काठेखोलाका सहकारीकर्मीलाई तालिम

आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिकाको आयोजनामा ४ दिने सहकारी तथा कोपोमिस सम्बन्धी सचेतना तालिम आइतवारदेखि शुरु भएको छ ।

पालिका भित्रका सहकारीहरुलाई सहकारी ऐन नियमको पालना गराउदै सहकारी सञ्चालनमा प्रभावकारीता ल्याउन तथा पालिकाको योजना र लक्ष्य अनुसार सहकारीहरुलाई सदस्य केन्द्रीत भएर काम गर्न अभिप्रेरित गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको पालिकाले जनाएको छ ।

काठेखोला गाउँपालिकामा डिभिजन सहकारी कार्यालयबाट फाइल आएका र पालिकामा दर्ता भएका गरी करिव ४ दर्जन सहकारी संस्थाहरु रहेका छन्, ति सबै सहकारीहरुलाई सहकारीको मर्म र भावना अनुसार सञ्चालनमा सहजता प्रदान तालिम सहयोगी हुने जनाइएको छ ।

तालिमको शुभारम्भ गर्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले सहकारीहरुलाई स्थानीय स्रोत र साधनका अधिकतम परिचालनका लागि सक्रिय बनाउन, ऐन नियमको कार्यान्वयनका लागि गाउँपालिकाको समन्वयकारी भूमिका रहने बताउनुभयो ।

पालिकाले सहकारीहरुलाई प्रद्धर्वनका लागि सहयोग गर्छ, उत्पादनका क्षेत्रमा काम गर्ने सहकारीहरुलाई अनुदान सहयोग गर्ने नीति बनाएका छौ, अध्यक्ष थापाले भन्नुभयो–सहकारी माध्यमबाट उत्पादनको काम गर्नेहरुलाई अनुदानमा प्राथमिकता दिन्छौ ।

अनुदान पाउनका लागि होइन सही रुपमा सदस्यहरुको आर्थिक सामाजिक अवस्थामा रुपान्तरणका लागि सहकारीहरुले काम गर्नु पर्नेमा उहाँको जोड थियो ।

तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी, काठेखोला गाउँपालिकाका सूचना अधिकृत विजय गौतम, पालिकाका सहकारी शाखा प्रमुख उत्तम पौडेल लगायतले सहजीकरण गर्ने जनाइएको छ ।

सहकारी ऐन तथा नियमावली, अनुगमन तथा नियमन, सहकारीमा कोष परिचालन, कोपोमिस, सम्पत्ती सुद्धिकरण लगायतका विषयमा सहजीकरण गरिने सहकारी शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *