चर्कियो बागलुङ र पूर्वी रुकुमको सीमा विवाद

डम्मर बुढा मगर, बागलुङ
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको भूमे गाउँपालिकाको सीमामा वर्षौदेखि विवाद कायमै छ । भूमे गाउँपालिकाले २०७४ सालमा बागलुङको भू–भागमा आएर गेट निर्माण गर्न थालेपछि विवाद बढेको थियो । विभिन्न समयमा उत्पन्न विवादलाई टुंग्याउने प्रयास गरिए पनि बिफल हुँदै आएको छ ।

दुबै जिल्लाका सरोकारवाला बीच शनिबार भूमे गाउँपालिकामा भएको अन्तरक्रियाबाट चैत महिनामै सिमा विवाद टुंग्याउन पहल गर्ने निष्कर्ष छ ।निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले मध्य पहाडी लोकमार्गले जोडिएका दुइ जिल्लाको सिमानामा भौतिक संरचना निर्माण गर्न थालेपछि विवाद उत्पन्न भएको बताउनुभयो । भूमे गाउँपालिकाले निसीखोलाको भू–भागमा आएर प्रवेशद्वार (गेट) बनाउन थालेपछि विवाद बढेको उहाँको भनाई छ । बागलुङको भूमिमा आएर गेट बनाउन थाले पछि निर्माण गर्न रोक लगाएको निसीखोला गाउँपालिकाले जनाएको छ ।

‘भूमे गाउँपालिकाले बागलुङको भू–भागमा आएर गेट निर्माण गर्न थालेको थियो, हामीले गेट बनाउने काम रोक्यौँ, त्यति बेला नै मिल्ने कोसिस गरियो तर सम्भव भएन’ अध्यक्ष पौडेलले भन्नुभयो ‘त्यसपछि विवाद सिर्जना भएको अझै सुल्टिन सकेको छैन ।’ बागलुङको भू–भागमा पर्ने रिग ताल, पाती हाल्ने लगायत विभिन्न स्थानमा रुकुम पूर्वले दाबी गर्दै आएको छ । यसका लागि पटक–पटक विवाद समाधान गर्न खोजे पनि टुङ्गोमा पुग्न सकेको छैन ।

सिमा विवाद समाधानको लागि केही दिन अगाडि दुबै जिल्लाका सम्बधिन्त स्थानीय तहका प्रमुखहरु बसेर छलफल गरिएको र आगामी चैत महिना भित्रै विवाद समाधान गर्ने बताइएको छ । ‘भूमे गाउँपालिकामै गएर दुवै जिल्लाका समन्वय प्रमुख, गाउँपालिकाका अध्यक्ष, कर्मचारी लगायतको टोली बसेर विवाद समाधानका लागि एउटा संयुक्त कार्यदल बनाएका छौँ, गठन गरेको कार्यदलले चैतमा प्रतिवेदन बुझाउने छ,’उहाँले भन्नुभयो ‘त्यसपछि समाधान हुने अपेक्षा छ ।’

मध्यपहाडी लोकमार्गले नजोडिदाँ यस स्थानमा कुनै पनि विवाद आएको थिएन । त्यस स्थानमा रहेका सम्भावित पर्यटकीय क्षेत्रहरुको पहिचान पनि हुन सकेका थिएन । स्थानीय सरकारको गठन र लोकमार्गले दुवै जिल्ला जोडिए पछि दुई जिल्ला बीच सीमा विवाद हुन थालेको हो ।

दुवै जिल्लाको सिमानामा पर्ने पातीहाल्नेमा भवन निर्माण गरी व्यवसाय सञ्चालन हुँदै आएको छ । भवन निर्माण भएको स्थान बागलुङमा भएको निसीखोला गाउँपालिकाले दाबी गरेको छ । मध्यपहाडी लोकमार्गको केही उत्तर तर्फ रहेको रिग ताल बागलुङले दाबी गर्दै निसीखोला गाउँपालिकाले पूर्वाधार निर्माण कार्य समेत अघि बढाएको छ ।

ताल सम्म मोटरबाटोले जोड्नुका साथै गाउँपालिकाले तालको प्रचार प्रसार गरेको छ । प्रचार प्रसार गर्न थालेपछि आन्तरिक पर्यटकको बाक्लो उपस्थिति समेत हुने गरेको छ । ताल हेर्न हरेक दिन तीन दर्जन बढी आन्तरिक पर्यटक जाने गरेको स्थानीय बताउँछन् । ताल क्षेत्रबाट अनगिन्ति हिमश्रृंखला, बागलुङको अधिकांश भू–भाग, प्युठान, रोल्पा, रुकुम, गुल्मी, पर्वत लगायतका ठाउँहरु देख्न सकिन्छ ।

भूमे गाउँपालिका रुकुम पूर्वका अध्यक्ष रामसुर बुढा मगरले सिमानमा रहेको पर्यटकीय क्षेत्रमा दुबै पक्षको बराबर हक अधिकार हुने बताउनुभयो । वर्षौदेखि दुवै जिल्लाका नागरिकहरुले यस क्षेत्रलाई चरिचरनको रुपमा प्रयोग गर्दै आएकाले यहाँको विकास र अवसर दुवै पक्षले गर्नु पर्ने उहाँको भनाई छ । ‘यस ठाउँ परम्परादेखि बुढापाकाले चरिचरनका रुपमा प्रयोग गर्दै आएका छन्, यसलाई दुवै पालिकाले विकास गर्नुपर्छ,’ अध्यक्ष बुढा मगरले भन्नुभयो ‘खासमा यो ३ वर्ष अगाडी हामीले गेट निर्माण गर्दा विवाद सिर्जना भएको हो, यसलाई चैत महिनमै टुंग्याउने प्रयास भएको छ, यहाँको विकासका लागि हामी तत्पर छौँ ।’

अध्यक्ष बुढा मगरले रिग ताल दुवै जिल्लाको आधा–आधा हुनु पर्ने दाबी गर्नु हुन्छ । तर, निसीखोला गाउँपालिकाले आफ्नो क्षेत्र पर्ने अडान लिइराखेको छ । ताल सिमानामा रहेको भन्दै अध्यक्ष बुढा मगरले सम्बन्धित दुबै पालिकाले यसको प्रचार प्रसार र पूर्वाधार निर्माण गरी विकास गर्ने बताउनुभयो । ‘रिग ताल सिमानामा पर्छ, यसलाई आधा–आधा मान्नु पर्छ, दुई गाउँपालिका मिलेर पर्यटन प्रवद्धर्नका लागि पहल गर्नु पर्छ,’ उहाँले भन्नुभयो ‘यो ठाउँ साझा भन्ने ठान्नु पर्छ, साझा लगानी गर्ने र यसबाट आउने ‘आम्दानी र मुनाफा’ बराबर गराउनु पर्छ ।’

जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले दुवै जिल्लाको सहमतिमा आगामी चैतमै विवाद टुङ्गाउने बताउनुभयो । रुकुम पूर्वका सम्बधित निकायसँग अन्तरक्रिया गरेर विवाद समाधानका लागि संयुक्त कार्यदल बनाएको र कार्यदलले प्रतिवेदन प्रस्तुत तयार गरे लत्तगै विवाद समाधान हुने उहाँको भनाई छ ।

‘यस ठाउँमा केही वर्षदेख विवाद हुँदै आएको छ, मुख्य त स्थानीय सरकारले पूर्वाधार निर्माण गर्न थालेपछि यो ठाउँ बढी विवादित भएको हो, यसलाई प्राबिधिक रुपमै सुल्टाउन थालेका छौँ,’ प्रमुख ढुङ्गानाले भन्नुभयो ‘दुबै जिल्लाका सम्बन्धित जनप्रतिनिधि, कर्मचारीलाई राखेर निचोडमा पुग्ने प्रयास गरेका छौँ, चैत महिनामा यो विवाद अवश्य टुंगिनेछ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *