलुङको निरयघाटमा रहेको आश्रम तिर लाग्नुभयो । दिनहरु बित्दै गए । उमेर ढल्दै गयो ।
माइतमा उहाँका भाई, बुहारी र भदै पनि हुनुहुन्छ तर रुकमिनीलाई त्यो घर भन्दा आज भोली यही आश्रमनै प्यारो लाग्न थालेको छ । बाबाआमा बिते पछि घर तिर रुकमिनीको मन त्यती जाँदैन । आश्रममा आउने जो कोहीलाई पनि उहाँ आउनुस्, बस्नुस्, प्रसाद खानुस् भन्नुहुन्छ तर आफूले के खाउँ केलाउँ भन्ने उहाँलाई केही पीर चिन्ता छैन ।
६ वर्षको उमेरमा विवाह भए पनि आफूलाई केही अनुभव नभएको भन्दै बैंश जवानीमा धेरैको विहेको प्रस्ताव आउने गरेको रुकमिनी बताउनुहुन्छ । ‘सानैमा विहे भयो, विहे भएको पनि मलाई याद छैन, श्रीमान् कस्तो थिए भन्ने थाहा पनि छैन, देख्न पनि पाएन’ रुकमिनीले भन्नुभयो ‘उति बेला चोरेर लगेका हुन् रे मलाई, पछि बुबाले खोजेर घरमा ल्याउनु भएको रैछ, बैस आउने बेला श्रीमान बितेको खबर पाएँ, त्यसपछि पनि धेरैले बिहे गर्ने भनेर केटाहरु माग्न आए, तर मेरो बिहे गर्ने रहर कहिल्यै जागेन ।’
अहिले गाउँमा भाई बुहारी र दुई बहिना भदै रहेको भन्दै कहिले कसो भेट्न आए पनि आफूलाई आश्रम नै प्यारो लाग्ने रुकमिनी बताउनुहुन्छ । ‘पहिले त कहिलेकाही भाई बुहारी भेट्न आउँथे, म पनि जान्थे तर अहिले म जान सक्दिन, उनीहरु पनि आएका छैनन्,’ उहाँले भन्नुभयो ।
२० वर्षको हुँदा श्रीमान बितेपछि सासुले बोलाएर एउटा कागजमा सही छाप गरि दुई रुपैयाँ दिएर आफ्नो अंश सबै अरुको नाममा बनाई दिएको उहाँ बताउनुहुन्छ । ‘म सोझी मान्छे के थाहा सासु भन्नेले बोलाउनुभयो र गएँ, त्यसपछि एउटा कागजमा औँठा छाप लागउन भनेर लगाएँ, दुई सय रुपैयाँ दिनुभयो’ उहाँले भन्नुभयो ‘त्यो दुई सय दिएर औँठा छाप लगाएको त मेरो अंशमा परेको सम्पत्ति अरुको नाममा पो गराएको रैछ, पछि मात्रै थाहा पाएँ । तर पनि केही छैन, विहे भएको श्रीमानसँग त देखभेट भएन भने सम्पत्ति त त्यस्तै हो ।’
रुकमिनीले आफू जस्ता केही नभएकाहरुलाई सरकारले सहयोग गरे बुढेसकालमा दुःख भोग्न नपर्ने बताउनुभयो । उहाँले अहिले आश्रममा विभिन्न संघ संस्था र व्यक्तिहरुको सहयोगले आफूहरु बाँचेको भन्दै कसैले सहयोग नगरे भोक भोकै बस्नु पर्ने अवस्था आउन सक्ने प्रति उहाँको चिन्ता छ । ‘अहिले यस्तो जाडो छ, जाडोमा न्यायो कपडा, तातो–तातो खानेकुरा अन्य सामान सरकारले सहयोग ग¥र्यो भने हाम्रा लागि ठूलो राहत हुने थियो, अहिले सम्म भगवानको कृपाले त्यस्तो ठूलो समस्या परेको छैन ।’