मृत्युको कारण बन्दै ‘विलासी जीवन’


आदर्श अनलाइन, बागलुङ

कुनै बेला अकालमै मृत्यु हुने रोगको अधिकांश कारण सरुवा रोग थियो । सरुवा रोग नियन्त्रणमा समेत नेपालमा धेरै बजेट खर्च हुन्थ्यो ।

गाउँ–गाउँमा झाडापखाला माहामारीको प्रकोप हुन्थ्यो । गाउँमै हजारौको एकै पटक मृत्यु भएको समाचार आउँथे । आउँ, हैजा, टाइफाइड, टिभी, कुष्ठ, कमलपित्त लगायतका सरुवा रोगबाट मर्ने मानिसको संख्या उल्लेख्य रहेको भए पनि अहिले सरुवा रोगबाट भन्दा नसर्ने रोगबाट धेरै नेपालीहरुको मृत्यु धेरै हुने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

सरुवा रोग वातावरणीय सरसफाईबाट सर्ने रोग भएकाले अहिले स्वास्थ्य चेतना वृद्धि हुनु र खोपको विकास हुनका कारण सर्ने रोगमा कमी आएको बागलुङका स्वास्थ्यकर्मी बताउँछन् । तर ‘विलासी जीवनयापन’का कारण अहिले अकालमा मृत्यु हुने नेपालीको संख्यामा उल्लेख्य वृद्धि भएको भन्दै स्वास्थ्यकर्मीले चिन्ता समेत व्यक्त गरेका छन् ।

विलासी जीवनयापन, व्यायामको अभाव, मदिरा तथा धुम्रपान सेवन र आधुनिक खानपानको कारणनै नसर्ने रोगमा बृद्धि भएको धौलागिरी अञ्चल आयुर्वेद अस्पताल बागलुङका प्रमुख डा.सरोज रायले बताउनुभयो । “विलासी जीवन यापनका कारण नसर्ने रोगले मानिसको मृत्युदर बढ्दै गएको सहजै अनुमान लगाउन सकिन्छ, पहिला झाडापखाला, हैजाबाट मृत्यु भएको खबर आउँथे, अहिले एक्कासी हृदयघाटबाट बढी मृत्यु भएको समाचार आउँछ” डा. रायले भन्नुभयो “विलासी जीवनयापनका कारण कोल्ड स्टोर, थाइराइड, मुटुको समस्या, उच्च रक्तचाप जस्ता रोगमा वृद्धि भएको छ, जुन अहिलेको अधिक मृत्युको कारण हो ।” रायका अनुसार दैनिक ४५ मिनेट नियमित योग तथा शारीरिक व्यायाम गर्दा नसर्ने रोगहरु हटेर जानेछन् । जंक फूड तथा पेय पदार्थ नखाने, घरमै उत्पादन भएको खानेकुरा खाँदा स्वास्थ्यका लागि फाइदाजनक हुने उहाँको सुझाव छ ।

पहिला ६० प्रतिशत बढी मानिसको अकालमा मृत्यु सरुवा रोगका कारण हुन्थ्यो तर अहिले ६० प्रतिशत भन्दा बढी मृत्युको कारण नसर्ने रोगबाट हुन थालेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो । यतिनै संख्यामा सर्ने र नसर्ने रोगबाट नेपालीको मृत्यु भएको भन्ने एकिन तथ्याङ्क नभए पनि अहिलेको स्वास्थ्य जटिलता र मृत्युको कारण नसर्ने रोग देखिएको स्वास्थ्यकर्मी बताउँछन् । जसको अप्रत्यक्ष कारण विलासी जीवनशैली हो । शहर बजारमा काम नगरी बस्ने, शारीरिक व्यायाम नगर्ने, सामान्य हिँडाई समेत नगरेर सवारी साधनको बढ्दो प्रयोग गर्ने, मध्यपान÷धुम्रपान तथा जंक फूडको प्रयोग गर्ने लगायतका कारण मुटु, फोक्सो, नशा तथा शरीरका अन्य अंगमा आक्रमण हुने भएका कारण मानिसको अकालमै मृत्यु हुने गरेको छ ।

मानिसहरु घरबाट नजिकैको अफिस आउँदा सवारी साधनको प्रयोग गर्ने, खानपानमा ध्यान नदिने, शरीरलाई हानी नोक्सानी गर्ने खानेकुरा खाने भएकाले यीनै कुरा अप्रत्यक्ष रुपमा मानिसको मृत्युको कारण बन्दै गरैको बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले जानकारी दिनुभयो । “दैनिकजसो घरबाहिरका खानेकुरा खाने, व्यायाम नगर्ने गर्दा मुटुरोग, नसा, थाइराइड, कोलस्टोर जस्ता समस्या देखिन थालेका हुन्” खनालले भन्नुभयो “१० वर्ष अघि सम्म झाडा पखाला जस्ता सरुवा रोगका कारण मानिसको मृत्यु हुन्थ्यो, अहिले उच्च रक्तचापका कारण मृत्यु भएको छ, यसैबाट हामीले फरक छुट्याउन सक्छौ, हाम्रो मृत्युको कारण के हो ?”

स्वस्थ रहनका लागि शारीरिक, भावनात्मक, मानसिक र सामाजिक स्वास्थ्य राम्रो हुनुपर्ने स्वास्थ्यकर्मीको भनाई छ । मानिसहरुले रासायनिक भन्दा आयुर्वेद्ध तथा प्राकृतिक चिकित्सा प्रद्धती मार्फत उपचार गराउने प्रवृत्तिको विकास गराउँदै लैजानु पर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

अहिले स्वास्थ्यको पुहँच बढाउँदै बागलुङका १० वटा स्थानीय तहका २ लाख ८४ हजार जनसंख्यालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यालयको लक्ष्य छ । जिल्लामा ९ सय ५० महिला सामुदायिक स्वास्थ्य स्वंयम्सेविका, १ सय ८६ वटा खोप केन्द्र, १ सय ४४ वटा बाह्य क्लिनिक, १४ वटा सामुदायिक स्वास्थ्य इकाई, ४ वटा शहरी स्वास्थ्य केन्द्र, ५८ वटा स्वास्थ्य केन्द्र, तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र, ४७ बर्थिङ सेन्टर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *