पत्रकार महासंघ, निर्वाचन र नेतृत्व

सम्पादकीय
हुन त यतिबेला देशकै निर्वाचनको चर्चा छ । पाँच वर्षका लागि अभिमत प्राप्त गरेर पनि दुर्भाग्यवश तीन वर्षमा फेरी निर्वाचनमा जाने वर्तमान सरकारले उद्घोष गरिसकेको छ । मुलुकमा नयाँ संघीय अभ्यास पछि पहिलो पटक स्थापित प्रतिनिधि सभा विघटन गरिएको छ । सरकारले नयाँ ताजा जनादेशका लागि आगामी बैशाख १७ र २७ का लागि निर्वाचन घोषणा गरेको छ । यद्यपि, संसद विघटनको मुद्धा सर्वोच्च अदालतमा बहसको विषय । यही अनुक्रममै नेपाल पत्रकार महासंघ पनि निर्वाचनमा जानुपर्ने बाध्यकारी अवस्था आएको छ ।

नेपाल पत्रकार महासंघको कार्यकाल बिद्यमान बिधानतः तीन वर्षको हुन्छ । यो गत वर्षको बैशाखमै सकिएको छ । कोरोनाका कारण ६ महिना अवधि थप गरियो । यसपटक नयाँ संघीय अभ्यास र परिमार्जित बिधान अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीमा पत्रकार महासंघले नेतृत्व चयन गर्ने अभ्यास गर्दैछ । यसर्थ पनि यस पटकको महासंघको निर्वाचन र नेतृत्व छनोट आफैमा विशेष महत्व राख्नेवाला छ । अर्को तर्फ देशमै पहिलो पटक नागरिकको अगुवा संस्थाको रुपमा पत्रकार महासंघले समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने र नयाँ संघीय अभ्यासको भावना र मर्म अनुसार तीनै तहमा संगठन संरचना बनाएर अभ्यास समेत थालिसकेको छ । प्रत्यक्ष निर्वाचन प्रणाली अनुसार अब पत्रकार महासंघका करिब १३ हजार सदस्यले नेतृत्व चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन् । पहिले सदस्य संख्याका आधारमा केन्द्रीय पार्षद छनोट गर्ने र तीनै पार्षदहरुले केन्द्रीय नेतृत्व छनोट गर्दथे । अब सबै जिल्लामा तीन वटा बाकस (जिल्ला, प्रदेश र केन्द्र)का लागि राखिनेछ ।

पत्रकार महासंघको बिधानतः केन्द्रीय महाधिवेशन समेत यसै साता गरिएको छ । यही महाधिवेशनमा निर्वाचनको मिति घोषणा गरिने अपेक्षा थियो । अधिकांश जिल्ला र प्रदेश यसका लागि तयार समेत देखिए । तर, सदस्यता विवाद लगायतका कारण मिति अझै घोषित छैन । देशको राजनीतिले कस्तो मोड लिने हो ? अनिश्चित छ । हुन त कोरोना कहरकै बीच उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन मार्फत नयाँ नेतृत्व छनोट गरियो । पत्रकार महासंघ अझै पनि निर्वाचनमा जाने विषयमा कतै संशय त छैन ? अब सरकारले के गर्छ ? भन्नेमा नअल्झिएर आन्तरिक समस्या, बाधा सुल्झाएर जतिसक्दो मिति घोषणा गरेर निर्वाचनमा जानुपर्छ । अरुलाई लोकतन्त्रको पाठ सिकाउने र प्रश्न गर्ने पत्रकारहरुले आफ्नो साझा संस्थामा पनि त्यो देखाउन सक्नुपर्छ । यसमा अब थप अलमल नहोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *