बागलुङमा बढ्यो गर्भपतन गराउने महिलाको संख्या

डम्मर बुढा मगर, बागलुङ
गाउँ गाउँमा स्वास्थ्य सेवाको पहुँच बढेसँगै बागलुङमा सुरक्षित गर्भपतन गराउने महिलाहरुको संख्या पनि बढ्दै गएको छ ।

धौलागिरी अस्पताल बागलुङ, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रसँगै जिल्लाका थप १० स्वास्थ्य संस्थाले सुरक्षित गर्भपत सेवा प्रद्धान गर्ने अनुमति पाएका छन् । तर यतिबेला धौलागिरी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र अन्य तीन वटा स्वास्थ्य केन्द्रले मात्र यो सेवा प्रद्धान गर्दै आएका छन् ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट आर्थिक वर्ष २०७६/०७७ मा ४२ जना महिलाले सुरक्षित गर्भपतन गराएका थिए । यो संख्या २० देखि ४० वर्ष उमेरसम्मका महिलाहरुको मात्र रहेको स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मिलन मल्लले बताउनुहुन्छ ।

उहाँका अनुसार चालु आर्थिक वर्षको हालसम्म ९९ जना महिलाले सुरक्षित गर्भपतन गराएका छन् । ९९ जना महिलानै २० देखि ४० वर्ष उमेर समुहका छन् । १२ हप्तासम्मको गर्भलाई बुर्तिबाङमै सुरक्षित गर्भपतन गर्न सकिने डाक्टर मल्लको भनाई छ ।

सन्तानको रहर पुगिसकेका दम्पत्तीले अस्थाई साधनको प्रयोग नगर्दा महिलाहरु गर्भवती हुने र गर्भपतनको लागि आउने गरेको उहाँको भनाई छ । ‘छोराछोरी धेरै छन्, तर पनि गर्भ रहि हाल्यो लौन डाक्टर साप फाल्दिनुप¥यो भन्दै आउने महिलाको संख्या धेरै छ,’ मल्लले भन्नुभयो सरकारले मान्यता प्रदान गरेका स्वास्थ्य संस्थामा मात्र नभएर जिल्लाको पश्चिम भागमा असुरक्षित गर्भपतन गराउने महिलाहरु पनि रहेको उहाँको भनाई छ ।

सरकारी स्वास्थ्य संस्थामा पनि गोपनियताको सुरक्षा हुन्छ, तालिम प्राप्त स्वास्थ्यकर्मी हुन्छन् तर अझै पनि प्राइभेट अस्पताल र क्लिनिकहरुमा असुरक्षित र अवैधानिक तरिकाले गर्भपतन गराउने गरेको सुन्नमा आउने मल्लको भनाई छ ।

‘हाम्रोमा सन्तान धेरै भएका, बच्चा सानै भएका महिलाहरु गर्भपतन सेवा लिन आउनु हुन्छ,’ डाक्टर मल्लले भन्नुभयो ‘कोही–कोही प्रेम सम्बन्धमा रहँदा असुरक्षित रुपमा यौन सम्पर्क हुँदा गर्भ बसेकाहरु पनि आउने गरेको पाइएको छ, यो संख्या अलि कम नै छ ।’

उहाँले तालीम प्राप्त स्वास्थ्यकर्मीबाट औषधी र औजार राखेर सुरक्षित गर्भपतनको सेवा दिइ राखेको बताउनुभयो । प्राइभेट अस्पतालमा अत्याधिक शुल्क तिरेर असुरक्षित गर्भपतन गराउदा महिलाको ज्यानै जोखिममा पर्न सक्ने कुरा गाउँ गाउँमा बुझाउन सके सरकारी मान्यता प्राप्त स्वास्थ्य संस्थामा गर्भपतन गराउन आउनेको संख्यामा वृद्धि हुने बताउनुभयो ।

गर्भपतन गराउन आउने महिलाहरुको सम्पूर्ण स्वास्थ्य जाँच गरि पाठेघर, बच्चाको अवस्था र गर्भवती महिलालाई जोखिमको अवस्था अध्यायन गरेर मात्र गर्भपतन गराउने गरेको उहाँको भनाई छ । १२ हप्ता सम्मको सुरक्षित गर्भपतन बुर्तिबाङमै गराए पनि त्यो भन्दा माथिको लागि धौलागिरी अस्पताल बागलुङमा रिफर गर्ने गरेको उहाँले बताउनुभयो ।

अशिक्षित, गरिबी र जनचेतनाको अभावको कारणले गर्भनिरोधक साधनको प्रयोग नगर्दा गर्भपतन गर्नु पर्ने अवस्था आउने भन्दै पटक–पटकको गर्भपतनले महिलाको शारिरीक र मानसिक स्वास्थ्यमा समेत असर पर्ने मल्लले बताउनुभयो ।

धौलागिरी अस्पताल बागलुङका नर्सिङ निरिक्षक मिलन बडुवालले कोरोना भाइरसको महामारी फैलिनुभन्दा पहिले हरेक महिना ५० जना महिला गर्भपतनको लागि आउने गरेको भएपनि पछिल्लो समयमा भने ३०/३५ जनामात्र आउने गरेको बताउनुभयो ।

१२ हप्ता सम्मको गर्भ महिलाको चाहना अनुसार गर्भपतन गर्न सकिने भएपनि त्यो भन्दा माथिको गर्भ पतन गराउनु परेमा विभिन्न प्रक्रिया हुने उहाँको भनाई छ ।

चालु आर्थिक वर्षको हालसम्म धौलागिरी अस्पतालमा १ सय ६५ जना महिलाले सुरक्षित गर्भपतन गराएका छन् । जसमा १५ प्रतिशत २० वर्ष मुनिका किशोरी रहेको बडुवालले जानकारी दिनुभयो । गत वर्ष यस अस्पतालबाट ६ सय महिलाले गर्भपतन गराएका थिए ।

स्वास्थ्य कार्यालयको तथ्याङ हेर्दा २०७६/०७७ मा ६ सय ३५ जनाले सुरक्षित गर्भपतन गराएका थिए । जस मध्ये ४८ जना २० वर्ष मुनिका किशोरी रहेका थिए भने ५ सय ८७ जना २० देखि ४० वर्ष उमेर समूहका थिए ।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४ सय ७ जनाले सुरक्षित गर्भपतन गराएका छन् । जसमा १७ जना २० वर्ष मुनिका किशोरी र ३ सय ९० जना २० वर्षभन्दा माथिका छन् ।

सरकारले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाईने कानुन बनाएको भएपनि २० वर्ष भन्दा कम उमेरका किशोरीहरु गर्भपतनको लागि आउने हुँदा सानै उमेरमा विवाह र गर्भवती हुने महिलाको संख्या पनि प्रसस्त रहेको पाइन्छ ।

स्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी घनश्याम सापकोटाले असुरक्षित यौन सम्पर्कका कारणले गर्दा नै गर्भपतन गराउनेको संख्या बढेको बताउनुहुन्छ । उहाँले गर्भपतनलाई हल्का रुपमा लिँदा हरेक वर्ष गर्भपतन गराउनेको संख्या बढेको बताउनुभयो ।

‘गर्भपतनलाई सामान्य रुपमा लिनु हुँदैन, यसले महिला र बच्चालाईनै जोखिमममा पार्न सक्छ,’ सापकोटा भन्नुहुन्छ ‘सुरक्षित यौन सम्पर्क गर्ने, परिवार योजनाका साधन प्रयोग गर्नेहो भने ज्यान जोखिममा पारेर गर्भपतन गराउनु पर्ने अवस्था आउदैन ।’

उहाँले स्वास्थ्य कार्यालयले सुरक्षित यौन सम्पर्क तथा ‘फेम्ली प्लानिङ’ का बारेमा जनचेतना मुलक कार्यक्रम गरि सचेत गराउने काम भएको भन्दै शिक्षित नागरिकले नै असावधानी पूर्वक शारिरीक सम्पर्क गर्दा समेत गर्भपतन गर्ने महिलाको संख्या बढेको बताउनुभयो ।

पारिवारिक दबाव, अवैध सम्बन्ध र असुरक्षित सम्पर्कले नै यो संख्या बढेको भन्दै परिवार योजनाका साधान, सवधानी अपनाएर शारिरीक सम्पर्क राखे यो संख्या कम हुने सापकोटाको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *