अब गलकोट र कुश्मिशेरामा पनि कोरोना खोप

आदर्श अनलाइन, बागलुङ
अग्रभागमा खटिएर काम गर्ने चिकित्सक स्वास्थ्यकर्मी पछि अन्यलाई पनि प्राथमिकताका आधारमा कोरोना बिरुद्धको खोप लगाउने क्रम जारी छ ।

आइतबारबाट बागलुङमा कोरोना बिरुद्धको खोप अभियान अन्र्तगत पहिलो चरणकै दोस्रो प्राथमिकताको आधारमा खोप लगाउन थालिएको हो ।

यो चरणको खोप कार्यक्रम आगामी फागुन ८ गते सम्म सञ्चालन हुनेछ । यसअघि माघ १४ गते देखि २३ गते सम्म जिल्लाका विभिन्न स्थानमा कोरोना रोकथाम तथा व्यवस्थापनमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई खोप लगाइएको थियो । यस क्रममा स्वास्थ्याकर्मी,सहयोगी, स्वास्थ्य स्वयंम्सेविका, एम्बुलेन्स तथा शव व्यवस्थापन सवारी चालक गरि १७ सय २९ जनालाई खोप दिइएको स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो ।

पहिलो चरणमा खोप लगाउन छुटेका तर प्राथमिकतामा रहेका सरकारी कार्यालय, सार्वजनिक स्थान तथा बैंकका कर्मचारी, पत्रकार, जनप्रतिनिधी, सुरक्षाकर्मीलाई खोप लगाउने क्रम सुरु गरिएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देबप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

आइतबार बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई कोभिड–१९ विरुद्धको खोप लगाएर पहिलो चरणकै दोस्रो प्राथमिकतामा भएकाहरुलाई खोप लगाइएको हो । आइतवार ३५ जना महिला र १ सय ६५ जना पुरुष गरि २ सय जनालाई खोप लगाइएको छ ।

८ गते सम्म सञ्चालन हुने खोप कार्यक्रममा ४ हजार जनालाई खोप लगाइने घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार १ हजार ९ सय ६० डोज खोप जिल्लामा आइसकेको र बाँकी खोप मंगलबार सम्म आइपुग्नेछ ।

अब जिल्ला सदरमुकाम र पश्चिम बुर्तिबाङ बजारका साथै गलकोट प्राथमिक स्वास्थ्य केन्द्र र कुश्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि कोरोना बिरुद्धको खोप लगाउने तयारी गरिएको छ । कोभिड खोप जिल्ला समन्वय समितिका संयोजक प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको बैठकले गलकोट र कुश्मिशेरामा पनि खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको हो । अब अब मंगलबार र बुधवार पत्रकार सुरक्षाकर्मी, संस्थानमा कार्यरत कर्मचारी, फागुन ६ र ७ गते जनप्रतिनिधि, बैंकर्स, वित्तिय समूहका कर्मचारी र छुट भएका लक्षित वर्गलाई खोप लगाउने तय गरिएको छ ।

यसैगरी, ३ गतेदेखि ६ गते सम्म गते बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा खोप अभियान सञ्चालन गरिनेछ भने गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा आगामी फागुन ५ र ६ गते खोप लगाइनेछ । सोही दुवै दिनमै जैमिनी स्थित कुश्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि कोरोना विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलो चरणको खोप अभियान सकिए पछि दोस्रो चरणमा ज्येष्ठ नागरिकहरुलाई खोप केन्द्रित गरिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *