सम्पादकीय
भारतको उत्तरपूर्वी त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लवकुमार देवले गृहमन्त्री अमित शाहलाई उदृत गर्दै नेपालमा भाजपा सरकार गठन गर्ने विवादास्पद अभिव्यक्ति दिए पछि पुनः एक पटक नेपाल तरंगित छ । गत शनिबार त्रिपुरा गएका भारतीय जनता पार्टीका पूर्व अध्यक्ष समेत रहेका शाहले पार्टी बैठकमा भारतका सबै राज्यहरूमा भाजपाको सरकार बनाइसके पछि नेपाल र श्रीलंकामा पनि भाजपा विस्तार गरेर त्यहाँ पनि बिजेपीको सरकार बनाउन चाहेको बताएको इस्ट मोजोले लेखेको छ । यो किन र कुन नियतले बारबार सिंगो देश माथि धावा बोल्ने गरि आइरहन्छ ? र हाम्रो कुटनीतिक निकाय र सरकार मौनता साँधिरहन्छ ? यो अवश्य गम्भीर विषय हो ।
नेपालका विषयमा भ्रामक र दुष्प्रचारपूर्ण अभिव्यक्ति दिने, टिप्पणी गर्ने देव या शाह पहिलो भारतीय राजनीतिज्ञ होइनन् । यो कैयन वर्षदेखि दोहोरिरहेको नेपालको नियति हो । यसमा भारतका राजनीतिज्ञ मात्रै होइन, भारतीय सञ्चारमाध्यम र पत्रकारको भूमिका पनि उस्तै नकरात्मक देखिन्छ । विगतका केही घटना मात्रै केलाउने हो भने पनि त्यस किसिमका दुष्प्रचारलाई सघाउन भारतीय सञ्चारमाध्यमको भूमिका अहम् देखिन्छ । केही महिना अघि मात्रै जि न्यूजका एक भारतीय पत्रकारले सगरमाथा भारतको भएको आशय हुने गरि सनसनीपूर्ण खबर दिए । सन् २००० मा भारतको प्रतिष्ठित खबरपत्रिका इन्डिया टुडेले ‘द नेपाल गेम प्लान’ भन्ने लेख छाप्यो । भारतीय खुफिया एन्जेसी रअको रिपोर्टमा आधारित उक्त लेखमा नेपाललाई आतंकवादीको स्वर्गकै रूपमा चित्रण गरियो । पूर्वराष्ट्रपति प्रणव मुखर्जीको संस्मरणात्मक पुस्तक ‘द प्रेसिडेन्सिअल इअर्स’ मा समेत नेपालसम्बन्धी तथ्यहीन र दुष्प्रचारपूर्ण सामग्री समावेश छ । उनको पुस्तकमा नेपालका तत्कालीन राजा त्रिभुवनले भारतीय प्रधानमन्त्री नेहरूसमक्ष नेपाललाई भारतको एउटा प्रान्त बनाउन अनुरोध गरेको उल्लेख छ । तर, यसका बारेमा नेपालले कडा प्रतिवाद गरेन ।
अहिले भारतका गृहमन्त्री र मुख्यमन्त्रीले जे नेपालका बारेमा अभिव्यक्ति दिएका छन् । त्यो नेपाल जस्तो सार्वभौम मुलुकका लागि आपत्तिजनक विषय हो । यस्तो हेपाहा र अपमानजनक अभिव्यक्ति भारतिय राजनीतिज्ञले बेला बेला दिएर नेपाल भारतको छत्रछायामा छ या हुने घुमाउरो सन्देश दिन खोजिरहेको प्रष्ट हुन्छ । यसका बारेमा नेपाल सरकारले सामान्य चासो त राख्छ तर गम्भीरतापूर्वक यस्ता सवालमा संवाद नगरेको देखिन्छ । जसका कारण पटक पटक एकै खालको घटना र प्रवृत्ति दोहोरिरहेको छ । अहिलेको अभिव्यत्तिका बारेमा पनि गम्भीरतापूर्वक सिधा संवाद गर्न जरुरी छ । र यस्तो एक सार्वभौम देश प्रतिको बारबारको अपमानजनक अभिव्यक्ति बन्द गरोस् ।
भारतीयको अपमानजनक अभिव्यक्ति रोकियोस्
