सन्दर्भ प्रजातन्त्र दिवसः लोकतन्त्रलाई थप सबल बनाउ

सम्पादकीय
आज प्रजातन्त्र दिवस । नेपालमा फागुन ७ को दिन ऐतिहासिक र स्मरणीय छ । अत्यन्त कहालीलाग्दो शासन व्यवस्था फेरिएको दिन । जनताको हक अधिकार स्थपितमा उल्लेख्य रुपमा बदलाव आएको क्षण । नेपालमा जारी जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । २००७ सालको महान् जनआन्दोलन मार्फत सार्वभौम नेपाली जनताको अजेय शक्तिले निरकुंश जहानियाँ राणा शासनलाई घुँडा टेकाएको दिन फागुन ७ हो । आजको दिन नेपालको इतिहासमा सर्वाधिक गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा स्थापित छ ।

तर, आज फागुन ७ अथात् प्रजातन्त्र दिवस मनाउने सन्दर्भमा देश फेरी गम्भीर राजनीतिक संकटमा फसेको छ । दुई तिहाई जनमन प्राप्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार आफै सरकारमा पनि छ, सडकमा पनि छ । एक पक्ष सत्तामा पनि छ, अर्को पक्ष प्रतिपक्षको भूमिकामा छ । पाँच वर्षका लागि अभिमत प्राप्त प्रतिनिधिसभा विघटन गरिएको छ । अहिले यो मुद्धा सर्वोच्च अदालतमा बहस र विचाराधिन अवस्थामा छ । नेकपा बिधानतः बिभाजित नभए पनि औपचारिक रुपमा बिभाजित छ । दुवै पक्ष एक आपसमा छुद्र आरोप प्रत्यारोप सहित मैदानमा छन् । सरकार पक्ष नेकपा ताजा जनादेशका लागि निर्वाचनमा जाने उद्घोष गरिरहेको छ र अहिले सडकमा शक्ति प्रदर्शनमा छ भने यस इतरको नेकपा संसद पुर्नस्थापनाको माग सहित सडकमा चरणवद्ध आन्दोलन सहित बिरोध र शक्ति प्रदर्शनमै छ । अरु राजनीतिक दलहरु पनि वर्तमान सरकारको कदम असंवैधानिक र प्रतिगामी भन्दै बिरोधमा छन् ।

यस्तो संकट र सकस लाग्दो परिवेशमा प्रजातन्त्र दिवस मनाउने क्षण आएको छ । यो दिवसले अहिलेको राजनीतिक घटनाक्रम र अश्वस्थ प्रतिस्पर्धामा देश र जनताको भावना माथि खेलवाड गरिरहेका पात्रहरुले कति गिज्याएको होला ? नेपाली राजनीतिको बिडम्बना यो छ कि उनीहरुलाई कुनै लज्जाबोध छैन । बदलिँदो परिवेशमा राजनीतिक स्थिरता, विकास र समृद्धि तर्फ लोकचाहाना अनुसार अघि बढ्नुपर्नेमा फेरी देश उल्टो बाटो हिँड्ने त होइन ? भन्ने ठूलो संशय छ । अतः नेपालको संविधानले निर्दिष्ट गरेका मूल्य मान्यतालाई कदर गर्दै २००७ पछिका जनयुद्ध, जनआन्दोलन मार्फत प्राप्त संघीयता, गणतन्त्र र समावेशिता सहितको लोकतन्त्रलाई अब थप संस्थागत गर्ने दिशामा अघि बढ्नुको विकल्प छैन । प्रजातन्त्र दिवसले सबैलाई यसै दिशामा मुखरित हुन प्रेरित गरोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *