स्वास्थ्य क्षेत्रमा ताराखोलाको फड्को

डम्मर बुढा मगर, बागलुङ
ताराखोला गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा पूर्वाधार तथा सेवा प्रवाहमा उल्लेख्य सुधार गर्न थालेको छ । गाउँपालिकाले प्रत्येक वडाका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्नका लागि आवश्यकताको आधारमा सामुदायिक इकाई स्थापना गरेको छ ।

गाउँपालिकाको पाँच वडामा ४ वटा स्वास्थ्य चौकी रहे पनि केही स्थानका नागरिकलाई स्वास्थ्य संस्था पुग्न कठिनाई भए पछि आवश्यकताको आधारमा वडा नम्बर १ र ४ मा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको हो । स्वास्थ्य इकाई स्थापना भएपछि स्थानीयले घण्टौ लगाएर साविक गाविसका स्वास्थ्य चौकी पुग्नु पर्ने बाध्यता अन्त्य भएको छ ।

गाउँपालिकाले वडा नम्बर १ मा अमरभूमि स्वास्थ्य चौकी, २ मा अर्गल स्वास्थ्य चौकी, ३ हिल स्वास्थ्य चौकी र ५ तारा स्वास्थ्य चौकी छन् । यद्यपी गाउँपालिकाले वडा नम्बर १ र ४ का स्थानीयलाई अपायक पर्ने भएपछि सामुदायिक स्वास्थ्य इकाई स्थपना गरेर सेवा प्रवाह गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापाले बताउनुभयो ।

थापाका अनुसार, विभिन्न स्थानमा ल्याव सेवा संचालन गरिएको छ । वडा नम्बर २ र ३ मा ल्याव सेवा संचालनमा आइसकेको छ भने वडा नम्बर १ र ५ मा राख्ने तयारी भइरहेको छ ।

वडा नम्बर १ का मनविर घर्ती मगरले गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएपछि निकै राहत मिलेको बताउनुहुन्छ । गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना नहुँदा एक घण्टा बढीको यात्रा गरेर अमरभूमि स्वास्थ्य चौकी माझखर्कमा पुग्ने गरेको उहाँको भनाई छ ।

‘अहिले गाउँमै औषधी पाइन्छ, पहिले त सामान्य उपचार गर्न पनि एक डेढ घण्टाको बाटो पार गरेर माझखर्क जानु पथ्र्यो,’ उहाँले भन्नुभयो ‘अहिले केही सामान्य घाउ भयो भने चोटपटक लाग्यो भने यही नै उपचार हुन्छ, पहिलेको जस्तो सकस छैन ।’

गाउँपालिकाले वडा नम्बर ४ मा स्थानीयको माग र आवश्यकतालाई मध्यनजर गर्दै दुई वर्ष अघि सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको थियो । गाउँपालिकाले स्थापना गरेको सामुदायिक स्वास्थ्य इकाईबाट सामान्य उपचार, परामर्शका साथै औषधी वितरण हुँदै आएको छ ।

सामुदायिक स्वास्थ्य इकाई नहुँदा यहाँका अधिकांश नागरिकहलाई करिब डेढ घण्टाको यात्रा गरेर हिल स्वास्थ्य चौकी र तारा स्वास्थ्य चौकीमा पुग्ने बाध्यता थियो । ‘पहिले त ज्वारो आउँदा, खोकी लाग्दा २ घण्टा हिँडेर कि तारा स्वास्थ्य चौकी कि हिल स्वास्थ्य चौकीमा जानु पर्ने बाध्यता थियो, सामुदायिक स्वास्थ्य इकाई भएपछि हामीलाई निकै सहज भएको छ,’ स्थानीय दलबहादुर खत्रीले भन्नुभयो ‘अहिले त औषधी पनि यही पाइन्छ, पहिलेको जस्तो टाढा जानु पर्दैन ।’

स्वास्थ्य क्षेत्रलाई प्रभावकारी गराउनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ३९ लाख ८६ हजार रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताउनुभयो । ‘यस वर्ष स्वास्थ्य क्षेत्रमा ३९ लाख ८६ हजार रुपैयाँ विनियोजन भएको छ, यसबाट स्वास्थ्य सम्बन्धी कार्यक्रम संचालन गरिएको छ, गरिँदैछ भने औषधी तथा अन्य सामग्रीहरु पनि व्यवस्थापन गर्ने काम भएको छ’ उहाँले भन्नुभयो ‘केही कार्यक्रमहरु गर्न बाँकी छन् ।’

शर्माले १२ लाख संघीय सरकारबाट आएको रकम र ६ लाख गाउँपालिकाले विनियोजन गरेको बजेटले औषधी तथा स्वास्थ्य सामग्री व्यवस्थापन गरेको बताउनुभयो । शर्माले गाउँपालिकामा निर्माण हुन लागेको ५ शैयाको ताराखोला आधारभूत अस्पतालका लागि १० गते टेन्डर आह्वान गर्ने तयारी छ । यो तत्काल ठेक्का सम्झौता गरेर काम सुरु हुनेछ ।

अस्पताल निर्माणको लागि ११ करोड लाग्ने अनुमान गरिएको र यसका लागि संघीय सरकारले ७ करोड सहयोग गर्ने बताउनुभयो । अहिले संघीय सरकारबाट ६९ लाख आइसकेको उहाँको भनाई छ । अस्पताल निर्माणमा अपुग रकम गाउँपालिकाले व्यवस्थाप गर्ने शर्माको भनाई छ ।

‘गाउँपालिकामा ५ शैयाको अस्पताल निर्माण हुन थालेको छ, जसको शिलान्यास भइसकेको छ, यसको लागत ११ करोड लाग्ने अनुमान गरेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत शर्माले भन्नुभयो ‘जसमा संघीय सरकारले ७ करोड दिने भनेको छ, ६९ लाख प्राप्त भइसकेको छ, बाँकी रकम गाउँपालिकाले व्यवस्थापन गर्नेछ ।’

आधारभूत अस्पतालको काम दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको शर्माको भनाई छ । उहाँले गाउँपालिकाले निशुल्क एम्बुलेन्स सेवा समेत दिन थालेको जानकारी गराउनुभयो । यो सेवा गर्भवती, सुत्केरी महिला तथा आकस्मिक बिरामी र घाइतेहरुको उपचार र उद्धारका लागि प्रयोग गरिनेछ ।

गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनले गुणस्तरीय स्वास्थ्य सेवा प्रदानका लागि करारमा भए पनि स्वास्थ्यकर्मी नियुक्ति गरेर सेवा दिइरहेको बताउनुभयो । उहाँले गाउँ–गाउँमा स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई निर्माण भए पछि घण्टौ लागेर हटिया र बागलुङ बजार पुग्नु पर्ने समस्याको समाधान भएको बताउनुभयो ।

‘स्वास्थ्य संस्थामा प्रभाकारी सेवा नहुँदा बिरामीहरुलाई गलकोटको हटिया बजार र बागलुङ बजार पठाउनु पर्ने बाध्यता थियो, अहिले ठाउँ–ठाउँमा भएका स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईबाट गुणस्तरीय सेवा दिन थालेपछि त्यो समस्या धेरै हद सम्म हटेको छ,’ उपाध्यक्ष पुनले भन्नुभयो ‘अझ सेवालाई प्रभावकारी बनाउन तर्फ हामी लागेका छौँ, सोही अनुसार काम पनि भइरहेका छन् ।

उहाँले कोरोना अस्पतालका लागि राखिएका डाक्टर र नर्सहरुलाई अहिले अन्य बिरामीको उपचारमा लगाइएको बताउनुभयो । कोरोना अस्पतालमा संक्रमित बिरामी नभए पनि अन्य बिरामीको उपचार गर्न लगाइएको पुनको भनाई छ ।

गाउँपालिकाले केही महिना अगाडि कोभिड अस्पतालका लागि एक जना डाक्टर र दुई जना नर्स नियुक्ति गरेको थियो । उपाध्यक्ष पुनले पहिले घण्टौ लगाएर स्वास्थ्य संस्था जानु पर्ने बाध्यतालाई गाउँपालिकाले समाधान गरेको बताउनुभयो । ‘अहिले पहिलेको जस्तो समस्या छैन, आधा घण्टाको समयमा स्वास्थ्य संस्था पुग्ने गरी व्यवस्थापन भएको छ, पहिले सामान्य उपचारका लागि घण्टौ यात्रा गर्नु पथ्र्यो भने अहिले त्यो हटेको छ,’ उहाँले भन्नुभयो ‘यसले स्थानीयलाई ठूलो राहत मिलेको छ, यसलाई थप सहज गराउनेमा हामी दृढ छौँ ।’

गाउँपालिकामा अहिले प्रशस्त औषधी र अन्य स्वास्थ्य सामग्रीको व्यवस्थापन भएको भन्दै विकटका बस्तीहरुमा हरेक महिना स्वास्थ्यकर्मी पठाउने र स्थानीयको स्वास्थ्य परीक्षण गर्ने र औषधी वितरण कार्यक्रम भइरहेको उहाँको भनाई छ ।

गाउँमा शून्य होम डेलिभरी गराउने उद्देश्यले विभिन्न कार्यक्रम गरिरहेको भन्दै पालिकामा भएका ४ वटा वर्थिङ सेन्टरलाई समेत व्यवस्थित बनाएको बताउनुभयो । ‘हामीले आमा र बच्चाको सुरक्षाका लागि वर्थिङ सेन्टरलाई व्यवस्थित बनाएका छौँ, अहिले पहिलाको जस्तो घरमै सुत्केरी हुने संख्यामा कमी आएको छ,’ उपाध्यक्ष पुनले भन्नुभयो ‘यस सम्बन्धी स्वास्थ्यकर्मी घर–घरमा गएर जानकारी गराउनु भएको छ, परामर्श दिने काम भएको छ, त्यसले गर्दा पनि होम डेलिभरी हुनेको संख्या कम भएको हो ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *