बाँध मर्मत गर्न तालको पानी घटाइएपछि कुरुप देखियो फेवा

आदर्श अनलाइन, पोखरा
फेवा बाँध मर्मतका लागि फेवातालमा पानीको सतह घटाइएको छ । तालमा पानीको सतह निकै तल सम्म पुगेपछि ताल कुरुप र हिलाम्मे देखिएको छ । बाँधबाट पानी छाडिएपछि तालबाट फुत्किएर गएका माछा छोप्नेहरु खोलातिर धाउन थालेका छन् । अहिले तालको सतह एक मिटर घटाइएको छ । काम गर्ने दौरान आवश्यक परेमा अर्को एक मिटर पनि घटाउन सकिने बताइएको छ । एक महिनामा मर्मतको काम सकिनेछ । बाँध मर्मतका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

फेवाताल संरक्षणकै लागि बनाइएको बाँध जीर्ण अवस्थामा पुगेपछि बाध निर्माणको लागि तालको पानी घटाइएको जलस्रोत तथा सिचाईं डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यले जानकारी दिएका छन् । बाँधको नियमित मर्मत नहुँदा भत्कने अवस्था थियो ।तालको पानीबाट ३ सय २० हेक्टर जमिनमा सिंचाइ हुँदै आएको थियो । तालको पानी लगेर १ मेगावाटको फेवा जलविद्युत आयोजना पनि सञ्चालनमा छ ।

२०१८ सालमा भारत सरकारको सहयोगमा बनेको ११० मिटर लामो बाँध २०२८ देखि फुट्न सुरु भएर ३१ सालमा सबै बगेको थियो । त्यसपछि २०३५ सालमा यूएनडीपीको सहयोगमा पहिलाको भन्दा झन्डै एकसय मिटर तल अर्को बाँधको निर्माण थालेर २०३९ सालमा पुनर्निर्माण सम्पन्न भएको बाँध अहिलेसम्म मर्मत गरिएको थिएन । ६४ दशमलव ५ मिटर र उचाइ बढीमा २० मिटर रहेको बाँधमा ४ फलामे ढोका छन् । ती ढोकाका रवरसिल सबै बिग्रेकाले पानी चुहिदै आएको थियो । अब ढोकामा रबरसिल फेरिएपछि पानी चुहिने समस्या हट्छ । यसैगरी बाँधबाट पठाइने पानीको गति रोक्न बनाइएका लन्चिङ एप्रोन र अन्डरमाइन्डिङ बगेका र जीर्ण भएपछि बाँध थप जोखिममा थियो । संरचना बगेपछि बाँधमुनिबाट पानी रसाउन थालेको थियो । त्यस्ता संरचना पनि बनाउन लागिएको हो । आचार्यका अनुसार तालमा पानीको मात्रा करिब १ महिनासम्म यही रुपमा हुनेछ ।

कार्यालयका अनुसार तालमा पानीको सतह ७ सय ९१ आरएलसम्म झारेर मर्मत कार्य गरिनेछ । तत्काल पानीको सतह ७ सय ९२ आरएल रहेको छ । मर्मतको काम सकिएपछि पुनः फिर्के र सेतीको पानीको ड्राइर्भट गरेर तालमा ल्याइने बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *