मध्य पहाडीले लोकमार्गले फेरियो निसीवासीको जनजीवन

डम्मर बुढा मगर, बागलुङ
मध्य पहाडीलोक मार्गले जोडिएपछि निसीखोलावासीको जनजीवनमा परिवर्तन आएको छ । जिल्लाको सुदुर पश्चिमा पर्ने यो क्षेत्र लोक मार्गले बिच भागबाटै चिरेर रुकुमसँग जोडिएपछि विकासका ढोकाहरु खुलेका छन् ।

यातायातको पहुँचसँगै स्थानीयले अन्य सेवाको पनि सहज रुपमा लिन थालेका छन् । सडकले नजोडिदा निसी–बागलुङ बजार आउन जान ६ दिन लाग्ने गथ्र्यो । संचारको पहुँच समेत पुगेको थिएन । सरकारी निकायका कर्मचारी दुर्गम भत्ता खाने गर्थे । बसाइँसाराइ गरेर जाने क्रम बढ्दो थियो । तर यातायातको पहुँच पुगेपछि स्थानीयले घर नजिकैबाट सेवा सुविधाको उपभोग गर्न पाएको बताउँछन् ।

लोक मार्गले जोडिएपछि यातायातमा सहजता भएसँगै सामान ढुवानीमा समेत सजिलो भएको स्थानीय मनबहादुर घर्ती मगरले बताउनुभयो । उहाँले खाद्यान्न लगायतका सामान ढुवानी गर्न घोडा खच्चडको प्र्रयोग गर्नु पर्ने बाध्यता हटेको भन्दै अहिले गाडी मार्फत ढुवानी गर्न थालेको घर्तीले बताउनुभयो ।

‘सडक नआउँदा हामी दिनभर लगाएर बुर्तिबाङबाट सामान ढुवानी गर्नुपथ्र्यो, अहिले त्यो समस्या हटेको छ,’ घर्ती मगरले भन्नुभयो ‘सडकले गाउँले सबैको जीवन परिवर्तन गरि दिएको छ, बुढापाकाहरु पनि निकै खुसी हुनु भएको छ ।’

आफ्ना पुर्खाहरुले तम्घास, बुटवल, पाल्पा लगायतका ठाउँहरुबाट सामान बोकेर उपभोग गरेको सुनाउँदै आफूहरुले त्यो समस्या भोग्न नपरेको घर्ती बताउनुहुन्छ । उहाँले अब घोडा खच्च र मान्छेले नै बोकेर सामान ढुवानी गर्नु पर्ने बाध्यता हटेको बताउनुभयो ।

‘हाम्रा बाउ बाजेहरुले धेरै दुःख संघर्ष गर्नु भयो, बुटवल, तम्घासबाट नुन चामल बोकेर उपभोग गर्नु भयो, अब हामीलाई त्यो समस्या भोग्नु पर्ने अवस्था रहेन, सडक नआउँदासम्म त हामीहरुले पनि बुर्तिबाङसम्म पुगेर सामान ल्याउने गथ्र्यौँ,’ घर्तीले भन्नुभयो ‘८/१० वर्ष भयो त्यसरी बोकेरै सामान ढुवानी गरिएको छैन, सबै गाडी मार्फत ढुवानी हुन्छ ।’

निसीखोलाको अधिकांश क्षेत्रमा विषेश गरि जडिबुटि, भाँगो र भेडाबाख्राहरु बढि मात्रामा उत्पादन हुने गर्छ । सडकले जोडिएपछि यहाँ उत्पादन हुने उत्पादित वस्तुहरु बजारसम्म पु¥याउन थप सहजता भएको स्थानीय बलिभद्र बुढा मगरले बताउनुभयो । सडकसँग ग्रामीण क्षेत्र नजोडिँदा गाउँमा उत्पादन हुने सामग्रीहरु खेर गएको भन्दै अब गाउँमा उत्पादन भएका सामग्रीहरुले सहज रुपमा बजार पाउन थालेको बुढा मगरले जानकारी दिनुभयो ।

निसीखोलाको वडा नम्बर ५ र ६ मा छुट्टै भेषभूषा, कला संस्कृति र रीतिरीवाजको उत्दगम स्थल भएको भन्दै प्रचारप्रसारमा समेत सहज भएको उहाँको भनाई छ । सडकले नजोडिएको अवस्थामा गाउँका कला संस्कृतिहरु स्थानीय स्तरमा मात्रै सिमित भएको भन्दै अहिले जतातै प्रचार हुन थालेको बताउनुभयो ।

सडकले जोडिएपछि सडक छेउछाउमा बस्ती बढ्न थालेको भन्दै जग्गा जमिनको मूल्य समेत आसिदै गएको उहाँको भनाई छ । सडक नआउँदा प्रति आनाको १० हजार पर्ने जग्गाको मूल्उ अहिले ५ लाख रुपैयाँमा कारोबार गरेको स्थानीय मगरले बताए ।

‘गाउँमा सडक नआउँदा बाँझैं रहेका जग्गाहरु अहिले घडेरीमा परिणत भएका छन्, हिला २०/२५ हजारमा विक्री नभएका जमिन अहिले लाखौँ पर्न थाले’ उनले भने ‘गाउँमा सडक आउला भनेको थिइनौं, सडक आएपछि त निकै विकास भएको छ, गाउँमा भएका जग्गाहरु उतिबेला सित्तैमा बेचियो र तराईमा घडरी किनियो अहिले गाउँमा सडक आएपछि तराईमा जग्गा किनेर पछुताउनु परेको छ ।’

निसीखोला गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सूयबहादु घर्ती मगरले सडकले निसीवासीको जीवननै परिवर्तन गरेको बताउनुभयो । लोक मार्गले गाउँ नजोडिएको अवस्थामा यहाँका स्थानीयहरुले निकै समस्या भोग्नु परेको भन्दै अहिले विकासको अनुभूति गर्न पाएको बताउनुहुन्छ ।

‘यस ठाउँमा कम मात्रामा खाद्यान्न उत्पादन हुन्छ, त्यसले गर्दा सबै सामान बजारबाट ल्याउनु पर्ने हुन्छ, बजारबाट ल्याउँदा निकै समस्या थियो,’ उहाँले भन्नुभयो ‘गाडी चल्न थाले पछि यहाँका नागरिकको धेरै समस्या समाधान भएका छन् ।’

उहाँले सडक आएसँगै स्वास्थ्य, शिक्षा, खानेपानी लगायत विकासका पूर्वाधारहरुले समेत फड्को मारेको अध्यक्ष घर्ती बताउनुहुन्छ । गाउँमा उत्पादन हुने आलु, भाँगो, सिमी लगायतका सामग्रीहरु बजार पु¥याउन समेत सहज भएको उहाँको भनाई छ ।

अध्यक्ष घर्तीले सडकले गर्दा रहनसहन र बानी व्यवहार समेत सुधार हुँदै गएको बताउनुभयो । ‘अब पहिलेको जस्तो छैन निसी भल्कोट निकै परिवर्तन भएको छ, यहाँका नागरिकको जीवनसँगै आनीबानी र अन्य पक्षमा समेत विकास भएको छ,’ अध्यक्ष घर्तीले भन्नुभयो ‘पहिला पिडिएको ठाउँ भएको हुँदैएकै चोटी ह्वात्तै विकास हुन नसेको हो, अब एक किसिमको खाका तयार भएको छ, विकासले खड्को मार्न धेरै समय लाग्दैन ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *