पहिलो पटक कोरोना खोप : पत्रकारको अनुभव

कोरोना महामारीको कारण विश्वभर त्रास छाइरहेको समयमा कोभिड विरुद्धको खोप आयो । विश्वका विभिन्न देशमा कोरोनाको खोप प्रयोगमा आइसक्दा पनि नेपालमा भने खोप कहिले आउने ?
कसले पाउने भन्ने बारेमा अन्यौलता थियो । तर, भारत सरकारले नेपाललाई अनुदान स्वरुप कोभिड विरुद्धको खोप दिएपछि फागुन २ गतेबाट पहिलो चरणमा अग्रपंक्तिमा खटिएका दोस्रो प्राथमिकताको आधारमा स्वास्थ्यकर्मी, कर्मचारी, पत्रकार र जनप्रतिनिधिलाई खोप लगाउन सुरु गरिएको छ । कोभिड विरुद्धको खोप लगाएका बागलुङका पत्रकारसँग आदर्शकर्मी साधना पन्तले गरेको कुराकानीः

खोपपछिको झुम्म चिया खाएपछि सकियो
प्रकाश बराल

फ्रन्ट लाइनमा खटिनेकालागि पहिलो चरणको खोप लगाउने कार्यक्रम सरकारले तय गरेपछि पत्रकार पनि पहिलो प्राथमिकतामा परे । स्वास्थ्य कार्यालयले मागे अनुसार नेपाल पत्रकार महासंघ बागलुङ ्शाखाले पठाएको नामाबलीमा मैलेपनि खोप लगाएँ ।

बुधवार साँढे ११ बजे खोप लगाउन जाँदा केही पत्रकार साथै थिए । कतिपय लगाउने की नलगाउनेमा डराएका थिए । मैले भने लगाउनै पर्छ भन्ने मान्यता राखेको थिए । त्यसैले खोप लगाइयो । सामान्यतया अन्य खोप भन्दा कोरोना बिरुद्धको खोप सजिलो रहेछ । सानो सुइ, छिटै लगाउने भएकोले खोप लगाइसकेछु भन्ने कुरापनि पछि मात्रै थाहा भयो ।

प्रोटोकल अनुसार ३० मीनेट आराम गर्ने भनेपनि पत्रकार भएको नाताले सबै साथीहरुको फोटो खिच्नपनि खटिएँ । केही समय आराम गरेपछि शरिर केही गह्रौ भयो । चिया खाजापछि शरिरमा बिस्तारै फुर्ती आयो । बेलुकीको नियमित खानापछि सुते । धेरै साथीहरुले सामाजिक संजालमा समस्या भएको लेखेपछि केही समय मनमा कुरा खेल्यो । तर लक्षणहरु केही देखिएन । सुइ लगाएको हात २४ घण्टा सम्म दुख्यो । तर नियमित कामलाई कतिपनि रोकिन । त्यसैले केही असर परेपनि मैले बाहिर देखाउन चाहिन । कोरोना खोप भनेको कोरोनाको भाइरसनै शरिरभित्र पठाउने भएकोले सामान्य लक्षण देखिने कुरा नौलो भएन । अन्य खोप लगाउँदापनि शरिरमा भाइरस भएमा प्रतिक्रिया जनाउँछ भन्ने पढेको थिए । तालिमहरुमा स्वास्थ्यकर्मीले पनि त्यसै भन्थे । त्यसैले केही असहज भएपनि शरिरमा भाइरस रहेछ भन्ने हुन्छ भन्ने मनमा थियो । त्यसैले मैले कोरोना खोप लगाएकै कारण असहज परिस्थिति व्यहोर्नु परेन ।

कोरोना विरुद्धको खोप निर्धक्क भएर लगाऔं
नारायण रिजाल

नेपाल सरकारले कोरोना विरुद्धको खोप पहिलो चरणको पहिलो प्राथमिकता अन्तरगतका लक्षित समुहलाई लगाउने कार्यक्रम सकिए सँगै पत्रकारहरुलाई पनि दोस्रो प्राथमिकतामा राख्यो ।

जिल्लामा क्रियाशिल विभिन्न संचार माध्ययममा कार्यरत संचारकर्मी साथीहरुले कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम तय भयो सोही अनुसार हामी पनि लगाईयो । यस अघि लगाएका स्वास्थ्यकर्मी, र राष्ट्रसेवक कर्मचारीहरुको अनुभव सुन्दा कसैले केही पनि हुँदैन, कसैले हल्का ज्वरो आएको टाउको दुखेका अनुभवहरु सुनाउँथे । मलाई डर भन्ने नै थिएन, किनकी यसको बारेमा पहिलो चरणमा लगाउनेहरुको अनुभव सुनिसकेको थिए । मलाई थाहा थियो कि जुन कुनै खोप लगाउँदा केही मात्रमा रियाक्सन त हुन्छ नै तर त्यो सामान्य रुपमा लिनुपर्दछ भनेर । फरक यति हो की यो कोरोनाको महामारीको विरुद्धमा ल्याएको नयाँ खोप अलिकति छिटो–छिटो निर्माण भएर आएको हो । त्यसैले यसले केही रियाक्सन गर्छकी भन्ने अलिअलि शंका त लाग्ने नै भयो तर पनि लामो समय देखी अनुसन्धान गरेर लगाउनका निम्ती उचित ठहर गरेर विश्वव्यापी प्रदान गरिएको हुँदा मनमा डर कम थियो ।

सरकारले हाम्रै लागि भनेर दिएको अवसरमा हामी सदुपयोग त गर्नुनै प¥यो । मलाई कोरोना विरुद्ध लड्नका लागि डराउने हैन साहस गर्नुपर्छ भन्ने लाग्यो । यो खोप लगाएपछि एक÷दुई दिन हल्का टाउको दुखे पनि दिर्घकालिन रुपमा सहज हुन्छ भनेर मैले कुनै डर र चिन्ता नमानी कोरोना विरुद्धको खोप लगाए । खोप लगाएपछि पहिलो दिन त खोप लगाए जस्तो अनुभव नै भएन भोलिपल्ट भने खोप लगाएको ठाउँमा हल्का दुखेको थियो तर पछि ठिक भयो । केही साथीहरुलाई सामान्य असहज भएको कुरा आएको थियो । साथीहरुलाई कस्तो छ भन्दै बारम्बार सोध्ने पनि गर्थै तर म आफ्नै काम गरेर बसे कुनै रियाक्सन भएन । जब खोप लगाएपछि बजारमा फैलिएको अनावश्यक हल्ला जस्तो यो खोप नभएको मलाई महशुस भयो । खोप लगाए पछि मलाई केही हुन्छ की भन्ने तिर भन्दा पनि खोप लगाईयो अब केही हुँदैन् भन्ने लाग्यो । हामी सवै निर्धक्क भएर खोप लगाउन तयार भएनौ भने कोरोना नियन्त्रण गर्न सम्भव छैन । कुनै पनि मनमा अनेक कुरा नखेलाउँ आफ्नो आत्मबल बढाएर निर्धक्क भएर खोप लगाऔं ।

कोरोना कहर र मेरो अनुभव
सन्ध्या आचार्य
स्टेशन म्यानेजर
शुभेक्षा एफ एम ९६.६ मेगाहर्ज

चिनको बुहान प्रान्तमा नयाँ खालको भाइरस आयो रे अनि मान्छे मरे भन्ने समाचार पढ्दा मन सिरिङ्ग हुन्थ्यो । २०७६ साल माघको सुरुवातमै हाम्रो देशमा पनि कोरोना संक्रमित फेला परे भन्ने समाचार आएपछी त झन् मन आत्तियो ।

ठूला देश मानिने चीन, ईटली, फ्रान्स अमेरिकामा दिनदिनै हजारौंको संख्यामा मान्छे मरेको खबर आईरहँदा नेपालमा पनि दिन प्रतिदिन संक्रमित थपिन थाले । त्यति मात्र नभएर नेपालको पाचौँ र छैटौ संक्रमित बागलुङकै भए । अब भने मुटुको धड्कन बढ्न थाल्यो । मुटुको धड्कन नबढोस् पनि कसरी रु म बिगत १० बर्ष अगाडिदेखि चिसोको एलर्जी र पिनासको बिरामी छु । यी रोग निको पार्न भन्दै म नपुगेको नेपालका राम्रा अस्पतालमा गनिएका अस्पताल कुनै बाँकी छैनन् । तर पनि रोग निको भएन । म दिनहुुँ जसो यहि रोगबाट पीडित थिएँ । उता कोरोना रोगको लक्षण पनि यसैसङ्ग मिल्दोजुल्दो थियो ।

मेरो रोगको बारेमा मेरो वरिपरि रहनुहुने सबैलाई थाहा थियो । नेपालमा संक्रमित थपिदै जाँदा मेरो घरपरिवार, इष्टमित्र मेरा शुभचिन्तक सबैले बिशेष गरी मलाई सुरक्षीत रहन सुझाव दिन्थे । सरकारले लकडाउन ग¥यो, घरभित्रै रहेर रिपोर्टिङ गरिरह्यौँ । लकडाउनकै समयमा काठमाडौ जाने आउने काम पनि पर्यो । सहकर्मी मित्र काठमाडौ गएर फर्केपछी संचारगृहमै क्वारेन्टाइन बसेर आर डि टि परिक्षण पछि बाहिर निस्किनु भयो । यसरी एकातिर काम, अर्कोतिर रोगको डर । घरबाहिर ननिस्कनु, दुरी कायम गर्नु भनेर सूचना प्रशारण त गरिन्थ्यो तर संचारकर्मिलाई घरभित्रै मात्र समाचार त के हुन्छन् र रु सुुरुसुरुमा फोनबाट कोरोना सम्बन्धी केही रिपोर्टिङ ग¥यौँ । पछि पछि बिदेशबाट आउने दाजुभाइले दुःख पाए कि भनेर प्रत्यक्ष भेटेर उहाँहरुको आवाज लिन थाल्यौँ र नगरपालिका समक्ष आवाज पु¥यायौँ । पछि नगरपालिकाले पनि धेरै राम्रो गरेको छ भन्ने प्रतिक्रिया आयो, यो सुन्दा खुशी लाग्यो ।

कर्म गर्ने मान्छेलाई काम भन्दा ठूलो अरु केही हुदैन रहेछ । म पनि कार्यक्रममा जान्थँे, सरकारले तोकेका मापदण्डलाई पनि सम्भव भए जति ख्याल गर्थेँ । कहिलेकाही दुरीमा भने तोकेजती हुदैनथ्यो । यसरी नै काम गरिरहँदा बिस्तारै डर पनि कम हुँदै गयो । तर अकस्मात नगरपालिकाका केही कर्मचारीलाई कोरोना संक्रमण पृष्टी भएसङ्गै सहकर्मी मित्रको पनि कोरोना रिपोर्ट पोजेटिभ आयो ।

अब भने निकै डरलाग्यो । विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितले छोएको ठाउँमा छुदा, एउटै बाथरुम प्रयोग गर्दा, १ मिटर भन्दा नजिक बस्दा कोरोना सर्ने भनाइ अनुसार म पनि कोरोनाबाट अछुतो रहेजस्तो लागेन किनकी कोरोना पोजेटिभ देखिएपछि पो साबधानी अपनाईन्छ त्यो भन्दा पहिले त ठिकै छ भन्ने समयमा संगै काम गर्ने सन्दर्भमा सावधानी अपनाइएन । अझ सहकर्मी मित्रको कोरोना रिपोर्ट पोजेटिभ आउनु भन्दा अघिल्लो दिनमा मलाई पनि ज्वरो आयो । मेरो भने पिसिआर गरिएको थिएन ।

कोरोनाको पोजेटिभ रिपोर्ट आएपछि सहकर्मी मित्र कुस्मिसेरा प्राथमिक स्वास्थ्य केन्दको अस्थायी कोभिड अस्पताल जानुभयो । कोरोना संक्रमण हुनेलाई भन्दा पनि कार्यलय संचालन गर्नेलाई चिन्ता हुन थाल्यो । यता डरमा बस्नुपर्ने, उता काम पनि गर्नुपर्ने । खानेकुरा तथा तरकारीहरु बाहिर लिन जान पनि सबैले नराम्रो मान्ने । पहिल्यैको पुर्ब तयारी पनि भएन । अब भने सबैले घर बार्न थाले । छिमेकीहरुले समेत नजिकै कोरोना आयो भन्दै हिडेको सुन्दा मन दुख्थ्यो ।

अफिस भुईतत्लामा थियो । कोठा पनि त्यहीँ थियो । नत आफु माथि जान पाइने नत कोहि तलसम्म आउने । मनमा अनगिन्ती कुरा खेलाउदै १७ घण्टा काम गरँे । त्यसको दुईदिन पछि कन्ट्याक ट्रेसिङमा परेकाले पीसिआर गरेँ । रिपोर्ट नआउँदा सम्मको क्षण कहालिलाग्दो भयो । रिपोर्ट के आउने हो भन्ने चिन्ता एकातिर, अर्कोतिर पोजेटिभ रिपोर्ट आयो भने संचारगृह के गर्ने भन्ने चिन्ता । कोरोना रिपोर्ट पोजेटिभ आयो भने यहाँको समाजले यहि बसेर काम गर्न पनि दिदैनथ्यो ।

आइसोलेसन कति दिन बस्नु पर्छ, बाचेर आइन्छ वा आइँदैन भन्ने कुराको पनि टुङ्गो थिएन । सस्थामा जिम्मेवार मान्छे नहुँदा बन्द गर्नुपर्ने अवस्था आयो भने के होला भन्ने यिनै कुरा मनमा खेली रह्यो ।
एतातिर सहकर्मीको स्वास्थ्यको चिन्ता थियो किनकी उहाँलाई पूरा लक्षण थियो । नेपालमा पनि कोरोनाका कारण धेरैको ज्यान गैसकेकाले झन् डर सृजना गरेको थियो । म आफुलाई रोग स¥यो कि भन्ने डर चिन्ता भन्दा पनि ठूलो चिन्ता सहकर्मी मित्रको स्वास्थ्य अबस्था र संस्थाको थियो ।

एउटा जिम्मेवार मान्छेका लागि शरीर भन्दा ठूलो जिम्मेवारी हुँदोरहेछ भन्ने कुरा मेरो अनुभवले महसुस गराएको छ । सहकर्मीलाई कोरोना पोजेटिभ देखिएपछी घरपरिवारबाट चिन्ता गरेर धेरै फोन गर्न थालेका थिए । पिसिआर गरेर आएपछि आमालाई फोन गरेर भनेकी थिएँ ‘मेरो पिसिआर गर्नु पर्दैन, म ठिक छु ब्यस्त छु केहिदिन फोन गर्दिन नआतिनुहोला’ । यता स्वास्थ्य सस्थामा रिपोर्ट गोप्य राखिदिन भनेकी थिए । संयोग भनौ या के भनौ आज पिसिआर गरेको भोलिपल्टनै रिपोर्ट आयो अनि नेगेटिभ । आहा कति खुशी लाग्यो । केहिदिन पहिले देखि हराएको निद्रा त्यो रात यति राम्रोसङ्ग निदाएँ कि रु त्यती मीठो निद्रा मलाई जीवनमा कहिल्यै परेको छैन होला सायद । अब भने केही शान्तिसङ्ग काम गर्न पाएँ । बजार जान पनि सहज भयो । केही समयमा सहकर्मीलाई पनि कोरोना ठिक भयो । सबै काम नियमित भयो ।

हामीले पहिले सोचेका पनि थिएनौ कि हाम्रो जस्तो गरिब अनि पछि परेको देशमा यति छिटो कोरोना विरुद्धको खोप आउँछ र लगाउन पाइएला भनेर । कोरोनाका अगाडि अमेरिका बेलायत जस्ता शक्तिशाली देश त हारेका छन् भने हामीकहाँ समयमा खोप आउँला लगाउँंला भन्ने सोचेका पनि थिएनौँ । तर नेपाल सरकारले पनि समयमै खोप शुरु ग¥यो । हामी पत्रकारलाई पनि दोश्रो प्राथमिकतामा राखेर फागुन ५ गते कोरोना खोप लगाउन पाउँदा धेरै खुशी महसुस भएको छ । महामारीबाट जोगिएर खोप समेत लगाउन पाउँदा आफुलाई भाग्यमानी ठानेकी छु ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *