साधना पन्त
जीवनका उतार चढावलाई जसले सहज र स्वभाविक रुपमा ग्रहण गर्दछ, त्यो व्यक्ति नै अन्ततः सफल हुन्छ । मानव जीवनमा धन सम्पति जरुरी छ, तर अमुल्य जीवन पैसा कमाउनका लागि मात्र होइन । आफ्नो इमान्दारिता र राम्रो कामको छाप छोडेर बाँच्ने जीवनको सन्तोष र आनन्द पृथक हुन्छ ।
पैसाका लागि जे पनि गर्न तयार हुने समाजमा शारीरिक अपांगताका बाबजुद होमनाथ शर्मा आदर्श सोच र भावनाका साथ संघर्षरत हुनुहुन्छ । २०३७ सालमा जैमिनी नगरपालिका वडा नम्वर ५ बिनामारेमा जन्मिनु भएका ४१ वर्षिया शर्मा केही वर्ष यता सदरमुकाममा व्यवसाय गर्नुहुन्छ ।
‘मानिसलाई सबै कुराले जीवनमा साथ दिन्छ भन्ने नहुँदो रहेछ, यति हो कि जीवनमा जोश र जाँगर दृढतालाई कहिल्यै मर्न दिनु हँुदैन,’उहाँले भन्नुभयो, ‘सपाङ्ग भए पनि इच्छा शक्ति, जोश, जाँगर भएन भने कमजोर हुन्छ, जीवन नै अभिसाप सावित हुन्छ, अपाङ्गता भए पनि इमान्दार, सीप कौशल, मेहेनति र क्षमतावान भएमा कसैले पनि काम गरेर खानबाट रोक्न सक्दैन ।’
जन्मदा सपाङ्ग जन्मिनु भएका होमनाथको ६ वर्षको उमेरमा देब्रे खुट्टा भाँचियो । उपचार गराउनका लागि पोखरा पु¥याउनु पर्ने भयो । त्यो समयमा सवारी साधनको समस्या थियो । गाउँमा बाटो आएको थिएन, त्यसकारण बाबाले बोकेर हिँडेरै नौडाँडा सम्म पुगेर बस चढेका रहेछौ । पोखरा गएर खुट्टा प्लास्टर गरी होमनाथलाई घरमा ल्याइयो ।
‘बच्चा त हो एउटा खुट्टा भाचिए पनि खेल्नका लागि प्लास्टर गरेको खुट्टा संगै खच्याङ खच्याङ गरेर साथीहरु ससँग जान्थे । खुट्टाको प्लास्टर फुकाउने समय नजिकिँदै गयो तर फेरी पोखरा जानका लागि सम्भव थिएन । बाबाले गाउँमै त्यो समयमा औषधी बिक्री गर्ने भएकाले आफै प्लास्टर फुकाई दिनुभयो तर, दुर्भाग्यबस खुट्टा जोडिएको रहेनछ,’ होमनाथले आफ्नो विगतको दुर्दान्त कथा सुनाउदै भन्नुभयो, ‘अहिले जस्तो समय भएको भए पनि फेरी अस्पताल गएर उपचार गरिन्थ्यो होला तर, त्यो समयमा गाउँमा शिक्षा, चेतनाको कमी थियो । केही गरिएन र जीवनभरका लागि सकस पाउने अवस्था बन्यो ।’
फेरी ८ वर्षको उमेरमा होमनाथको जीवनमा अर्को बज्रपात आइलाग्यो । उहाँको दाहिने खुट्टा भाँचियो । उपचार गरियो तर पहिलेकै कुरा दोहोरियो । होमनाथ भन्नुहुन्छ–‘मलाई खेल्न मात्र मन लाग्ने, कसैले भनेको नमान्ने । फेरी पनि खुट्टामा समस्या आयो, खुट्टा निको भएन । त्यो समय गाउँमा शिक्षा, चेतनाको कमी थियो । यातायातको सुविधा थिएन । यसकारण जे जस्तो भए पनि गाउँमै जडिबुटी खाने झारफुक गर्ने र बस्ने चलन थियो । एक पटक होइन, दुवै खुट्टा पालो गरी गरी एकै ठाउँबाट ८ पटक सम्म भाँचियो तर, उपचार गरिएन । अन्ततः जीवन भर अपाङ्ग भएर बाँच्नु प¥यो ।
अपांगता भए पछि होमनाथ लौरीको सहारामा दैनिकी सुरु गर्नुभयो । आफ्ना साथीलाई १५ मिनेट लाग्ने बाटोमा १ घण्टा लगाएर पनि विद्यालय पढ्नका लागि होमनाथ पुग्नुभयो । साथीहरुले, शिक्षकले जिस्काउने, हेयका दृष्टिले हेर्ने, उपेक्षा अपमान गर्दा मनमा चसक्क परेको होमनाथ बताउँनुहुन्छ ।
कक्षा १० मा पढ्ने क्रममा फेरी होमनाथको खुट्टा भाँचियो । उहाँ एसएलसीको तयारीमा हुनुहुन्थ्यो ।
एसएलसी दिन पाउनु भएन । होमनाथलाई खुट्टाको उपचारका लागि पोखरा लगियो । तर, उपचार सफल भएन ।
होमनाथले जैमिनी नगरपालिकाको श्री जनक माध्यामिक विद्यालय बिनामारेबाट कक्षा १० सम्म पढेर आफ्नो शैक्षिक यात्रालाई रोक्नुपर्ने विवशता आइलाग्यो । पटक–पटक एकै ठाउँबाट खुट्टा भाँचिदा होमनाथको अवस्था गम्भीर भएकै कारण पढाइलाई रोक्नु परेको उहाँ बताउनुुहुन्छ ।
होमनाथको परिवार र अभिभावकलाई छोराको भविष्यको विषयमा चिन्ता हुन थाल्यो । त्यो समय होमनाथ २० वर्षको उमेरमा हुनुहुन्थ्यो । उहाँको बाबाले आफ्ना साथीसँग सल्लाह गर्नु भएछ–छोराको पढाई भने जस्तो भएन, अब के गर्ने भनेर ? जिल्लामा साथीहरुसँग सल्लाह लिएर होमनाथलाई १ वर्षका लागि घडी, रेडियो, टिभी मर्मत गर्न सिक्नका लागि काठमाडौ जाने निर्णय भयो ।
‘म सानै उमेरबाट आफ्ना लागि आफै गर्नुपर्दछ भनेर आफ्नो पकेट खर्च आफै कमाउने गर्दथे । सानै उमेरबाट गाउँमा डोको, नाम्लो बुन्ने गर्दथे । डोको नाम्लो बुनेर आफ्नो खर्च चलाएको थिए,’ उहाँले भन्नुभयो, ‘काठमाण्डौ तालिमका लागि जाँदा आफैले डोको नाम्लो बुनि बेचेर कमाएको अलिकति पैसा थियो, त्यही लगेर गएको थिए ।’
उहाँ एक वर्ष तालिम लिएर गाउँ फर्किनु भयो । आफू जन्मिएकै ठाउँमा सानो भए पनि पसल संचालन गर्ने मनसाय पलाए पछि जैमिनी नगरपालिकाको कुश्मिसेरामा ६० हजारको लगानी गरेर आफै पहिलो घडी, रेडियो र टिभी मर्मत पसल संचालन गर्नुभयो । उहाँ ५ वर्ष आफ्नै ठाउँमा सेवा दिए पश्चात ०६२÷६३ को जनआन्दोलन पछि बागलुङ बजार आउनुभयो ।
बागलुङ बजारमा नयाँ व्यवसाय गर्ने सोचले झर्नुभएका होमनाथ संग ७० हजार पैसा मात्र साथमा थियो । होमनाथ भन्नुहुन्छ–‘मेरो फुपुको छोराले बागलुङ बजार आए आफूले साथ दिने बताए, म छु भनेर होमनाथलाई १ लाख ऋण समेत दिनुभयो । फुपुको छोराले दिएको १ लाख र आफ्नो ७० हजारले बागलुङ बजारमा प्रतिक इलोक्ट्रोनिक्स व्यवसाय सञ्चालन गरेको उहाँको भनाई छ । १ लाख ७० हजारमा सुरु गरेको पसलमा अहिले ५ लाखको सामान मात्रै छ ।
बागलुङ बजार झरेसँगै फेरी होमनाथलाई आफ्नो पढाई अगाडि बढाउन मन लाग्यो । पुनः होमनाथले २०६८ सालमा विद्या मन्दिर माध्यमिक विद्यालयबाट एसएलसी पास गर्नुभएको थियो । होमनाथ भन्नुहुन्छ,–‘२५ वर्षको उमेरमा विवाह गरेको थिए । मेरी श्रीमती पनि शारीरिक रुपमा अपाङ्ग हुनुहुन्छ । विवाह गर्ने समयमा मलाई धेरै मानिसहरुले आफू जस्तै विवाह गरेछ । कसरी गरी खाने होला ? दुःख पाउने भए भन्थे तर, अहिले हामी बुढाबुढी मिलेर गर्दा रहेछन्, सक्दा रहेछन् भनेर सावित गरेका छौ ।’ होमनाथ दम्पतिका एक छोरा र एक छोरी छन् । शारीरिक अपाङ्गता भए पनि श्रीमतिले बहिरा बिद्यालयमा अध्यापन गराउनु हुन्छ । आगामी दिनमा हामी दुवै जना मिलेर अहिले गरी राखेको प्रतिक इलोक्टोनिक्सलाई थप व्यवस्थि तगर्ने उनीहरुको योजना छ ।
पटक–पटक खुट्टा भाँचिदा उहाँका दाजुभाइ र दिदीले बोकेर विद्यालय पढाउन लग्नु हुन्थ्यो रे । दाजु भाइ र दिदीको मायालाई जीवनभर भुल्न नसक्ने होमनाथ बताउनुहुन्छ । ‘मानिसमा आत्मबल बलियो हुनु पर्दछ । मानिसको सोचाई नकारात्मक नभए पुग्छ । शारीरिक बनावटले केही फरक पार्दैन,’ उहाँले भन्नुभयो, ‘६ वर्ष देखी २० वर्ष सम्मको दौरानमा ८ पटक खुट्टा भाँचिदा मेरो मनोबल थोरै पनि घटेन । मलाई कहिल्यै लागेन कि मैले केही गर्न सक्दिन भन्ने । धेरै मानिसहरुले मलाई यस्तो भएर बाँच्नु भन्दा त मरेको भए पनि हुन्थ्यो भन्ने समेत धेरै सुन्ने गरेको होमनाथको भनाई छ । तर, यसले आफूलाई कमजोर र निराश नभई अझ बढी मेहनत र समर्पित भएर काम गर्न बल मिलेको उहाँ बताउनुहुन्छ । पहिले कठैबरा भनेर मरे पनि हुन्थ्यो भन्नेहरु नै अहिले धेरै राम्रो गरेको भनेर प्रशंसा गर्ने गरेको होमनाथको अनुभव छ ।
हाम्रो समाजमा अपाङ्गता भएका मानिसहरुलाई अहिले पनि हेर्ने दृष्टिकोण फरक रहेको होमनाथ बताउनुहुन्छ । ‘म अपाङ्गता जिल्ला सञ्जालको सचिव भएर काम गरिराखेको छु । आफू अपाङ्गता भएकै कारण धेरै हेपाइ सहनु परेको पनि छ । तर, त्यो हेपाई अगाडि बढ्नका लागि बाधकको रुपमा लिएको छैन, बरु जीवनमा आउने स्वभाविक चूनौतिको रुपमा लिने गर्दछु,’ उहाँले भन्नुभयो । समय बदलिए पनि मानिसको सोच नबदलिएको होमनाथ बताउनुहुन्छ । कसैको आस भरोसामा बाँच्न नपर्ने जीवन जिउनु नै ठूलो कुरा भएको उहाँको भनाई छ ।