मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्डमा धमाधम कालोपत्रे

आदर्श अनलाइन, बागलुङ
पूष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ–पर्वत खण्डमा धमाधम सडक कालोपत्रे भइरहेको छ ।
साँघुरो र धेरै ठाउँमा जिर्ण प्रायः बनेको भूपी शेरचन राजमार्गलाई अहिले राष्ट्रिय गौरवको आयोजनाको रुपमा मध्यपहाडी लोकमार्गका रुपमा स्तारोन्नती गर्ने क्रम तिव्र छ ।

पश्चिम क्षेत्रको सर्वाधिक चल्तीको मार्ग भए पनि यस सडकमा यात्रा गर्न सकसपूर्ण भएकाले अहिले लोकमार्गको विस्तार र स्तरोन्नती सहित धमाधम सडक कालोपत्रे भइरहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजनाले जनाएको छ । पोखराबाट पर्वत हुँदै बागलुङ सम्मकोे ६२ किलोमिटर सडकमा धमाधम कालोपत्रेको काम भइरहेको छ ।

अहिले कास्की जिल्लाको हेम्जाको छ लेन र पर्वत जिल्लाको कुश्मा बजारबाट अर्मादी सम्मको दुई लेन सडकमा कालोपत्रेको काम भइरहेको छ भने घट्टेखोलाको पूलबाट कास्की नयाँ पुल सम्मको २५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिनुभयो ।

“कोरोना कहरका कारण केही ढिला भएको थियो, अहिले निकै द्रुत गतिका साथ सडक कालोपत्रे भइरहेको छ” मरासिनीले भन्नुभयो “भवितव्य नभए पोखरा–बागलुङ खण्डको काम यही असार सम्म सक्नेमा विश्वस्त छौं ।”

२०७४÷७५ मा पोखरा–बागलुङ खण्ड स्तरोन्नती गरी कालोपत्रे गर्न उक्त ६२ किलोमिटर सडकलाई चार खण्डमा विभाजन गरी तीन वर्षका लागि ठेक्का लगाइएको थियो । ठेक्का अवधी भित्र कोरोनाका कारण ५ महिना मात्रै समय अवधी थप गर्न सकिने आयोजना कार्यालय पर्वतका इञ्जिनियर उज्वल शर्माले बताउनुभयो ।

मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा–बागलुङ खण्डको ६२ किलोमिटर मध्ये झण्डै ४० किलोमिटर सडक कालोपत्रे भइसकेको छ । अहिले सबै खण्डमा पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अहिले पर्वत खण्डमा समेत सडक विस्तार र कालोपत्रे दुबै काम शुरु भइसकेको छ ।

कास्कीको हेम्जा खण्डको ५० प्रतिशत सडक कालोपत्रे सम्पन्न भइसकेको छ भने नयाँपुलबाट कुस्मा–बागलुङ खण्डमा करिब ३० प्रतिशत सडक कालोपत्रे भइसकेको छ । अन्य स्थानमा धमाधम कालोपत्रेका लागि बेस,–सब बेश तथा ग्राभेल बिच्छ्याउने काम भइरहेको छ । साँघुरो कालोपत्रे सडक भत्काएर दुई लेन र चार लेन र छ लेनमा विस्तार गरी कालोपत्रे भइरहेको छ ।

लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ खण्डको कास्की जिल्लाको हेम्जा स्थित याम्दी पुल देखि यताको ६ किलोमिटर सडक शर्मा एण्ड कम्पनी जेभी, हेम्जाको दोस्रो खण्डको घट्टे पूुल सम्मको ६ किलोमिटर सडक स्वच्छन्द÷इलाइन्ट जेभी, घट्टेखोला देखि कास्की नयाँपुल सम्मको २५ किलोमिटर सडक श्रेष्ठ÷दिवा÷एपेक्स जेभी र नयाँपुल देखि बागलुङ र पर्वतको सिमाना स्थित मालढुङ्गा सम्मको २५ किलोमिटर सडक लामा कन्ट्रक्सनले निर्माणको जिम्मा लिएको छ ।

छ लेनको सडक रहेको कास्कीको याम्दी पुल देखि फेदीखोला नजिककैको ११ किलोमिटर र फेदिखोला सम्मको डबल लेनको एक किलोमिटर सडकको भौतिक प्रगति ८० प्रतिशत पुगेको आयोजना कार्यालयका कास्की खण्डका इन्जिनियर अनन्त बरालले बताउनुभयो ।

६२ किलोमिटर सडकको लागत अनुमान झण्डै चार अर्बको रहेको मध्यपहाडी लोकमार्गले जनाएको छ । शुरुमा झण्डै ५.५ मिटर चौडा रहेको भूपि शेरचन राजमार्गलाई मध्यपहाडी लोकमार्ग भएपछि हेम्जामा ६ लेनको झण्डै १० किलोमिटर ३० मिटरको चौडा, कुस्मा बजारमा २ किलोमिटर सडक चारलेनको २२ मिटिर चौडा र अन्य सडक दुई लेनको १० मिटर चौडा पारिएको हो ।

६ लेनको १० किलोमिटर र अन्य सडक छुट्टाछुट्टै प्रविधिबाट कालोपत्रे गरिरहेको आयोजनाका इन्जिनियर शर्माले जानकारी दिनुभयो । ६ लेनको सडक अलकत्रासंग घोलिएरको चिप्स गिटिले कालोपत्रे गरिएको छ भने अन्य सडक खण्ड अलकत्रा बिच्छ्याइए पछि चिप्स गिटी मात्रै हालेर कालोपत्रे भइरहेको छ । आयोजनाको पोखरा बागलुङ खण्डले तिब्रता पाए पनि ठेक्का शुरु गरेको चार वर्ष सम्म बागलुङ देखि रुकुम खण्डको १४० किलोमिटर सडकमा अझै ४६ किलोमिटर सडक कालोपत्रे हुन बाँकी छ । निसीखोला खण्डमा कालोपत्रे गर्ने कामको सन्तोष जनक अवस्था रहे पनि बागलुङ बजारबाट घोडाँबाधे सम्मको २५ किलोमिटर सडक कालोपत्रे हुन सकेको छैन ।

घोडाबाँधेदेखि खर्बाङसम्मको ३५ किलोमिटरमा सबै भागको काम सकिएको छ । पर्वत र बागलुङ खण्डमा पर्ने २ सय ४ किलोमिटर मध्ये बागलुङमा पर्ने १ सय ९९ किलोमिटर क्षेत्र आयोजनाले प्राथमिकतामा राखेको छ ।

२६ जिल्लाका सर्वसाधारणलाई फाइदा हुने गरी २०६४ सालमा डिजाइन गरिएको लोकमार्ग अन्तर्गत पश्चिम क्षेत्रका लागि मात्रै ३९ अर्ब बजेट विनियोजन भएको छ । आयोजनाको कास्की–पर्वत खण्डमा मात्रै ३ अर्ब २५ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *